दाङबारे खुमबहादुर र देउवाबीच फोनमै भनाभन, महरा–पोखरेल मौन

काठमाडौं । बुधबार दाङ, धनकुटा, डोटी, वीरगञ्जसहितका जिल्लाहरूमा अन्य स्थानको भन्दा अलिक चासो दिएर सरकारको निर्णयलाई कुरेर बसेका थिए । बिहान मन्त्रिपरिषदको बैठक बस्न केही ढिलाइ भयो । तर, कुनै निर्णय हुन सकेन ।

बालुवाटारमा दिउँसो तीन बजे दोस्रो बैठक बस्यो । दोस्रो बैठक बस्नेवित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले सात प्रदेशको अस्थायी केन्द्रको प्रस्ताव पढेर सुनाए । कुनै पनि मन्त्रीले हस्तक्षेप गरेनन् । प्रस्ताव पारित भयो ।

उद्योगमन्त्री सुनीलबहादुर थापाले मन्त्रिपरिषद् बैठकमा १ नं. प्रदेशको केन्द्र धनकुटामा बनाउन प्रस्ताव गरेका थिए । तर, उनको प्रस्तावमा सुनुवाइ हुन सकेन ।

पाँच नं. प्रदेशको केन्द्रका लागि बिहानको बैठकमा रुपन्देही बनाउने कि दाङ भनेर विवाद भएको थियो । दाङ मात्रै होइन अन्य प्रदेशहरूमा पनि प्रदेशको केन्द्र तोक्ने विषयमा मन्त्रिपरिषदमा चर्काचर्की भएको थियो । कुनै निर्णय हुन नसकेपछि बैठक तीन बजेसम्मका लागि स्थगित भएको एक मन्त्रीले बताए ।

उद्योगमन्त्री थापाका अनुसार प्रदेशको केन्द्रका लागि सुझाव दिन गठिन समितिको सुझावमा कुनै पनि प्रकारको छलफल नभएको जानकारी दिए । ‘केन्द्र कहाँ बनाउँदा उपयुक्त हुन्छ भनेर बनाइएको सुझाव समितिको प्रतिवेदनमा कुनै पनि सुनुवाई भएन’, थापाले भने, ‘प्रधानमन्त्रीले राखेको प्रस्तावमा कसैले विरोध गर्ने कुरा आउँदैन ।’

पाँच नं. प्रदेशको केन्द्र रुपन्देही बनाउन नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र एमालेका उपमहासचिव विष्णु पौडेलको विशेष भूमिका रहेको स्रोतको भनाइ छ । यी दुई नेताहरू देउवालाई बुधबार पटक–पटक भेटेर दाङलाई कुनै पनि हालतमा प्रदेशको केन्द्र नबनाउन दवाव दिएका थिए ।

हुन त बुधबार बिहानको मन्त्रिपरिषद् बैठक बस्नु केही समय अगाडि नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले प्रधानमन्त्री देउवालाई फोन गरेर ५ नं. प्रदेशको केन्द्र दाङलाई नै बनाउनु भनेर आग्रह गरेका थिए ।

खड्काले दाङलाई केन्द्र नतोकिए पार्टीभित्रको समीकरण मिलाउँदा आफूले सहयोग गर्न नसक्ने भनेर देउवालाई धम्की समेत दिएका थिए । खड्काकै धम्कीका कारण बिहानको मन्त्रिपरिषदले केन्द्रबारे निर्णय गर्न नसकेर दिउँसोसम्मका स्थगित भएको एक नेताले बताए ।

मन्त्रिपरिषद बैठकमा दाङलाई प्रदेशिक राजधानी बनाउनु पर्छ भनेर बोल्न कोही पनि थिएन । मन्त्री थापाले भने, ‘दाङको बारेमा कसैले केही भनेन । बरु दीपक बोहराजीले रुपन्देहीको कुरा उठाउनु भएको थियो ।’ प्रधानमन्त्री देउवासँग कांग्रेसका केही नेताहरूले दाङलाई केन्द्र बनाउन भनेर फोनमा दवाव दिएको आफूले पनि सुनेको थापाले बताए ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, एमालेका नेता शंकर पोखरेलले ५ नं. प्रदेशको केन्द्र बनाउनका लागि कुनै भूमिका खेल्न नसकेको भनेर आरोप लागेको छ ।

दाङलाई केन्द्र बनाउन नसकेका एमालेका नेता शंकर पोखरेलले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर प्रधानमन्त्री देउवाको आलोचना गरेका छन् । तर, उनकै पार्टीका नेता विष्णु पौडेलले कुटनीतिक पहलमार्फत रुपन्देहीलाई केन्द्र बनाइ छाडे । महराले पनि कुनै भूमिका खेल्न सकेनन् ।

Published : Wednesday, 2018 January 17, 9:52 pm

3 प्रतिकृया प्राप्त “दाङबारे खुमबहादुर र देउवाबीच फोनमै भनाभन, महरा–पोखरेल मौन”

  • महरा र शंकर पोख्रेल ले भुमिका नखेलेको भन्ने कुरा आयो अब के चाहिँ गर्छौ बिष्णु पौडेल ले तिमी दुई नेताको राजनितिक इतिहास खाने भए

  • सबैथोक मिलिसकेको साथै हावा पानी तथा सुरछ को दृस्तिले पनि प्रसस्तै सरकारी भुमि ले गर्दा तुरुतै बेबथापन गर्न सकिने सबै जिल्ला को पाइक सेन्तर भयकोले दाङ नै उपयुक्त छ तेसैमा येस्याकै गनियको उपत्याका ले गर्दा देस बिदेस बस्ने ले समेत थाहा पौछन र ठिक भन्नेछन होइन भने देउबा लाई सधैको लागी जन्ताले दुस्मन सम्झिने छन

  • न यहाँ बिष्णु पौडेल र बालकृष्ण खाणले नै प्रदेश नम्बर -५ काे अस्थायीराजधानी रूपन्देही ताेकेर विश्व जिते न शंखर पाेखरेल र कृष्ण बहादुर महाराले प्रदेश नम्बर -५ काे राजधानी दाङ नताेकेर सर्वस्व नै गुमाए । यहाँ सबैले प्राप्ति गरेका छन् ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया