सुशील कोइरालाले भारत–चीनसँग बिरोध जनाए, मै हुँ भन्ने राष्ट्रवादीहरू दुलाभित्र पसे
अनिल गिरी
१. सुगौली सन्धीअनुसार काली नदी पूर्वको जमीन नेपाल हो भनेपछि लिम्पुयाधारा, कुटीयाङ्दी, लिपुलेक, कालापानी लगायतको ४०० बर्ग किलोमिटर जमिन नेपालको हो । हामीले संयुक्त राष्ट्रसंघमा सदस्य हुन आबेदन दिँदा होस् या चीनसँग सीमा सम्झौता गर्दा होस् या ब्रिटिश म्युजियममा भएका नक्सा र प्रमाण किन नहुन् या केही त लाईब्रेरी अफ कँग्रेसमापनि छन् । यी तथ्य र प्रमाण पेश गरेर हामीले हाम्रो जमिनमाथी दाबी गर्नु पर्दथ्यो, त्यो गरेनौँ । यो आजको सरकार हैन ६० वर्ष यता बनेका नेपालका सबै सरकारहरूको थोक असफलता हो । लिम्पुयाधारामा उद्गगमस्थल भएको काली नदी जो महाकालीको मुहान, त्यो नै सिमाना हो भनेर मानिएको छ । भारतले लिपुलेक नजिकै बग्ने सानो खोलालाई काली हो भन्दै आएको छ ।
२. भारत र तिब्बत युद्दपछि भारत हार्यो । उ घाइते बाघ जस्तो थियो । त्यति बेला भारतीय सेनाका १८ वटा चौकी काठमाडौं र नेपाल–चीन सीमामा तैनाथ थिए । किनभने नेपालको लगभग सुरक्षा त्यति बेला भारतले हेर्दथ्यो । अहिले जावलाखेल स्टाफ कलेजमा भारतीय सेनाको नेपाल हेर्ने कार्यालय थियो । त्यो कार्यालय जर्नेलले नेतृत्व गर्दथे । चीनसँग लडाइँ हारेपछि अब तिमीहरूको सुरक्षा पोष्ट किन चाहियो ? भनेर नेपालले भारतलाई आग्रह गर्यो ।
नेपालका उत्तरी सिमाना र जवालाखेलको भारतीय सेनाका टुकडी सबै उठेर गए । कालापानीमा भने बसिरहे । सुनिएअनुसार त्यति बेला राजा महेन्द्र शाहले भारतलाई घाइते बाघको उपमा दिँदै लडाइँ हारेको कारण भारतले नेपालमाथीपनि आक्रमण गर्न सक्ने भएकोले त्यति एउटा कालापानीमा चाहीँ अस्थायी रूपमा बस्न दिउ न भनेर भारतलाई केही समय बस्न दिएको भन्ने त्यति बेला राजा महेन्द्रलाई सुन्ने–जान्नेहरूले बताउँदै आएका छन् ।
अस्थायी रूपमा बस्न दिएपछि त्यसपछिका सरकारले कहिल्यै फलो अप गरेनन् जमीन फिर्ता गर्न । जुन हाम्रै गल्ती हो । किन भने कोशीको बाँध फुटेपछि पूर्व पश्चिम राजमार्ग क्षतबिक्षत भयो । भारतीय भूमि प्रयोग गर्नुपर्ने हेतुले बिराटनगरमा अस्थायी भारतीय क्याम्प राखियो । नेपालतिर बाटो मर्मत भयो । भारतको बाटो प्रयोग गर्नु परेन । नेपालले भारतलाई बिराटनगरस्थित अस्थायी पोष्ट उठाउन भन्यो तर, मानेन् धेरै वर्षपछिसम्म पनि । पछि केपी ओली प्रधानमन्त्री बनेर भारत भ्रमणमा गएपछि भारतले १० वर्षपछि बल्ल अस्थायी पोष्ट उठायो ।
३. जागजहेर छ । जब आफ्नो जमीन गुम्छ उसलाई अन्याय हुन्छ आवाज उठाउनुपर्छ । कालापानीको हकमा त्यो हुन सकेन् । बहुदल आएपछि तत्कालीन अखिलका केही ठिटाहरू कालापानी मार्चमा गए राम्रै भयो तर, मार्चले जमीन फिर्ता ल्याएन । सरकारहरूले प्राथमिकतामा पारेनन् । तर, यो २०–२५ वर्षमा केही राम्रो कामपनि भएका छन् । नेपाल–भारत सीमाका सम्बन्धमा । २७ वर्ष लगाएर दुबै देशका सीमा अधिकारीहरूले कालापानी र सुस्ता क्षेत्र बाहेक नेपाल–भारत सीमाको सबै नक्सा तयार पारेका छन्, आजभन्दा १३ वर्ष अगाडि । ती १८२ थान डिजिटल नक्साको आधारमा नेपाल–भारत सीमा अध्यावधिक हुँदैछ, पिलरहरू मर्मत हुँदैछन् र दुई पक्षीय सीमा जसलाई नो म्यान ल्याण्डस पनि भनिन्छ त्यसलाई मानवरहित बनाउने काम भइरहेको छ । हजारौको संख्यामा बोर्डर हराएका पिल्लर मर्मत हुँदैछन् र नयाँ पनि बनाइँदैछ ।
नेपाल–भारत सीमाको ९९ प्रतिशत नक्साङ्कन सकियो । अब नक्सामा हस्ताक्षर गरौँभन्दा नेपालले कालापानी र सुस्ताको सीमा विवाद हल नभएसम्म हस्ताक्षर नगर्ने भनेर अडान राख्दै आएको छ । आजभन्दा ६ वर्ष अगाडि भएको सहमति बमोजिम नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत कालापानी र सुस्तको सीमा विवाद हल गर्ने प्रयास जारी छ । दुई देशका नापी अधिकारीहरूले सुस्ता र कालपानी बाहेकको नेपाल–भारत सीमाको ब्यवस्थापन सकिनु अगावै सुस्ता र कालापानीको सीमा विवाद हल गरेर प्रोटोकलमा हस्ताक्षर गरिनुपर्छ ।
४. केहीको यो सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरौँ भन्ने आवाज सुनिन्छ । यो सबैभन्दा वहियात माग र आवाज हो । किनभने अन्तर्राष्ट्रियकरण त्यति बेला गरिन्छ जतिबेला नेपाल र भारतकाबीच सबै तहका वार्ता असफल हुन्छन् । अहिले त वार्ता नै शुरू भएको छैन । त्यसैले यो सम्भव नै छैन् । दोस्रो भारतजस्तो निकट तर, ठूलो छिमेकीका बिरुद्ध अन्तर्राष्ट्रिय अदालत जानु भनेको ठूलो जोखिम मोल्नु हो ।
राजनीतिक, सामाजिक, आर्थिक, रणनीतिक र सामरिक त्यसैले लाखौ नेपालीको रोजगारीको पहिलो गन्तब्य भारतका बिरुद्ध अन्तर्राष्ट्रिय अदालत जानु हाम्रो लागि निकै महँगो पर्ने देखिन्छ । अर्कौ महत्वपूर्ण कुरा अन्तर्राष्ट्रियकरणमा जाने भनेको संयुक्त राष्ट्रसंघ र हेगस्थित अन्तर्राष्ट्रिय न्यायिक अदालत या आईसीजे जाने हो । राष्ट्रसंघमा अहिलेपनि उजुरी छन् २–४ वटा । राष्ट्रसंघले सीमा विवाद हेर्दैन । बढीभन्दा बढी उसले भन्ने भनेको भारत र नेपाल मिल भन्ने हो । काश्मिर समस्या आपसी वार्ताबाट समाधान गर भनेको दशकौँ भयो तर, खै त समाधान ?
राष्ट्र संघले पनि आईसीजे नै हो जाउ भन्ने । तर आईसीजेमा मुद्दा लैजान नेपाल र भारत दुबै मुलुकको सहमति चाहिन्छ । एक पक्षीय नेपालको मात्र मुद्दा दर्ता हुँदैन् । दोस्रो उसको फैसलालाई मान्नै पर्छ भन्ने बाध्यकारी ब्यवस्था पनि छैन । एउटा मुलुकले मान्दिन भन्यो भने त्यो कार्यान्वयनमा आउँदैन । हैन भने संसारका यति मुलुकका बीचमा सीमा विवाद छ सबै आईसीजे जान्थे । नेपालमा जति जाने बुझेका विज्ञ विद्धान अरू देशमापनि छन् । नेपालीलाई केही थाहा छैन जे भनेपनि पत्याइहाल्छन् भन्ने भ्रम कसैले नपालौँ ।
५. कालापानीको सीमा विवाद त्रिदेशीय भएकोले यो जटिल छ । भारत र चीनसँग छुट्टा–छुट्टै र संयुक्त रूपमा वार्ता गर्नुपर्नै देखियो । नेपालको जमीन होभन्दाभन्दै भारत र चीनले जसरी व्यापारिक नाका बिस्तार गर्नै निर्णय गरे त्यसबाट ठूला देशको हेपाहा प्रवृत्ति देखिन्छ । भारतले व्यापार बिस्तार गर्न होस् या मानसरोवर जान होस् या चीनको गतिविधि निगरानी गर्न होस्, जसरी कालापानी र लिपुलेकको प्रयोग गरेको छ त्यसमा चीनको पूर्ण सहमति छ ।
त्यसैले चीनसँग पनि गम्भीर कुराकानी गर्नुपर्ने भएको छ । पोहोर साल दोख्लाममा र अहिले सिक्किम नजिक नामथलमा जसरी भारतीय र चिनियाँ सेना आमने–सामने भए भोलि कालापानी, लिपुलेकमा भए के गर्नै ? त्यो खतरा पनि बढ्दै गएको छ । अनि भारत र चीनले यसरी सिधै बाटो बनाएर व्यापार वाणिज्य बिस्तार गरे भने चीनले नेपाल हुँदै भारत पुर्याउने भनेको रेल अब आउला कि नआउला ? भारत र चीनबीच गतिशील पुल हुने हाम्रो सपना के हुन्छ ? दुई देशलाई पारवहन सुविधा दिए बापत अर्बौ डलर कर उठाएर देश समृद्ध हुने सपना के हुन्छ ?
६. सीमामा बस्नेलाई नागरिकता देउ, विकास देउ, सुविधा देउ, आफ्नो महशुस गराउ, नेपाली हौँ भन्ने भावना विकास गर । यति गर्यौ भने नागरिक आफै ढाल बनेर सीमाको रक्षामा खडा हुनेछन् । कञ्चनपुर, सुस्ता, तिलाठी, पशुपतिनगर लगायत सयौँ उदाहरणहरू जनताले सीमा रक्षा गरेको । Sense of belongings is important. अब बिरोधपत्र, कुटनीतिक नोट लेखेर, अन्तर्राष्ट्रियकरण गरेर, संयुक्त राष्ट्रसंघ गुहारेर, भारतीय राजदूतलाई बोलाएर समस्या समाधान हुँदैन् । आधिकारिक नक्सा, कागजात, प्रमाण बोकाएर दिल्लीस्थिति राजदूतलाई भारतसँग वार्ता गर्न पठाऔँ । सडकमा उफ्रेर, वक्तव्य जारी गरेर, लेखेर, गाली गरेर समाधान निस्कन्न । सन् २००५ मा भारतले बाटो बनाउने निर्णय गरेदेखि थाहा थियो ।
भनेपछि ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, माधवकुमार नेपाल, खिलराज रेग्मी, सुशील कोइराला, शेरबहादुर देउवा र खड्गप्रसाद ओली सरकारले के गरे ? भन्ने प्रश्न उठेको छ । सुशील कोइरालाको सरकारले लिपुलेकमा नेपालको दाबी पुष्टि हुने गरी प्रमाण खोजेर प्रतिवेदन बुझाउन विज्ञ टोली गठन गर्यो ।
सूर्यनाथ उपाध्याय नेतृत्वको ५ सदस्यीय टोलीले प्रमाणसहितको प्रतिवेदन पनि बुझायो । प्रतिवेदन तयार हुँदा केपी ओली देशको प्रधानमन्त्री थिए । त्यसपछि प्रतिवेदन भने दराजमै छ । लिपुलेकमा भारतले एकै रातमा बाटो बनाएको हैन् । सन् २०१३ मा भारत र चीनले वार्ताअघि बढाए । सन् २०१५ मा सहमति भयो, चीनका प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा । तुरुन्त सुशील कोइराला सरकारले दुबै देश समक्ष बिरोध जनायो । त्यसपछिका मै हुँ राष्ट्रवादीले बिरोध गरेनन्, कुरा उठाएनन्, फलो गरेनन् र बाटो बन्यो ।
(वरिष्ठ पत्रकार अनिल गिरी दी काठमाडाैं पाेस्ट दैनिकमा कार्यरत छन् । याे लेख उनकाे फेसबुकबाट साभार गरिएकाे छ)
फेसबुकबाट तपाईको प्रतिक्रिया