कांग्रेस नेता गच्छदारले ओलीको ‘सफेद झुठ’को भण्डाफोर गरिदिए

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार सदैव सदनप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सार्वभौम संसद्लाई अपमान गर्न नपाइने र सत्तापक्ष सधैँ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले सरकारका काम कारवाहीका सम्बन्धमा सदनमा धेरै कुरा उठे पनि सबै जवाफ नदिएको गुनासो गरे । ‘एउटा बालिकाको बलात्कार हुन्छ । हत्यारा पत्ता लाग्दैन’, उनले भने, ‘शान्ति सुरक्षाको अवस्था कस्तो छ, आफैँ छर्लङ हुन्छ ।’

सरकार गठन भएको एक वर्ष बढी भइसके पनि शान्ति सुरक्षामा सुधार आउन नसकेको आरोप लगाउँदै गच्छदारले पटकपटक माग गर्दा पनि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको आयोगको प्रतिवेदन किन सार्वजनिक भएन भनी प्रश्न गरेका छन् ।

‘सरकारले त्यो प्रतिवेदन सार्वजनिक गरोस् । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ’, नेता गच्छदारले भने, ‘सार्वभौम संसद्लाई अपमान गर्न पाइदैन । सत्तापक्ष जिम्मेवार हुनुप-यो ।’

सीके राउतका सम्बन्धमा नेता गच्छदारले देशलाई विखण्डन गर्नेलाई संघीयता ल्याए पनि विखण्डनको विजारोपण अब हुँदैन भन्ने ग्यारेन्टी गर्नुपर्छ भनेका थिए ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरी तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई बृहत् शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको प्रसङ्ग उल्लेख गर्दै उनले विप्लव समूहको समस्या पनि वार्ताबाटै समाधान गर्नुपर्ने बताए ।

नेता गच्छदारले संसदमा रहेका राष्ट्रिय सुरक्षा परिषद्को अधिकारसम्बन्धी विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासम्बन्धी विधेयक र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताका हितमा नभएको भन्दै तीनै विधेयक तत्काल संसदबाट फिर्ता हुनुपर्ने माग गरे ।

उनले कम्युनिस्ट सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबीमा प्रश्न उठाए ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारका कामको लामै फेहरिस्ता प्रस्तुत गरेका थिए । झण्डै ८०० किलोमिटर सडक पिच भएको, धान उत्पादनमा ९ प्रतिशत बृद्धि भएकोदेखि सीके राउतसँग भएको सहमतिलाई प्राधनमन्त्री ओलीले सरकारको सफलताको रुपमा प्रस्तुत गरेका थिए ।

लगतै संसदलाई सम्बोधन गरेका कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री ओलीलाई काउन्टर गरे । हाजिरी जवाफ खेल्न आएको त होइन भन्दै सम्बोधन सुरु गरेका उनले प्रधानमन्त्रीको एकएक दाबीलाई खण्डन गर्न भ्याए ।

सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबी रहेको भन्दै उनले सरकारको काम घामझैैं छर्लङ्ग रहेको बताए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिना नाघिसक्दा पनि अपराधीहरु पक्राउ नपरेको भन्दै कांग्रेस संसदीय दला उपनेता गच्छदारले भने, ‘शान्ति सुरक्षाको अवस्था कस्तो छ, यसबाट छर्लङ्ग हुन्छ ।’

प्रधानमन्त्री ओली ले सरकार गठन भएको १३ महिनामा भएका हत्या, हिंसा तथा बलात्कारका घटना र त्यसमा संलग्नहरुलाई भएको कारबाहीको हिसावकिताव संसदमा प्रस्तुत गर्न नसकेको भन्दै उनले शान्ति सुरक्षा दिनानुदिन विग्रिएको दाबी गरे ।

उनले भ्रष्टाचार नियन्त्रण भएको प्रधानमन्त्रीको दाबीको पनि खण्डन गरे । उनले भने, भ्रष्टाचार नियन्त्रण भएको थियो भने बाइडवडी कहाँ गयो ? आकासमा गयो ?’ ३३ किलो सुनकाण्डमा पनि ठूलो माछा पक्राउ गर्दैछौं भनेको सरकारले अहिलेस्म्म पक्राउ गर्न नसकेको उनले बताए । गच्छदारले भने, ‘प्रधानमन्त्रीजीले बताइदिनु भए हुन्थ्यो ठूला माछाहरु सात समुन्द्र पारी गए कि कता गए ?’

प्रधानमन्त्रीले विखण्डनकारी शक्तिलाई मुलधारमा ल्याउने ठूलो राजनीतिक सफलता भएको बताएका थिए । साथै अब विखण्डनकारी आन्दोलन समाप्त भएको उनको दाबी थियो ।

कांग्रेस संसदीय दलका उपनेता गच्छदारले सिके राउत मूलधारको राजनीतिमा आउनु राम्रै भएको बताए । तर, यसले सार्थकता पाउँछ कि पाउँदैन समयले बताउने धारणा राखे ।

उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘अर्को सिके राउत जन्मिँदैन, कुनै विखण्डनकारीले टाउको उठाउँदैन भन्ने तपाईले ग्यारेन्टी गर्न सक्नुहुन्छ ?’

गच्छदारले विप्लव समूहले नियन्त्रण गर्ने सरकारको नीति गलत भएको बताए । हिजो माओवादीलाई शान्ति सम्झौता गर्दै मुलधारको राजनीतिमा ल्याएको स्मरण गराउँदै उनले विप्लव समूहलाई पनि सरकारले वार्ता र सम्वादमा ल्याउनुपर्ने बताएका छन् ।

गच्छदारले मधेस केन्द्रित दलहरुसँग सरकारले प्रतिवद्धता जनाएअनुसार संविधान संशोधन विधेयक किन नआएको भनी प्रश्न समेत गरे ।

Published : Sunday, 2019 March 24, 6:45 pm

2 प्रतिकृया प्राप्त “कांग्रेस नेता गच्छदारले ओलीको ‘सफेद झुठ’को भण्डाफोर गरिदिए”

  • अहिलेकाे सरकार, भुक्ने कुकुरकाे भुकाई जस्तै रहेछ, कामकाे हल्ला फैलाउने, गर्ने केही पनि हाेइन। अहिलेकाे सरकार जातिवाद तिर अग्रसर देखिन्छ।

  • अहिलेकाे सरकार, भुक्ने कुकुरकाे भुकाई जस्तै रहेछ, कामकाे हल्ला फैलाउने, गर्ने केही पनि हाेइन। अहिलेकाे सरकार जातिवाद तिर अग्रसर देखिन्छ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया