इतिहाँसकै खराबको सूचीमा ओली सरकारः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय र जनोसरकारका विषयमा कम्युनिस्ट सरकार संसदप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको संसदीय दलको संयुक्त बैठकले संसदको हिउँदे अधिवेशनको समीक्षा गर्दै शान्तिसुरक्षा, सुशासन, बलात्कार, हत्या–हिंसा, मूल्यबृद्धि लगायतका जनप्रतिनिधिहरूले उठाएका मुद्दामा सरकार गैरजिम्मेवार बनेको कांग्रेसको आरोप हो ।

‘आफैंले ल्याएको बजेट, नीति तथा कार्यक्रम र योजना कार्यन्वयनमा समेत सरकारले वेवास्ता गरेको देखियो’, बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘पूर्ववर्ती सरकारले अघि बढाएका ठूला योजनाहरुलाई आफैंले अघि बढाएको जस्तो गरी डिंगा पिट्ने कामबाहेक यो सरकारबाट केही भएको देखिएन ।’

सरकार गठन भएदेखिनै प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूमा शक्ति केन्द्रित गर्ने, स्थानीय र प्रदेश सरकारलाई क्रमशः कमजोर बनाउँदै लैजाने काम थालेको कांग्रेसले जनाएको छ ।

पछिल्लोपटक प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्नेगरी ल्याइएको विधेयकलाई गम्भीर रुपमा लिएको छ ।

संसदमा विचराधीन रहेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान राखिएको छ । संविधानमा भने सेना परिचालनको घोषणा सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषदको निर्णय बमोजिम हुने व्यवस्था छ ।

राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले आफूमा शक्ति केन्द्रित गर्ने मनसुवाबाट ल्याइएको उक्त विधेयकलाई लिएर बैठकमा गम्भीर छलफल भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारको कार्यविभाजन नियमावली संशोधन गरी संवैधानिकसरहकै हैसियतका विभागदेखि पूर्वाधार विकासका ठूला आयोजनासमेत यसअघिनै आफूमातहत ल्याइसकेका छन् ।

ओलीले गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालयमातहतको राजस्व अनुसन्धान विभाग र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए ।

कानून मन्त्रालयअन्तर्गतको महान्यायाधिवत्ताको कार्यालय र ७७ वटा जिल्ला न्यायाधिवक्ता कार्यालयलाई समेत सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत आएका छन ।
सेना परिचान सम्बन्धी पछिल्लो घटना सम्म आइपुग्दा कांग्रेसले प्रधानमन्त्री ओलीको अधिनायकवादतर्फ अघि बढ्ने पछिल्लो श्रृंखला भनी टिप्पणी गरेको छ ।

‘विकेन्द्रित गर्नुपर्ने अधिकारजति सबै आफूमा केन्द्रिकृत गरी संघीयतालाई कमजोर बनाउने ध्येय प्रधानमन्त्री ओलीमा देखियो’, प्रमुख सचेतक खाँणले भने, ‘न्यायपालिका र व्यवस्थापिकालाई समेत कार्यकारणीको छाँयामा राखेर अधिनायकवाद शासन सञ्चालन चलाउने कोशिस भयो ।’

प्रदेश र स्थानीय तहलाई क्रियाशील र अधिकार सम्पन्न बनाउन सरकारले नचाहेको खाँणले बताए ।

‘एकातिर सुरक्षा परिषद्लाई वेवास्ता गर्दै सेना परिचालनको अधिकार समेत आफै लिन खोज्ने, अर्कोतर्फ प्रदेश र स्थानीय तहलाई अधिकार नदिने, प्रधानमन्त्री ओलीको यो शैली अधिनायकवाद तर्फ अघि बढ्ने नै हो भन्ने हाम्रो ठहर छ’, खाँणले भने, ‘यो मुद्दालाई हामी आम जनतासम्म पुर्‍याउने अभियान थाल्छौं ।’

२५ अर्ब रुपैयाँभन्दा बढी लागतमा कार्यान्वयन हुने पूर्वाधार संरचना वा आयोजनासमेत प्रधानमन्त्रीमातहत रहने गरी ल्याइएको विधेयकप्रति पनि कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ ।

विधेयकको यस्तो व्यवस्था अलोकतान्त्रिक, अपारदर्शी र अनुत्तरदायी रहेको कांग्रेसको ठम्याई छ । ‘प्रधानमन्त्रीले आफ्नो निहित स्वार्थ परिपूर्ति हुने वा त्यसका लागि सहज परिस्थिति निर्माण गर्ने गरी विधेयक अबाएको छ’, यसप्रति पनि हाम्रो गम्भीर आपत्ति छ’, खाँणले भनेका छन् ।

Published : Monday, 2019 March 25, 10:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया