दाङबारे कांग्रेस बैठकमा बबण्डर, दीपक गिरीद्वारा बैठक बहिष्कार

काठमाडौं । सीमित व्यक्ति र गुटका कुरा सुनेर ५ नं. प्रदेशको राजधानी दाङलाई नबनाएको विरोधमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबारबाट सुरु भएको बैठकमा सम्बोधन गरेर गिरीले बष्हिकार गरेका हुन् । नेता गिरीले प्रदेशको राजधानीबारे सुझाव दिन गठित समितिको सुझावलाई लत्याएर सरकारले एकलौटी रुपमा प्रदेशको केन्द्रमा तोकेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

‘५ नं. प्रदेशको राजधानी दाङ हरेक किसिमले उपयुक्त थियो । सोही कारण उच्च अदालत र प्रहरीको इकाई दाङमा राखियो । अहिले आएर सरकारले सबै कुरालाई लत्याएर रुपन्देहीलाई केन्द्र बनाउन पाइन्छ ?’, केन्द्रीय सदस्य गिरीले बैठकमा आक्रोशित हुँदै भनेको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यसरी मुलुक चल्दैन । संघीयतालाई असर पु-याउँछ । सबैलाई सुगमता होस भनेर संघीयता ल्याइएको हो ।’

केन्द्रीय सदस्य गिरी बैठकलाई बहिष्कार गरेर बाहिरिदै गर्दा प्रधानमन्त्री एवम् सभापति देउवाले बस्न आग्रह गरेका थिए ।

केही केन्द्रीय सदस्यहरूले गिरीलाई रोक्ने प्रयास गरेका थिए । तर, गिरीले दाङलाई प्रदेशको केन्द्र बनाउने निर्णय पहिला सच्चाउने पर्ने अडान लिएर बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ ।

प्रदेशको राजधानी वा केन्द्र तोक्दा कुनै मापदण्डका आधारमा तोकिएको हो भनेर समेत गिरीले प्रधानमन्त्री समेत रहेका देउवासँग प्रश्न गरेका थिए । तर, देउवाले कुनै जवाफ दिन सकेनन् ।

गिरीले पटक पटक सुझाव दिन गठन भएको समितिको सुझाव कहाँ छ भनेर प्रश्न गरेका थिए । बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पाँच नं. प्रदेशमा सरकारले अन्याय गरेको भन्दै देउवाको कडा आलोना गरेका छन् ।

केन्द्रीय सदस्य गिरीले पाँच नं. प्रदेशका बारेमा चर्को स्वरमा आलोचना गरिरहँदा नजिकै रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, चन्द्र भण्डारीसहितका नेताहरू मलिन अनुहार लिगाएर बसेको स्रोतले जनाएको छ ।

Published : Thursday, 2018 January 18, 1:50 pm

2 प्रतिकृया प्राप्त “दाङबारे कांग्रेस बैठकमा बबण्डर, दीपक गिरीद्वारा बैठक बहिष्कार”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया