‘प्रचण्ड’लाई एमालेमा गाभिन ओलीको दवाव, बामदेवहरू अर्कैतिर

काठमाडौं । पार्टी एकताको अभियानमा लागेका एमाले र माओवादी केन्द्रको नेतृत्वबीच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ ।

एमाले अध्यक्ष केपी ओलीलाई सहजै प्रधानमन्त्री स्वीकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो ।

तर, माओवादीका अधिकांश नेताहरूले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि नेताले ‘प्रचण्ड’लाई अध्यक्ष मान्न सकेका छैनन् ।

एमालेका नेताहरू प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितिमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन नसकेको एकजना एमालेका नेताले बताए ।

पार्टी एकता जति ढिलो हुँदै गएको छ, त्यति नै प्रचण्डको पक्षमा नेताहरू थपिदै गएका छन् । माओवादीका नेताहरू ‘प्रचण्ड’लाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, पछिल्ला दिनमा एमालेका नेताहरूसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने पक्षमा छन् ।

यसअघिदेखि नै ‘प्रचण्ड’सँग निकट मानिने एमाले उपाध्यक्ष बामदेव गौतम ‘प्रचण्ड’लाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् ।

अर्कोतिर केपी ओलीलाई पार्टीभित्रै चुनौति दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र उनका पक्षधर नेताहरूपनि अध्यक्ष पद ‘प्रचण्ड’लाई दिएर सहज रुपमा पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।

पछिल्लो समय पार्टी एकता पर धकेलिदै गएपछि कतिपय ओली पक्षका नेताहरूसमेत एकता सफल बनाउनका लागि ‘प्रचण्ड’लाई अध्यक्ष बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।

पार्टीकै अर्का प्रभावशाली नेता तथा पूर्व अध्यक्ष झलनाथ खनाल पनि पार्टी एकता सफल बनाउनका लागि ‘प्रचण्ड’लाई अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएका छन् ।

पार्टी एकताको पक्षमा दुवै दलका नेताहरू एकमत भए पनि पदीय बाँडफाँट नै मुख्य समस्या देखिएका बेला ‘प्रचण्ड’को पक्षमा नेताहरू थपिदै गएको देखिन्छ ।

Published : Saturday, 2018 January 20, 7:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया