मास्टर्स गर्न वा स्वास्थ्य क्षेत्रको रोजगारीका लागि बेलायत राम्रो छः दिनेश खड्का
दिनेश खड्का, काउन्सिल, केन्टको मेडस्टोन बरो, बेलायत
दाङ जिल्लाको देउखुरी लमही नगरपालिकाको सतबरिया निवासी दिनेश खड्का बेलायतमा बस्छन् । उनी नेपालीहरू बिरलै पुग्ने उच्च तहको जनप्रतिनिधिको ओहदामा पुगेका छन् । नेपालमा वडाध्यक्ष बराबरको हैसियतमा निर्वाचित टाउनकाे काउन्सलर खड्काले बेलायत जाँदा बुझेर जानुपर्ने बताउँछन् । बेलायतको स्थानीय निर्वाचनमा दिनेश खड्काले डेमोक्र्याटसको तर्फबाट जितेका हुन् । केन्टको मेडस्टोन बरो काउन्सिलमा लिबरल डेमोक्रयाटस उम्मेदवार दिनेश खडका ८ सय ५२ मतले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवारले ३ सय ६० र लेबर उम्मेदवारले ३ सय ४६ मत ल्याए ।बेलायतबाट काठमाडौं आएका बेला दिनेश खड्कासँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश –
तपाई बेलायतको स्थानीय निकायमा निर्वाचित होइन ?
हो । टाउनको वार्डको काउन्सिल पदमा जितेको हुँ । काउन्सलर भनेको नेपाल भाषामा बुझ्ने हो भने ठ्याक्कै वडाध्यक्ष । हामीले गर्ने भनेको सिभिल सर्भेन्टले बिल ल्याउँछन् । हामीले नीति नियमहरू पारित गर्नुपर्छ । त्यो टाउनमा ५२ जना वडाध्यक्षहरू छौँ । ५२ जना वडाध्यक्षहरूले टाउनलाई उपयुक्त हुने खालका नीति नियमहरू बनाउने, त्यो वातावरणसम्बन्धी हुन सक्छ, समुदाय, हाउजिङलगायतका नीति नियमहरू हामीले ल्याउने हो ।
विकासको कार्यक्रम कसले हेर्छ ?
विकासको कार्यक्रममा दुई तहको हुन्छ । एउटा विजुली, सडक, ढल जस्ता कुराहरू क्षेत्रले हेर्छ । सरसफाइ, वातावरण, आवासका कुराहरू वडाध्यक्षहरूले हेर्छन् । यो चार वर्षको कार्यकाल हुन्छ ।
नेपालीहरू यो पदमा पुगेका छन् वा छैनन् ? पुगेका छन् भने कति जना होलान् ?
६ जना नेपाली काउन्सलरहरू छौँ । त्योमध्ये नयाँ जितेर आउने अर्थात गएको मे महिनामा तीन जना नयाँ आउनु भएको छ । तीन जना पुनः दोहोरिनुभएको छ ।
बेलायतमा पेशा व्यवसाय के गर्नु हुन्छ ?
म यूकेमा सन् २००१ सालमा अध्ययन गर्न भनेर गएँको हुँ । फुड साइन्सको मास्टर्स गरेर फुड टेक्नोलोजी फुड म्यानेजरको रुपमा ईन्ड्रस्टीमा काम गरिरहेको छु । १७–१८ वर्षदेखि कार्यरत छु । विद्याबारिधी पनि गर्दै छु ।
व्यवसाय र राजनीतिमा समय दिन सक्नु हुन्छ ?
काउन्सलरमा महिनाको दुई वटा बैठक भाग लिनै पर्ने हुन्छ । बैठक समय मिलाएर राखिएको हुन्छ । बैठक बेलुका हुन्छ । छ देखि ८ बजेसम्म बैठक राखिएको हुन्छ । ९–५ को जागिर गरेर काउन्सलरको काम भ्याउने गरेको छु । शनिबार र आइतबार छुट्टी हुने भएकाले जनसम्पर्क गर्ने, विकासको काममा ध्यान दिन्छु । आवश्यक प¥यो भने ट्रेनिङ, सेमिनारहरूमा मिलाउने गरेको छु ।
बेलायतमा नेपाली संघ संस्थाहरू छन् । उनीहरूको कार्यक्रममा कत्तिको जान भ्याउनु हुन्छ ?
म जाने गरेको छु । समय दिने गरेको छु । सन् २००५ सालदेखि नै मेस्टोन टाउनको राजधानीमा बसे । मेस्टोन नेपाली समाज छ । त्यसमा झण्डै दुई हजार नेपालीहरू सदस्य छन् । २००५ सालदेखि संस्थापक सदस्य भएर काम गरेको छु । भाग्यबस राप्ती समाज २००६ सालबाट शुरु गरेर सन् २००७ सालमा स्थापना गर्दा संस्थापक विधान लेखनको अध्यक्ष भएर मौका पाएँ । विगतमा म धेरै संघ संस्थामा सामाजिक कार्यमा संलग्न भएको छु । सोही कारणले मलाई काउन्सलर पदमा जित्न सजिलो भयो ।
एनआरएनएको गतिविधिहरूमा संलग्न हुनुहुन्छ ?
म एनआरएनएमा छैन । व्यक्तिगत हिसावले सहयोग गर्ने गरेको छु । एनआरएनएमा धेरै संलग्न हुन पाइन । म सामाजिक कार्यमा संलक्ष्न छु । राप्ती समाजमा झण्डै सात आठ सय नेपाली छौँ । केन पुलिसको म ईन्सिडेन्ट सल्लाहकार छु । इण्डिपेन्ड सल्लाहकार समूहमा १०–१२ वर्षदेखि छु । फायर ब्रिगेड कम्पनीमा डेढ वर्षसम्म भोलियन्टर गरेँ । गोरखा सोल्जर्स झपटसिंह भुजेलसँग मिलेर सन् २००९ सालमा बक्सिङ क्लव खोल्यौँ । त्यहाँ पार्क छ । त्यसको सदस्य पनि हुँ । यस्ता सामाजिक काममा संलग्न छु ।
आफ्नो देश र जिल्लामा केही सामाजिक काम गर्नुभएको छ ?
मेस्टोन नेपाली समाजकै ब्यानरमा थुप्रै सामाजिक कामलाई सहयोग गरेका छौँ । भूकम्पमा हामीले झण्डै ४२ लाख मेस्टोन नेपाली समाजले रामेछाप, सिन्धुपाल्चोकमा सहयोग गरेका छौँ । रामछापमा अलिक धेरै पैसा खर्च गरेका छौँ । पुनःनिर्माणमा काम गरेका छौँ । राप्ती समाजको ब्यानरबाट दाङ जिल्लामा सामाजिक कार्य गरेका छौँ । घोराहीको महेन्द्र अस्पताललाई सहयोग गरेका छौँ । प्यूठान, रोल्पा, रुकुममा सहयोग गरेका छौँ । नेपाल आएको बेला आफ्नै प्रतिष्ठान दर्ता गरेको छु । प्रतिष्ठानमार्फत शिक्षा, स्वास्थ्य र सरसफाइमा दाङलाई सहयोग गर्नेछु । राप्तीका पाँच वटा जिल्लालाई पनि सहयोग गर्नेछु ।
बेलायतमा बस्ने नेताहरूको समस्या हुन्छ कि हुँदैन ?
समस्याहरू हुन्छन् । विद्यार्थीको धेरै समस्या छ । कसरी बस्ने भन्नेछ । जागिरकै समस्या छ । ट्युशन फि महँगो हुँदै छ । कामदारका रुपमा गएकाहरूको आ–आफ्नै समस्या छ । कामको आफ्नै खालको समस्या हुँदै छ । नेपालबाट बेलायत जाँदा भाषा, पेशा मिल्दैन । यातायातको कुरा आउँछ । तालिमको कुरा आदिमा समस्या छ । गोरखा सैनिकका आफ्नै समस्या छन् ।
तपाईहरूले समस्या समाधानका लागि पहल गर्नुभएको छैन ?
हामीले थुप्रै पहल गरेका छौँ । म काउन्सलर भएदेखि केही पहलहरू गरेको छ । जस्तै केन पुलिस र काउन्सलरसँगको सम्पर्कले बुढाबुढीहरूलाई चोरी, ट्राफिक, अंग्रेजी भाषा, नेपालीहरूको बच्चाहरूलाई नेपाली भाषा कसरी सिकाउने ? लगायतमा पहल गरेका छौँ ।
नेपालबाट बेलायत जान धेरै उत्साहित हुन्छन् । त्यहाँ जान उचित छ कि छैन ? रोजगारी वा शिक्षा केमा जाँदा उपयुक्त हुन्छ ?
रोजगारीमा जानेलाई हेल्थ सेक्टरमा राम्रो अवसर छ । नर्स, डक्टरलाई राम्रो छ । नेपालमा आईएल्स ग¥यो भने बेलायतमा राम्रो अवसर छ । स्वास्थ्यको क्षेत्रमा जानको लागि बेलायतमा धेरै सजिलो बनाएको छ । विद्यार्थीलाई भरसक ब्याचलर गरेर मास्टर्स गर्न जानेलाई राम्रो छ । बेलायतमा मास्टर्स एक वर्षको मात्रै हुन्छ । मास्टर्स गरेपछि तत्काल नै दुई वर्षको वर्क परमिटसहितको भिषा दिएको छ । त्यसले दुई वर्षका लागि बाटो खुल्छ । मजाले दुई वर्ष काम गर्न पाएपछि त्यसपछि वर्क परमिटमा कसरी जाने ? त्यहाँको काममा कसरी रिझाउने ? भन्ने बाटो खुल्छ ।
दुई वर्षपछि भिषा थप्न मिल्छ कि मिल्दैन ?
मिल्छ । आफूमा भरपर्छ । आफूले काम कसरी गरेको छ भन्नेमा भरपर्छ । सबै कुरा आफूमा भरपर्ने विषय हो ।
बेलायतमा मास्टर्स गर्न जान नेपाली रुपियाँ कति जति खर्च लाग्छ ?
मास्टर्स गर्न जानको लागि शुरुमा तीनदेखि चार हजार पाउण्डको डिपोजिट तिर्नुपर्छ युनिभर्सिटीलाई । त्यसले भिष अपलाइको लागि सबै प्रोसेस हुन्छ । आफै गर्न सक्नु प¥यो । बेलायत पुगेर अरु तीन हजार पाउण्ड दिएपछि फस्ट सेमेस्टरको छ–सात हजारको फि तिर्ने । फेरि छ महिनापछि सात हजार तिर्नुपर्छ । १४ हजार पाउण्ड अर्थात नेपाली रुपियाँ १८ लाख जति दुई–तीन किस्ता गरेर वर्षको अध्ययन गर्न सकिन्छ । कोर्ष हेरेर त्योभन्दा सस्तो र महँगो पनि हुन्छ । युनिभर्सिटी हेरेर हुन्छ ।
बेलायत अध्ययन गर्न जानेलाई के सुझाव छ ?
बेलायत पढ्न जानेलाई आइएल्स गर्नुपर्छ । आइएल्स गर्नुभन्दा पहिला ब्रिटिश काउन्सिलले एकदमै सजिलो र सस्तोमा किताब पाइन्छ । उनीहरूले सबै प्रोशेस भनिदिन्छन् । काउन्सिलबाट म्यापिङ गरेर जानुपर्छ । अनलाइन फ्रि टेस्ट पनि हुन्छ । त्यो गरेपछि ५.५ भन्दामाथि ल्याउँछु भन्ने भएपछि मात्रै प्रक्रियामा भाग लिने । हतार गरेर सहभागिता नजनाउने । टार्गेट चाहिँ ६.५ को गर्नुपर्छ । धेरै जसो युनिभर्सिटीले ६ अंक ल्याएपछि पनि स्वीकार गर्छन् ।
नेपालको हकमा बेलायतले वर्क परमिट दिएको छ वा छैन ?
त्यो नेपाल र बेलायतको कुटनीतिक कुरा हो । नेपालको राजदूतावासले गर्नुपर्ने काम हो । नेपाललाई नै भनेर वर्क परमिट गरेको छैन । साउथ ईष्ट एसियाको लागि नर्सिङको विषयमा वर्क परमिट छ । साउथ एसिया भनेपछि नेपाल, भारत, फिलिपिन्स यी देशहरूलाई विशेष प्राथमिकता छ । नेपालकै कोटा छैन । साउथ एसियन भनेको हुनाले नेपाल त्योभित्र पर्छ । ब्रिटेनमा नेपालीहरूको छाप छ ।
तपाई आफै राजनीतिक परिवारबाट आएको व्यक्ति । बेलायतमा पनि कांग्रेस–कम्युनिस्टको राजनीति गर्नु हुन्छ कि ?
राजनीतिक दलमा आवद्ध छैन । म त्यसको विरोधमा छु । मलाई त्यसको अफर पनि आएको हो । बेलायतमा बसेर नेपालको राजनीति गर्नु उचित होइन । बेलायतमा कांग्रेस र कम्युनिस्टका भ्रातृ संस्थाहरू छन् । त्यो गर्न जरुरी छैन । बेलायतमा त्यसको बैधानिकता नै छैन । कांग्रेस–कम्युनिस्टका भ्रातृ संस्था अर्थात जनसम्पर्क समितिहरू कुनै पनि बेलायतमा दर्ता भएका छैनन् । बेलायती कानूनमा ती सबै अबैधानिक छन् ।
बेलायतमा दुर्घटनामा नेपालीहरू कत्तिको पर्छन् ?
पर्छन् । नेपाली विद्यार्थी सन् २००८–९ तिर धेरै दुर्घटना भए । समुद्रमा पौडी खेल्ने क्रममा एकजना विद्यार्थीको निधन भयो । सडक दुर्घटनामा पनि ज्यान गएको छ । अमेरिकाको तुलनामा बेलायतमा दुर्घटनाहरू धेरै कम छ । नेपालकै जस्तो ठानेर हेलचेक्र्याइ गर्दा दुर्घटना भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया