कांग्रेसका नेताहरुको मूल्यांकन अब कार्यकर्ताले गर्नुपर्छः रामचन्द्र पौडेल

सन्धिखर्क । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताहरुको मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा बुधबार बिहान नेपाल महिला संघ जिल्ला कार्यसमितिले आयोजना गरेको प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेताले कार्यकर्ताको मूल्यांकन गर्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताए ।

‘तपाई कार्यकर्ताहरुले नेताको मूल्यांकन गर्नुपर्छ । हामी नेताले तपाईहरुको मूल्यांकन गर्दा पार्टी बिग्रियो । नेताहरु बिग्रिए’, उनले भने, ‘कुन नेता कस्तो छ ? कांग्रेस र जनताका लागि के गरेको छ ? भनेर तपाईहरुले मूल्यांकन गर्नुपर्छ ।’

पार्टीभित्र केही विषयमा आन्तरिक समस्या रहेको बताएका पौडेलले भने, ‘महासमिति बैठकको निर्देशनका बारेमा केन्द्रीय कार्यसमितिमा केही समस्या देखिएको छ । त्यसलाई मिलाउनुपर्छ ।’

उनले कांग्रेसलाई गाउँगाउँमा क्रियाशील बनाउनुपर्ने बताए । ‘कांग्रेसका लागि नेपाल महिला संघको विशेष भूमिका रहेको छ’, उनले निर्देशन दिँदै भने, ‘एउटा घरमा एकजना महिला कार्यकर्ता बनाउनु पर्छ । जुन पार्टीको भएपनि आग्रह गरेर कांग्रेसमा ल्याउनुपर्छ ।’

वर्तमान सरकार निरंकुश बन्दै गएको भन्दै वरिष्ठ नेता पौडेलले विश्वमा कम्युनिस्टहरु कहिँ पनि लोकतान्त्रिक हुन नसक्ने बताए । उनले जनतालाई झुक्काएर बहुमत ल्याएको भन्दै झुठको खेती गरेको बताए ।

Published : Wednesday, 2019 March 13, 11:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया