कम्युनिस्टविरुद्ध गोल हान्न तम्सिएका कांग्रेसका यी मिडफिल्डर
देवेन्द्र बस्नेत
पटक पटकका चुनावी मैदान । विपक्षीको पोष्टमा ‘गोल’ हिर्काउने एकमात्रै लक्ष बोकेर मैदान उत्रन्थे – माहिर ‘मिडफिल्डर’ केशवराज शर्मा आचार्य । ‘रुख’ अंकित जर्सीधारी केशवले कुनै पनि चुनावी गोलको संख्या आफ्नो खातामा जम्मा गर्न चाहेनन् । गोल आफ्ना लागि हैन, आफ्नो सिंगो टिम (कांग्रेस)का लागि हानिनुपर्छ भन्ने मान्यतामा अडिग रहे उनी ।
केवल ‘टिम’को जितका लागि एक कुशल ‘सिपाही’ बनेर खेलमैदानमा उत्रने केशवकै कुशल ‘पास’मा उनका अग्रज खुमबहादुर खड्का लगायत गेहेन्द्र गिरी, दीपक गिरीले विपक्षीको पोष्टमा पटक–पटक गोल हिर्काए । सधैँ ‘बल पास’का लागि मिडफिल्डमा उत्रने केशवले कहिले गोल हान्ने ? केस सेतै फूल्यो । अनुहार मुजा पर्नै आँट्यो ।
तथापि ४७ वर्ष लामो राजनीतिक खेल जीवनमा गोल प्रहारको ‘ख्वाब’ कहिल्यै देखेनन् केशवले । उनले पहिला टिमलाई जिताए अनि बल्ल आफूले जिते । ४७ वर्षपछि बल्ल उनी अहिले आफ्ना लागि दाङ क्षेत्र नम्बर ३ ‘ख’को चुनावी मैदानमा गोल हान्ने अवसरमा छन् । उनकै अथक योगदानमा गोल हानेका खुमबहादुरको देहान्त भैसकेको छ ।
अहिले उनलाई गोल हान्नका लागि उनका अग्रज, समकालीन तथा पछिल्लो पुस्ताका खेलाडीहरू सहज ‘बल पास’ दिन चुनावी मैदानमा खटिएका छन् । सिंगो टिमको यहि अथक मेहनत र सकृयताकै उपज १४ मंसिरमा उनी विपक्षीको पोष्टमा गोल हान्न निकै उत्साहित छन् । ‘मैले २०२९ देखिको मेरो राजनीतिक यात्राका क्रममा कहिल्यै आफ्नो लागि हिँडेन, सधैँ अरुको प्रचारमा प्रमुख भूमिकामा रहेर खटिएँ’, प्रदेश सभाका उम्मेदवार केशव भन्छन्, ‘अहिले बल्ल म आफ्नो प्रचारमा खटिएको छु ।’
०२९ सालको कुरा हो । ९ कक्षामा पढ्थे केशव । त्यो बाल्यकालमै कांग्रेसी भाव ‘उत्पात’ जागिसकेको थियो । उनले भने, ‘मैले आफूलाई मात्रै कांग्रेसी जस्तो मान्थे ।’ त्यहि सालको एकदिन केशवका गुरु भीष्म केसीले कक्षामा पढाउने बेलैमा भने, ‘भोलि जसले सफ कापी ल्याउँदैन, उसले कारवाही भोग्छ ।’ अर्को दिन केशव कक्षा प्रवेश गरे, सर भीष्मले सफ कापी खोजे । केशवसंग थिएन । भीष्मले सजाय दिए, – उनको क्लासभर उभिनु पर्ने । त्यो बेलै हक्की स्वभावका केशवले सरले दिएको सजाय भोग्न मानेनन् । उनी कक्षाबाटै निस्किए ।
‘तपाईले पढाइरहनुस् म निस्किएँ भनेर कक्षा कोठाबाट निस्किएँ’, केशवले भने, ‘म त्यो बेलाको टाँठोबाठो विद्यार्थी, मलाई सजाय भोग्न साह्रै लाज लाग्यो, अनि कक्षाबाट निस्कनै बेस ठानेँ ।’
केशवको त्यहि बाल हक्की निर्णयले कांग्रेसको राजनीतिमा स्थापित गराइदियो उनलाई । त्यहि दिन साँझ कांग्रेस नेता खुमबहादुर खड्का पश्चिम दाङको बागर पुगेका थिए । खड्काले भीष्मसंग विद्यालयको टाँठो, हक्की विद्यार्थीका बारेमा सोधे । भीष्मको नजरमा आफूले सजाय दिने बेलामा नटेरेर कक्षा छोडेका उनै केशव हक्की देखिए । भीष्मले खुमबहादुरलाई नाम दिए – केशव आचार्य । त्यहिबेलादेखि उनी कांग्रेसको सकृय राजनीतिमा जोडिए । ‘म मेरा गुरु भीष्म सरप्रति नमन गर्छु, उहाँको नजरमा म हक्की, निडर देखिनुनै मेरो राजनीतिक उपलब्धीको एउटा ठूलो हिस्सा हो’, केशवले भनेका छन् ।
आफ्नो राजनीतिक यात्राकाकै क्रममा देशमा चलेका विभिन्न आन्दोलनको अग्रपंक्तिमा उनै हक्की केशव देखिन्थे । पटक–पटक गरी झण्डै दुई वर्षसम्म कांग्रेसी भएकै कारण जेल सजाय भोग्नु पर्यो उनले । तथापि कांग्रेसका सिपाही बनेर आन्दोलनको मोर्चामा उभिन कहिल्यै छोडेनन् ।
‘म आन्दोलन भन्नेवित्तिकै अग्रमोर्चामा उभिन मन लाग्थ्यो’, उनले भने, ‘विभिन्न समयमा भएका आन्दोलनमा सहभागी भएकै कारण म पटक पटक गरी दुई वर्षको समय जेलमै बसेँ ।’
चुनाव आयो कि कुनै पर्व आएजस्तै हुन्थ्यो । चुनावी मोर्चामा अहोरात्र खटिन पाउनुलाई उनले कहिल्यै दुख सम्झेनन् । कांग्रेसका लागि चुनावी मोर्चामा सहभागी हुन पाउनुलाई ठूलो अवसरका रुपमा लिन्थे उनी । ०४८ मा त उनी कांग्रेस नेता खुमबहादुर खड्काको चुनावी मोर्चाका कमाण्डर बनेर खड्कालाई जिताउन ठूलो योगदान गरे ।
‘खुमबहादुर दाईको चुनावी प्रचार प्रसार संयोजकको रुपमा आफूले काम गर्न पाउँदा निकै भाग्यमानी ठानेँ’, उनले भने, ‘त्यो बेला दाईले जित्नु भयो, आफैले चुनाव जितेको महशुस भएको थियो ।’ पार्टीका लागि अहोरात्र खटिएर त्यागी राजनीतिकर्मीको परिचय बनाएका केशवले आफ्नो घरलाई नेताहरूको सेल्टर समेत बनाएका थिए ।
०४० सालमा गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सल्यान जाने क्रममा उनै केशवको घर (सेल्टर)मा बसेका थिए । त्यहि बेला कोइरालाद्वय पक्राउ परेका थिए । माओवादी द्वन्द्वकालमा कांग्रेसी भएकै कारण अपहरणमा परे । अपहरणमा परेका उनलाई माओवादीले सशुकल रिहाई गरेका थिए ।
केशवले वीपी कोइरालाको साथमा ०३५ सालमा भारतको बनारसमा विशेष प्रशिक्षण लिई ०३७ सालसम्म उनै वीपीसंग बनारसमा कांग्रेसको सकृय राजनीति गरेका थिए । ०३६ देखि ०७० सम्म निरन्तर कांग्रेसको जिल्ला सदस्य, उपसभापति र संगठन विभागको प्रमुख भएर काम गरिसकेका केशव निरन्तर पार्टीका नेता तथा कार्यकर्ताहरूमाझ घुलमिल भैरहने नेताको छबि कायम गरे ।
०५५ सालमा जिल्ला विकास समितिको ईलाका नम्बर ९ बाट नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति सदस्य बनेर काम गरेका उनी आम मतदाताको दैलो दैलोमा पुगेर विकासे योजनाहरूको तानाबाना बुनेका थिए ।
तत्कालीन हेकुली गाविस वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भई जनप्रतिनिधिको काम गरेका केशवले त्यो बेला गरेको वडाको विकास मतदाताहरूको मानसपटलमा चीरस्थायी छ ।
लामो राजनीतिक अनुभव । अनुभवले खारिएको विकासे रणनीति । अनि मतदाताहरूमाझ चीरस्थायी बनेको लोकप्रियताले केशवलाई चुनावी मैदानमा खारिएको एकमात्रै शक्तिका रुपमा उतारेको छ । उनको यहि प्रभाव र छविलाई आम मतदाताहरूले रुचाइदिएका छन् । अहिले दैलो दैलोमा पुगेर मतदातासंगको सामिप्यताको डोरी कसक्क पार्दै हिँडेका केशवको बुढ्यौली अनुहारमा थकानको संकेत सम्म देखिन्न ।
बरु बुढ्यौली अनुहार उत्साह र मुस्कानले चकमन्न देखिन्छ । कारण उनी चुनावी जित या हारको अंकगणितको जोडघाटाउको चिन्तनमा भन्दा मतदाताहरूको दैलोमा पुगेर सुखदुख बुझ्ने अवसर पाइरहेका छन् ।
‘म मेरो क्षेत्रमा घरमा नबसेको, पानी नखाएको कुनै पनि घर थिएन, अहिले चुनावी प्रचारका क्रममा फेरी उनै साथीभाई, छरछिमेकको घरमा पस्न पाएको छु, सञ्चो बिसञ्चो सोध्न पाएको छु’, केशवले भने, ‘मेरो राजनीतिक जीवनमा योभन्दा ठूलो खुशी अरु के पो हुन सक्छर ?’
तथापि चुनावी अंकगणितको जोड आफ्नो पक्षमा बढ्नेमा विश्वस्त पनि छन् उनी । पार्टी र आम सर्वसाधारणको हितका लागि उनले गरेको विशिष्ट योगदानको प्रतिफल— जित निर्विकल्प बन्नेमा उनी अनि उनका चुनावी खेलमैदानमा उत्रिएका सहकर्मीहरूको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया