वीपी र रामहरिको नजरमा गणेशमान सिंह
कात्तिक २४ नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०५औँ जन्मदिन । बिक्रम संवत १९९७ मा प्रजा परिषदको स्थापनादेखि २०४६ सालको संयुक्त जनआन्दोलनाई सफलतापूर्वक सर्वमान्य नेतृत्व दिनसम्म जीवनका ५० वर्ष गणेशमान सिंहले प्रजातन्त्रकै संघर्षमा बिताएका थिए ।
गणेशमान सिंहबारे वीपी कोइरालाको आत्मवृत्तान्तमा उल्लेख गरिएको छ, ‘गणेशमानजी भयानक अनुशासित मानिस । उहाँले जुन नियम बनाउनु भयो, त्यसमा एक मिनेटको हेरफेर हुँदैनथ्यो– एक मिनेटको पनि । आठ वर्षमा, एकपल्ट हो वा दुईचोटी सर्दी लागेर पाँच बजे उहाँले नउठेको, नियमित चिया लिएर आउनु भयो । चिया उहाँले नै बनाउनु हुन्थ्यो र सबैको कोठामा चिया दिनुहुन्थ्यो बनाएर ।’
‘एक दिन हो कि दुई दिनमात्र उहाँको नियम भङ्ग भयो । अनि चिया खाइसकेर उहाँ जुन टाइममा टहल्नुपर्ने, जुन टाइममा अखबार पढनु प¥यो, जुन टाइममा किताब पढ्नु पर्यो, जुन टाइममा जे गर्नुछ, सेकेन्डको हिसाबले गर्नुहुन्थ्यो’, वीपी कोइरालाको आत्मवृत्तान्तमा मा भनिएको छ, ‘नौ बजे सुत्ने वा दशबजे सुत्ने नियम छ भने हाई–हाई आइराख्दा पनि नसुतेर, जाडोमा बस्नुहुँन्थ्यो ।’
‘अब म बिछ्यौनामा सुत्दिन भन्नुभयो । घरबाट बिछ्यौना आयो । अहँ, प्रयोग गर्नुभएन । त्यो बाक्लो सुकुल हुन्छ नि, त्यसमा केही राडीजस्तो बाक्लो कुरा ओछ्याइदिएको थियो’, आत्मवृत्तान्तमा भनिएको छ, ‘अनि जाडो थुरथुर हुँदा पनि यहीँको स्थानीय पाखीजस्तो काम्लो ओड्नुहुन्थ्यो । पुगेन भने ओभरकोट लगाएर, मोजा बाक्लो लगाएर, टोपी लगाएर सुत्नुहुन्थ्यो । तर सिरक ओढ्नुभएन, बिस्तरमा सुत्नुभएन ।’
‘त्यो दृढता देखेर म दङ्ग परेँ । खाना खाएपछि सुत्दिन भन्नुहुन्थ्यो । अरु सबै एक छिन आराम गर्थ्याैँ नि, अहँ, आफूपनि नसुत्ने र अरूलाई पनि सुत्न दिनु हुन्थेन । उहाँ पढ्नुहुन्थ्यो साइन्सका कुराहरू– योगेन्द्रमान शेरचनसँग । योगेन्द्रमान शेरचनलाई पनि त आराम गर्ने मन हुँदो हो’, आत्मवृत्तान्तमा भनिएको छ, ‘अहँ, खानासाथ योगेन्द्रमान ! भातमा अलिकति ढुङ्गा अथवा केही पर्यो भने उहाँ खान सक्नु हुँदैनथ्यो । त्यसो हुनाले उनीहरूले ठीकसँग हेरेनन् भनेर उहाँ आफैले चामल केलाउनु हुन्थ्यो ।’
‘उहाँ अद्भुत मानिस हुनुहुन्थ्यो, मैले त्यस्तो मानिस देखेको छैन, त्यस दृढ निश्चयको मानिस’, वीपी कोइरालाको आत्मवृत्तान्तको २०६७ को संस्करण, पृष्ठ २९८–९९ मा उल्लेख छ ।
नेपाली कांग्रेस संस्थापक नेता रामहरि जोशीले लेखेका छन्, ‘गणेशमानजी अपादमस्तक एउटा राजनीतिक व्यक्ति हुनुहुन्थ्यो । भनिन्छ, राजनीति र साहित्यको मेल हुँदैन तर मलाई लाग्थ्यो उहाँको शुष्क राजनीतिक जीवनको मरुभूमिमा यत्रतत्र साहित्य र संगीतको शीतल जलले सिंचित हरियो ओएसिस पनि थियो । पद्मशम्शेरको तथाकथित राजनीतिक सुधारबारे युगवाणीमा प्रकाशित उखान–टुक्का र श्लेषले भरिपूर्ण ‘नबज्ने ढ्याङ्ग्रोको सय फट्कार’ र ‘मोहन प्रभुको स्वर्गारोहण’ जस्ता व्यंग्यात्मक लेखहरू कुनै सिद्धहस्त सफल साहित्यकारले मात्र लेख्न सक्थे ।’
(तस्वीर साैजन्य जयप्रकाशप्रसाद गुप्ता)
फेसबुकबाट तपाईको प्रतिक्रिया