कम्युनिष्ट यी पुराना नेताकी ‘कान्छी’लाई मन्त्री ‘पक्का’

काठमाडौं । केही कम्युनिस्ट नेताहरू आफ्नो दुनो सोझ्याउन कतिसम्म गिर्न सक्छन् भन्ने पछिल्लो उदाहरण स्वयं मोहनविक्रम सिंह बनेको चर्चा हुन थालेको छ ।

सर्वहारा वर्गको राज्यसत्ता अझै नआएको भन्दै अर्धभूमिगत रहेका यिनै सिंह मन्त्री माग्दै शक्ति केन्द्रहरू चहारिरहेका छन् । धेरैलाई पत्यार नलाग्न सक्छ । सिंह प्राण छाडेर यसका लागि दौडधुप गरिरहेका छन् । यही प्रयोजनका लागि सिंहले केही दिनयतादेखि भेटघाटहरूलाई बाक्लो पारेका छन् ।

कान्छी अर्धागिंनीका निम्ति पुसको ठिही र त्योभन्दा पनि जीवनभर ‘रखबारी’ गरेको विचारको पर्वाह नगरी बयोवृद्ध मोहनविक्रमले सक्रियता बढाएका हुन् । सिंहले आफ्नो पार्टीलाई वाम गठबन्धनमा मिसाएर एक सिट जिताएका छन् । त्यो एक सिटमा विजयी बनेकी छिन्, सिंहकी श्रीमती दुर्गा पौडेल ।

प्यूठानबाट चुनिएकी उनै दुर्गाका लागि मोहनविक्रमले यतिबेला जात फाल्न लागेको भन्दै उनकै कार्यकर्ताहरूले ओंठ लेपार्न थालेका छन् । श्रीमतीका निम्ति सिंह पछिल्लो समय यू–टर्न नै भएका छन् । सिंहमा आएको बदलाब बुझ्न पछिल्ला दिनमा उनले व्यक्त गरेका अभिव्यक्ति र सक्रियता हेरे मात्रै पुग्छ ।

यसअघिका राजनीतिक घटनाक्रममा ठ्याक्कै उल्टो प्रतिक्रिया दिने, त्यसमा पनि माओवादीले पूर्वभन्दा पश्चिम भन्ने मोहनविक्रम एमाले–माओवादीको बोलीमा लोली मिलाउन थालेका छन् ।

मोहनविक्रम सिंह यतिबेला श्रीमतीलाई मन्त्री बनाउने एक सूत्रीय एजेण्डाका साथ अघि बढिरहेका छन् । केही दिनअघि मात्रै सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही कामका लागि भेटेको माओवादीका एक नेताले बताए ।

पछिल्लो राजनीतिक परिस्थिति र वाम गठबन्धन विस्तारबारे छलफल भएको बताइए पनि सिंहले दुर्गा पौडेललाई मन्त्री बनाइदिन ‘प्रचण्ड’संग अनुनय विनय गरेका थिए ।

Published : Friday, 2018 January 19, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया