ओलीले निरंकुश कार्यशैली परिवर्तन गर्नुपर्छ, होइन भने पछुताउनुपर्छः सिंह

झापा । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिस्ट सरकार नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरू समाप्त गर्नेतर्फ सक्रिय रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन झापा शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले प्रधानमन्त्री कार्यलयलाई शक्तिशाली बनाउन भैरहेका खड्गप्रसाद ओलीको कार्यशैली अधिनायकवादतर्फ उन्मुख रहेको बताए । उनले भने, ‘अहिले यो या त्यो बहानाको प्रयासबाट सरकारको उदेश्य प्रस्ट हुँदै आएको छ ।’

नेता सिंहले प्रधानमन्त्री ओलीलाई निरंकुश कार्यशैलीमा सुधार ल्याउन सुझाव दिए ।

कम्युनिस्ट सरकारले सदनमा प्रस्तुत गरेका ऐन कानून निर्माणका लागि प्रस्तुत बिधेयकहरूमा राखिएका प्रावधानहरू हेर्दा ओलीको उदेश्य छर्लङ्ग हुँदै आएको उनले बताए ।

नेपाली सेना परिचालनको सम्बन्धमा गलत विधेयक तयार पारेको भन्दै सिंहले कम्युनिस्ट सरकारले ठूलो गल्ती गरिरहेको बताए ।

‘सामाजिक सञ्जाल नियन्त्रण होस् या विप्लवमाथिको प्रतिबन्ध यी त उदारण मात्र हुन्’, उनले भने, ‘दुई तिहाईको सरकारको पहिलो कु–दृष्टि प्रेसमा परिरहेको छ’, नेता सिंहले भने, ‘कम्युनिस्टहरू कहिल्यै पनि प्रेसजगतप्रति उदार हुँदैनन् । निरंकुश हुन्छन् ।’

मुलुकभित्रका असन्तुष्टिका राजनीतिक आवाजहरूको समाधान दमनबाट नहुने उनको भनाइ छ । नेता सिंहले वार्ता र सम्वादका लागि सरकारलाई सल्लाह दिए ।

कांग्रेसले शुरु गरेको शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने सिंहले बताए । ‘वार्ता र सम्वादबाट निकास खोज्नुको साटो ओलीजीले धम्कीको भाषा बोल्नु भएको छ’, उनले भने, ‘सहमति र सहकार्यको बाटो त्याग्ने हो भने मुलुकफेरि पनि द्वन्द्वमा जान्छ ।’

Published : Monday, 2019 March 25, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया