कोरोनाबाट मृत्यु भएका दुई जनाबारे डा.पाण्डेको घत लाग्ने सकारात्मक तर्क
डा.रवीन्द्र पाण्डे
कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला काठमाडौंको टोखामा बस्थिन् । प्रसव गराउन उनी वैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् । २४ गते सामान्य अवस्थामा डिस्चार्ज भएकी उनी २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे गएकी थिइन् । त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन् । उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पु¥याइयो । त्यसको आधाघण्टामा उनको उपचारको क्रममा मृत्यु भयो ।
बाह्रबिसेकाे यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने
१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ । शिक्षण अस्पतालबाट सरेको भए सरेको ८–१० दिनमै मृत्यु हुने थिएन । सेप्टीसेमियाबाट मृत्यु भएको भए पीसीआर पोजिटिभ देखिने थिएन । सामान्यतया संक्रमण भएको ३ देखि ६ हप्तामा मृत्यु हुन्छ । उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहीन कोरोना संक्रमण भएको हुनसक्छ ।
२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुति गराउने बिरामीलाई पीसीआर परीक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो ।
३. गर्भवती तथा सुत्केरीलाई जोखिम वर्ग मानिन्छ । यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो ।
४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ । सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता विषयमा पहिले पीसीआर टेस्ट गर्नु अनिवार्य भएको छ । यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरू तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।
५. अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ ।
बाँकेका दोस्रो मृतकबारे
भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै वैशाख ३० गते नेपाल भित्रिएका बाँकेको नरैनापुरका २५ वर्षीय युवकको आइतबार दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो । उनी नेपाल गत मंगलबार आएका थिए । अर्थात नेपाल आएको ५ दिनपछि उनको मृत्यु भयो ।
कोरोना भाइरसको संक्रमण भएको व्यक्तिको संक्रमणकाल सामान्यतया २ देखि १४ दिनको हुन्छ । त्यसपछि लक्षण देखिएर मृत्यु हुनको लागि थप २ देखि ३ हप्ता लाग्दछ ।
यो मृत्यु प्रकरणबाट के बुझिन्छ भने उनी बिगत २–३ हप्ता पहिलेदेखि संक्रमित थिए । संक्रमित व्यक्तिलाई परीक्षण गरेर भारत सरकारले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो ।
विश्व स्वास्थ्य संगठनको नियमअनुसार तथा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार यता भएका भारतीयलाई नेपाल सरकारले र उता भएका नेपालीलाई भारत सरकारले परीक्षण गर्ने, आइसोलेसनमा राख्ने, उपचार गर्ने तथा लकडाउन खुलेपछि हस्तान्तरण गर्नु पर्ने हो ।
तर, भारतले असुरक्षित रुपमा संक्रमित नेपालीलाई नेपाल आउन दिइरहेको छ । अर्थात नेपाल भित्र्त्याउन सहजीकरण गरेको छ । यो निकै गम्भीर कुरा हो । यो विषयमा नेपाल भारतबीच पुनः छलफल हुनु जरुरी छ ।
त्यस्तै मृतकलाई शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो ।
विश्वब्यापी तथ्याङ्क हेर्ने हो भने यो उमेरका व्यक्ति जोखिम वर्गमा पर्दैनन् । अर्थात यो उमेरका व्यक्तिको मृत्युदर ०.२ प्रतिशत मात्र छ ।
मलाई लाग्छ, उनको आरडीटी तथा पीसीआर कुनै पनि परीक्षण गरिएको थिएन । र्यापिड टेस्टको नतिजा तुरुन्तै आउथ्यो । त्यसमा पोजिटिभ देखिए उनी अस्पतालमा हुने थिए । उनको परीक्षण भएको भए पीसीआरको रिपोर्ट नआएको पनि हुनसक्छ ।
हामी कहाँ भएका अधिकांश क्वारेन्टाइन केन्द्र असुरक्षित र असुविधाजनक छन् । बेडबीचको दुरी, शौचालयको अवस्था, पंखा तथा खानेपानीको पर्याप्त व्यवस्था धेरै ठाउँमा छैन ।
उनलाई शनिबार रातिदेखि ज्वरो एवम् झाडापखाला लाग्दा शरीरमा जलबियोजन भएर अर्थात Dehydration भएर उनको मृत्यु भएको हुनसक्छ । बाँकेको प्रचण्ड गर्मीमा उनलाई ज्वरो कम गर्ने, पखाला ठीक गर्ने तथा प्रशस्त मात्रामा जीवनजल पानी वा सलाइन दिइएको थियो कि थिएन ? यसको विवरण आउन बाँकी छ ।
त्यस्तै उनलाई कुनै दीर्घरोग थियो कि थिएन ? उनको स्वास्थ्य अवस्था कस्तो थियो ? हार्टएट्याक भएको हो कि हैन ? मृत्युको कारण के थियो ? जस्ता अनुसन्धान गर्नु जरुरी छ । पोस्टमार्टमबाट धेरै अवस्था जानकारी हुनेछ ।
हामीकहाँ क्वारेन्टाइन सेन्टरबाट त्यहाँ बसेका व्यक्तिहरू भाग्ने कारण निराकरण गर्नु जरुरी छ । यो प्रचण्ड गर्मीमा स्वस्थ खाना, पर्याप्त खानेपानी, पंखा, हावा, प्राथमिक उपचार, योग, संगीत, मोटिभेसनल स्पिच, स्वास्थ्यकर्मीको व्यवस्था तथा परीक्षणको सुगम व्यवस्था गर्नु जरुरी छ । अन्यथा संक्रमितहरूले आफू संक्रमित भएको थाहा नपाइ मृत्युवरण गर्नुपर्ने नियति बढ्दै जानेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया