प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सहारा लिनु पर्यो
– प्रदीप गिरी, नेता, नेपाली कांग्रेस
वि.सं. २००९ सालको कुरा हो, नेपाली माटोमा नेपाली कांग्रेसले पहिलो पटक आफ्नो अधिवेशन गर्दैथियो । यसअघि प्रतिबन्धितकालमा भारतमै कांग्रेसले आफ्ना बैठकहरू गर्ने गरेको थियो । बैठकमा ठूलो सहभागिता हुँदैनथ्यो । तर, ती बैठकहरूलाई नै विशेष अधिवेशन भन्ने चलन थियो ।
कांग्रेसको जनकपुर अधिवेशनमा विपी कोइरालाले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभयो । त्यतिबेलासम्म उहाँका अग्रज मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री हुनुहुन्थ्यो । एक त पार्टीका सभापति, दोस्रो प्रधानमन्त्रीसमेत हुँदा मातृकाबाबुले चुनाव कसरी जित्ने र के गरी जित्ने भनि विशेष तयारी गरिराख्नु परेन ।
विपी प्रारम्भदेखिनै आफ्नो खास किसिमको राजनीतिक शैली अपनाएर चुनाव लड्न तत्पर हुनुहुन्थ्यो । जनकपुर महाधिवेशनलाई दृष्टिगत गरी उहाँले ‘हाम्रो आगामी कदम’ भन्ने एउटा लेख लेख्नुभयो । त्यो लेख त्यतिबेला कांग्रेसको मुखपत्र सरह युगवाणीमा छापियो ।
त्यस लेखमा विपीले भन्नुभएको थियोः कुनै पनि राजनीतिक पार्टीले देश, काल, परिस्थितिको ठीक विश्लेषण गर्न सक्नुपर्छ । पार्टीले विश्लेषण गर्न सकेन भने ठूला ठूला पार्टीहरू पनि कालको प्रभावमा यसै बिलाएर जान्छन् । कुनै पनि पार्टी सञ्जीवनी बुटी खाएर जन्मिएको हुँदैन ।
जनतालाई हत्केलामा खेलाउन नसक्दा पार्टीको मृत्यु अनिवार्य हुन्छ । जनतालाई हत्केलामा खेलाउन उनीहरुको मुटुको ढुकढुकी बुझ्नुपर्छ । त्यो मुटुको ढुकढुकी सधैँ एकनासको रहँदैन । त्यो परिवर्तित भइरहन्छ । परिवर्तन नै दुनियाँको नियम हो । नेपाली कांग्रेसले यो परिवर्तित परिस्थितिलाई बुझ्नुपर्छ । त्यो परिवर्तित परिस्थितिलाई कांग्रेसले नबुझेर लकिरका फकिर भएर पुरानै कुरा दोहोर्याइरह्यो भने नेपाली कांग्रेस समाप्त हुन्छ ।
चीनमा कुनै समय क्वोमिन्ताङ भन्ने ठूलो पार्टी थियो । त्यो पार्टी आज चीनमा हराए सरह छ। त्यो पार्टीले चिनीयाँ समाजको गठन बुझ्न सकेन । त्यहाँको समाजको बढ्दो आकांक्षा बुझ्न सकेनन् र त्यसैले विलाउनु पर्यो । यही गति नेपाली कांग्रेसको नहोस् भन्ने हिसाबले म चुनाव लड्दैछु ।
उपर्युक्त शब्द त्यस लेखबाट अक्षरस मैले दोहोर्याएको छैन । तर त्यो लेखको भाव यीनै छन् । ती लेख आज पनि मानिसले पढ्न सक्छन् ।
अहिले नेपाली कांग्रेसलाई ठूलो संकट आएको छ भनि नेताहरुले पनि भनेकै छन् । संकटको कारण पनि खोजिँदै छ । संकटका कारणको पहिचान गरेर त्यसको निवारण हुनुपर्छ भन्ने आवाज ठाउँ ठाउँबाट आउँदैछ ।
त्यो संकट के हो त ?
कुनै पनि संकटको एउटा मात्रै कारण हुँदैन। त्यो तत्काल अर्कोसँग सम्बन्धित हुन्छ । एउटै कारण भन्नु पनि गल्ती हुन्छ । कुनै एउटा केन्द्रीय कारण भन्ने हो भने नेपाली कांग्रेसको आजको अलमल, अन्यौल र कमजोरीको कारण विपी कोइरालाले औंल्याउनु भएको छ ।
नेपाली कांग्रेसको स्थापना भएको झण्डै ७० वर्ष भयो । विपीले लेख्नुभएको उपर्युक्त लेख पनि ६५ वर्ष हुन लाग्यो। नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्रको पुनर्स्थापना भएको २०४६ साललाई सम्झिने हो भने त्यो पनि २७ वर्ष हुन आटिसक्यो । यता आएर दोस्रो जनआन्दोलन भएको पनि झण्डै १२ वर्ष भइसक्यो । १२ वर्षलाई हामीले एक युग नै भन्ने गरेका छौं । यस एक युगमा नेपाल एकनासको छैन । साँच्चि नै भन्ने हो भने यस १२ वर्षमा नेपालमा असामान्य किसिमका परिवर्तन देखा परेका छन् ।
नेपाली जनजीवनका आधारभूत तथ्य परिवर्तित भएका छन् । ती तथ्यलाई यसरी परिवर्तन गर्नु र गराउनुमा नेपाली कांग्रेसको अहम् भूमिका छ । नेकपा माओवादीले दीर्घकालिन जनयुद्वको नारा दि । उनीहरूले त्यो जनयुद्वलाई विसौनीमा पुर्याउन सकेनन् । त्यसका लागि जनयुद्धका नायक प्रचण्डले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको सहारा लिनु पर्यो । नेपाली कांग्रेसको समर्थनबिना मुलुक गणतन्त्र हुने थिएन ।
नेपाली कांग्रेस समेतको पहल र नेतृत्वमा संघीय राज्य, जात जातिको आरक्षण, महिलाको आरक्षण जस्ता कदम भए । यी प्रत्येक कदममा नेपाली कांग्रेसको हात छ । तर त्यति भएर पनि नेपाली कांग्रेसले एक त यस्ता क्रान्तिकारी कदमसँग अपनत्व बोध नगरेको स्थिति देखापर्यो ।
अर्कोतिर, यस्ता नाटकीय कदम मुलुकले किन लिनुपरेको थियो भन्ने कुराको बोध कदाचित नेपाली कांग्रेसको नेतृत्वलाई भएन कि जस्तो पनि देखिन्छ ।
यस पटकको चुनावी परिणामको धेरै व्याख्याहरू हुन सक्छन् । मुख्य कुरा के हो भने, द्रूतगतिले परिवर्तन भइरहेको नेपालको बढ्दो आकांक्षालाई नेतृत्वले आत्मासाथ गर्न नसक्नु अहिलेको कांग्रेसको सबैभन्दा ठूलो कमजोरी हो ।
कुनै पनि राजनीतिक पार्टीको संगठन सत्ता प्राप्तिका लागि हुन्छ । तर, सत्ता प्राप्तिका तरिका पनि आ-आफ्नै हुन्छन् । हामीले सुने अनुसार, प्राचीनकालमा लिगलिग भन्ने ठाउँमा जसले सबैभन्दा छिटो कुदेर सबैभन्दा पहिले निश्चित स्थानमा पुग्थ्यो त्यही व्यक्ति राजा हुने गर्थ्यो ।
पौराणिक कालमा देवी देवताको तपस्या गरेर वरदान पाएपछि मान्छे राजा भएका कथाहरु छन् । पछि राजा राजाबीचको लडाइबाट हुने गर्थ्यो । भर्खरैमात्र एक डेढ सय वर्षअघि कोतपर्वमा आफ्ना प्रतिद्धन्द्धीलाई जंगबहादुरले हत्या गरेर राजा भएका थिए। यी सबै सत्ता प्राप्त गर्ने तरिका थिए ।
तर, एउटा राजनीतिक दलले सत्ता प्राप्त गर्दा भने केही निश्चित मूल्य, मान्यता, विचार र विकल्पका कुराहरु आम जनतामा प्रभाहित गरेर प्राप्त गर्ने कुरा हो ।
विपी कोइरालाको देहान्त २०३९ साल साउन ६ गते भएको थियो । त्यतिबेला सोभियत यूनियन र अमेरिकाबीच कडा प्रतिस्पर्धा थियो । शितयुद्वको चर्को चरण थियो । शितयुद्वको त्यस प्रभावमा विपी कोइरालासमेत प्रभावित भइ सबैभन्दा बढी उहाँको आलोचना कम्युनिष्टप्रति लक्षित थियो । कम्यूनिष्ट फर्मुलाका लागि यिनीहरू पञ्चायतमा पसेका हुन् भन्न पनि चुक्नुभएन। त्यसको ६ वर्षपछि सोभियत यूनियन भंग भयो । सोभियत यूनियन विघटन हुनु र नेपालमा प्रजातन्त्र आउनु हाराहारीमै पर्यो ।
नेपालमा प्रजातन्त्र आयो । नेपाली कांग्रेस सत्तामा गयो । तर, हामीले परिवर्तित परिस्थितिमा नयाँ नारा विकास गर्न सकेनौं । हाम्रो एउटै नारा रह्यो, विपीको सपना साकार पार्छौँ ।
विपीका सपनाका दुई पहल्वी थिए । एउटा प्रत्येक नेपालीको गास, वास र कपासको समस्या समाधान होस् । स्वास्थ्य र शिक्षाका लागि नेपालीले भौंतारिनु नपरोस् । अर्को उहाँ यस मुलुकको स्थिरताका लागि सबैभन्दा बढी खतरा कम्युनिष्टसँग छ भन्न पनि चुक्नु हुँदैनथ्यो ।
२०४७ सालको परिवर्तनपछि हामीले एकपटक विपीको उत्तराधिकारीलाई मूल्यांकन गर्नुपर्थ्यो । तर त्यो देखिएन । विपीको व्यक्तित्व र उचाई उहाँको मानवता, उहाँका उपलब्धीहरुको बुइँ चढेर नेपाली कांग्रेसले आफ्नो विचारधाराको इतिहासको पर्याया बनाएर हिँड्यो । कम्युनिष्टहरुले यसबीचमा दुई वटा काम गरे ।
एमाले नेता मदन भण्डारीले ४७ सालको परिवर्तन सँगसँगै जनताको बहुदलीय जनवाद जबज भन्ने एउटा नारा र दृष्टिकोण प्रतिपादन गरे । माओवादीलाई चित्त बुझेन । माओवादीले २१ औं शताब्दिको जनवाद भन्ने नारा ल्यायो । हामीले सधैँ एउटै कुरा भन्यौं, प्रजातन्त्र ।
प्रजातन्त्रको अर्को कुनै विकल्प छैन। हो प्रजातन्त्रको निश्चिय पनि विकल्प छैन र अहिले पनि यसको विकल्प छैन । तर प्रजातन्त्र भनेको त एउटा फ्रेम हो । त्यो फ्रेमभित्र कस्ता सामाजिक नीति हुने, कस्तो आर्थिक नीति हुने, कस्तो राजनीति हामीले अँगाल्ने भन्ने विषयमा कांग्रेसले पहल गरेर अब यो नेपालमा देश, काल र परिस्थिति अनुसार फलानो कुरा गर्नुपर्छ भनेर भन्न सकेन ।
यसपटक नेपाली कांग्रेसको पछाडि आम जनताको मत घटेको छैन । तर आक्रामक ढंगबाट उभिएको वाम गठबन्धनलाई जुन जवाफ दिनु पर्दथ्यो, तिमीहरुले बनाउन खोजेको नेपाल यस्तो हो र हामीले बनाउन खोजेको नेपाल यस्तो हो । त्यो भन्ने युवक हामीले बाढ्न सकेनौं । युवकहरुको भोट विवेकशील पार्टी जस्ता भर्खरै उम्रिएका पार्टीले पनि फेला पारे। कम्युनिष्टहरूको आफ्नै नारा थियो । तर हामीले हाम्रा युवा कार्यकताहरलाई अपवादबाहेक उत्साहित र उत्प्रेरित गर्न सकेनौं ।
यो भन्दा मलाई सम्झना आयो, वेलायतमा लिभरल पार्टी, लेभर पार्टी र कन्जरभेटिभ पार्टीको लामो इतिहास छ । देश, काल र परिस्थितिलाई नठम्याएको कारण लिभरल पार्टी बेलैमा विलिन भयो । लेभर पार्टी र कन्जरभेटिभ पार्टीबीच झण्डै एक सय वर्षदेखि द्धन्द्वरत छन् ।
लेभर पार्टीको विधान जुन झण्डै २४, २५ पृष्ठको छ त्यसमा क्लज फोर भन्ने छ । लेभर पार्टीको विधानको क्लज फोरमा झण्डै झण्डै कम्युनिष्ट कार्यशैलीको कार्यक्रम थियो । रुसमा भर्खरै क्रान्ति भएको थियो । लेभर पार्टीले रुसको जस्तो क्रान्ति गर्न चाहदैनथ्यो र वेलायतमा त्यो सम्भव पनि थिएन । फलस्वरुप उसले के भनेको थियो भनेः ल्याउने त हामीले पनि समाजवाद नै हो । गर्ने त हामीले पनि राष्ट्रियकरण नै हो। तर, रूसमा रक्तरञ्जित तरिकाले त्यो गरियो । वर्ग संघर्षका माध्यमबाट गरियो। हामी क्रान्तिमा होइन चुनावमा विश्वास गर्छौ ।
हामी सर्वहारा वर्गको अधिनायकवादमा विश्वास गर्दैनौं, हामी भोटमा विश्वास गर्छौ । भोटबाट बेलायतको संसदमा बहुमत ल्याइसकेपछि हामीले पनि देशका सबै कारखानाहरुलाई राष्ट्रियकरण गर्छौँ । हामीले पनि सबै अधिकार मजदूर वर्गलाई दिन्छौं । हामीले पनि पूँजीलाई नियन्त्रण गर्छौं र सच्चा समाजवाद ल्याउँछौं । हाम्रो समाजवादमा प्रजातन्त्र रहन्छ ।
उपर्युक्त धारणालाई लिएर लेवर पार्टीभित्र सधैँ बहस भइराख्यो । हामी र कम्युनिष्टमा फरक नै भएन। यो धारणा बदल्नु पर्छ भन्ने भयो । तर पुरातनपन्थीहरुले यो धारणा बदल्न चाहेनन् । बेलायतमा लेवर पार्टीलाई नवजीवन दिने भनेर चिनिएका टोनी ब्लेयरले यो धारणालाई बदल्न सके र सफलता प्राप्त गरे । तर, यो त्यसै बदलिएन ।
बेलायतको राजनीतिमा टोनी ब्लेयरको योगदान के थियो ? उनले गरेका काम ठीक थिए वा थिएनन्, म यो अहिले भन्न चाहन्नँ ।
नेपाली कांग्रेसलाई नवजीवन दिने शिलशिलामा बेलायतमा टोनी ब्लेयरको नेतृत्वमा लेवर पार्टीले नवजीवन प्राप्त गरेझैं कांग्रेसलाई पनि नवजीवन दिनुपर्छ भन्ने मेरो संकेत हो । त्यसका लागि कांग्रेसको सारा इतिहास हामीले केलाएर हेर्नुपर्छ । यसले बहन गरेको विचारधारा हेर्नुपर्छ ।
यी विचार धारा र यसको परम्परामा के कस्ता ओजस्वी तत्व छन् त्यो हेर्नुपर्छ। र ती वोजस्वी तत्वमा टेकेर यसको श्रृजनात्मक विकास गर्नुपर्छ । यो श्रृजनात्मक विकास गर्ने क्रममा के देख्छु भने, विपीले प्रजातान्त्रिक समाजवादको एउटा वैकल्पिक तस्विर दिनुभएको थियो ।
उहाँले वारम्बार भन्ने गर्नुहुन्थ्यो, नेपालको विकास भनेको गाउँको विकास हो । नेपालको विकास भनेको ठूला ठूला सडक, ठूला ठूला हवाइजहाज अड्डा होइनन्। नेपालको विकास भनेको सर्वप्रथम यहाँका गाउँले जनताको उदाहारण थियो । विपीले गाउँको उदाहारण दिँदै हलो जोतिरहेको गाउँले किसानको तस्बिर राख भन्नुभएको थियो ।
आज पनि यान्त्रिक रूपले त्यही गर्नुपर्छ भन्ने मेरो भनाइ होइन । त्यतिबेलाको समयमा उहाँले त्यो भन्नु भयो । आज के गर्दा विदेशमा गएर कुटो कोदालो गर्न बाध्य भएका हाम्रा लाखौँ नेपाली दाजुभाइ दिदी बहिनीलाई फर्काउन सकिन्छ ?
कसरी उनीहरुको श्रमको सदुपयोग मुलुकले गर्न सक्छ ? कसरी प्रजातन्त्रमाथि चारैतिरबाट आघात आइरहेको यस घडिमा हामीले प्रजातन्त्रलाई साँचो अर्थमा स्वतन्त्रताका पर्याय बनाउन सक्छौं ?
हालैको कान्तिपुरमा एउटा हेडलाइन छापिएको थियो- एमाले अध्यक्ष केपी ओलीले भन्नु भएको छ अब एकताको विषयमा कसैले बोल्न पाउँदैन । के यो स्वतन्त्र वाणी र स्वतन्त्र अभिव्यक्तिमाथिको प्रतिबन्ध होइन ? कसैले भन्ला, यसलाई ओलीको आफ्नो पार्टीभित्रको समस्या हो । कुनै पनि मुलुकमा मुलुकभित्र वा बाहिरको प्रतिबन्ध अथवा पार्टीभित्रको प्रतिबन्ध अलग अलग हुँदैन ।
पार्टीभित्र स्वतन्त्र स्वर दब्यो भने समाजमा द्धन्द्वको श्रृजना हुन्छ । त्यस्तै अर्को घटना पनि भएको छ । केही कुरा उनले बोले अथवा लेखे भने डाक्टर गोविन्द केसीलाई रातारात तत्परतापूर्वक अदालतले कारबाही गरेर हिरासतमा पुर्याएको छ । अब ओलीको निशेध र गोविन्द केसीको अदालती गिरफ्तारीका धेरै पहलवीहरु छन् ।
गोविन्द केसीको राजनीतिमा पनि धेरै चरित्रहरु छन् । गोविन्द केसीको जस्तो अनसन पनि स्वस्थ राजनीति होइन । यसबारे पनि प्रश्न उठ्न सक्छ र बहसको विषय बन्न सक्छ । तर, यी दुबै घटना प्रतिकात्मक रुपले स्वतन्त्र अभिव्यक्तिका उपर प्रहार हुन् । यस प्रहारलाई नेपाली कांग्रेसका युवा कार्यकर्ताले आत्मासाथ गर्न सक्नुपर्छ । र प्रजातन्त्रको साँचो अर्थमा कुनै पनि प्रकारका विचार र सोचका उपर कुनै प्रकारको प्रहार हुँदा बोल्न सक्ने शक्ति कांग्रेसका कार्यकर्तामा हुनुपर्छ । यसले एउटा प्रेरणात्मक अभ्यासको अपेक्षा राख्दछ ।
हामीले यसको वास्तविक पहल पनि हेर्नुपर्छ । कांग्रेसले प्रजातन्त्रको मर्मलाई गहिराइसम्म आत्मबोध गरेर त्यसको नयाँ र मौलिक आयामलाई अभिबृद्धि गर्नुपरेको छ । अर्कोतर्फ, कांग्रेसको परम्परालाई अध्ययन गरी त्यहाँ रहेका आजको युग सापेक्ष नरहेका विचारलाई चटक्कै छोड्ने काम गर्नुपर्छ ।
त्यहाँ रहेका सार्थक विचारलाई आजको देश, काल र परिस्थितिका हिसाबले आजका नेपाली युवाहरुको मनोभावनालाई ध्यानमा राखेर श्रृजनात्मक विकास गर्नु पर्छ । त्यसो भयो भने मात्रै विपी कोइरालाले कांग्रेसको जनकपुरको पाँचौ अधिवेशनमा देखाउनु भएको चेतावनी पनि सार्थक हुन्छ र केही भिन्न परिप्रेक्षमा टोनी ब्लेयरले वेलायतको लेवर पार्टीको नविकरणमा गरेको प्रयासले पनि हामीलाई प्रेरणा दिन्छ ।
यसमा तपाइको मत