कम्युनिस्ट सरकारविरुद्ध सडकमा उत्रिन जिल्लाका युवा तरुणहरुको दवाव

बर्दघाट । नेपाल तरुण दलका जिल्लाका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले कम्युनिस्ट सरकारको अधिनायकवाद र राष्ट्रियताको विषयमा आवाज उठाएका छन् ।

मंगलबार नवलपुर र नवलपरासीमा आयोजित कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमहरुमा जिल्लाका युवा तरुणहरुले कम्युनिस्ट सरकारको अधिनायकवादले आफूहरुलाई दवावमा पार्न थालेको बताएका हुन् । सत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट आक्रमण गर्नुका साथै हत्यामा समेत उत्रिएको भन्दै तरुण युवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

तरुण युवाहरुले सरकारविरुद्धको गतिविधिलाई तीब्र र शसक्त बनाउनुपर्ने बताए । उनीहरुले कांग्रेसले सरकारको विरोध गर्न नसकेको भन्दै चिन्ता जनाए ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले देश टुक्र्याउँछु भनेर हिँडेको सीके राउतलाई बैधानिकता दिएको भन्दै नवलपुर र नवलपरासीका युवा तरुणहरुले चिन्ता जनाए । राष्ट्रियताका विषयमा कम्युनिस्टहरु खराब रहेको भन्दै राष्ट्रियताका विषयमा सडकबाट आवाज उठाउने बेला आएको बताए ।

नेपाली कांग्रेसले सीके राउतलाई बैधानिकता दिएको र अधिनायकवाका विरुद्धमा आन्दोलन गर्न ढिला गरेको भन्दै आक्रोश व्यक्त गरे । नवलपुर र नवलपरासीका युवा तरुणहरुले सीके राउतलाई देशद्रोही भन्दै जेल हाल्न माग गरे । उनीहरुले सीके राउतका गतिविधिले आफूहरुलाई चिन्तित बनाएको भन्दै ओली सरकार बिखण्डनकारीको मतियार बनेको बताए ।

नेपाल तरुण दलले सरकारका गलत क्रियाकलापविरुद्ध गरेको प्रदर्शन र कार्यक्रमहरुबाट आफूहरु उत्साहित भएको भन्दै आगामी दिनमा सडक ताउने कार्यक्रम ल्याउन सुझाव दिए ।

तरुण दल नवलपुरका जिल्ला सभापति सूर्य गुरुङ र नवलपरासीका सभापति शुकबहादुर गरुङले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग गरे । उनीहरुले केन्द्रीय कार्यसमितिले पूर्णता नपाउँदा आफूहरुलाई समस्या भएको बताए ।

युवा तरुणहरुले पनि कम्युनिस्ट सरकारले नेपाली कांग्रेसमाथि जिल्लामा दवाव बनाउन थालेको गुनासो गरे । उनीहरुले रुपन्देहीमा तरुण कार्यकर्ता अनिश पुरीको हत्या भएको भन्दै चिन्ता जनाए । उनीहरुले हत्यामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही र शान्ति सुरक्षाको माग गरे ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जिल्लाका नेता तथा कार्यकर्ताहरुको जिज्ञासाको जवाफ दिँदै भने, ‘नेपाल तरुण दलले सशक्त रुपमा सरकारविरुद्ध आफूलाई केन्द्रित गरेको छ । तपाईहरुसँग यसरी भेट्नुपनि आन्दोलनको स्वरुप हो ।’ उनले जिल्लाका युवा तरुणहरुको सुझाव सुनेर कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनको योजना बनाउने बताए ।

नेपाली कांग्रेसले पनि आन्दोलनको सुरुवात गरिसकेको भन्दै पार्टीको निर्देशनलाई युवा तरुण दलले कार्यान्वयन गर्ने बेला आउन थालेको बताए । उनले भने, ‘कांग्रेस र तरुण दलले एकचौटी आन्दोलन गर्नेभन्दा पनि कम्युनिस्ट सरकारलाई सुध्रिने मौका दिन चाहन्छ । सुध्रिएन भने कांग्रेस चुप लागेर बस्ने कुरै रहँदैन ।’

पार्टीभित्रको आन्तरिक विवाद र तरुण दलको केन्द्रीय कार्यसमितिले पूर्णता पाउन नसकेको विषयमा युवा तरुणहरुले चिन्ता जनाएका थिए । उनीहरुले पार्टीभित्रको विवादले जिल्ला र गाउँका कार्यकर्ताहरुलाई चिन्ताको विषय बनाएको बताए । युवा तरुणहरुले कांग्रेसले सडक आन्दोलन गर्नुपर्ने बताए ।

यसअघि, चितवनको रत्ननगर नगरपालिकाको सौराहामा आयोजित कार्यकर्ता प्रशिक्षण तथा चियापान कार्यक्रममा पनि युवा तरुणहरुले सरकारविरुद्ध आन्दोलन गर्न ढिला भैसकेको बताएका थिए । उनीहरुले पनि सीके राउत र कम्युनिस्ट सरकारबीच देखिएको गठबन्धनले आफूहरुलाई चिन्ता बढाएको बताए ।

Published : Tuesday, 2019 March 12, 8:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया