एमाले हाबी हुने गरेर आयो नयाँ प्रस्ताव, माओवादीको चित्त बुझ्ला ?

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बन्ने एकीकृत पार्टीको नीति, नेतृत्व र दुवै पार्टीका नेताहरूको व्यवस्थापनमा केन्द्रित छलफलहरू निर्णायक मोडमा पुगेको छ ।

एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेतृत्वबारे तीनभन्दा बढी मोडालिटीमा छलफल हुँदै आएको छ ।

ओली र प्रचण्डबीच दुवै अध्यक्ष रहने कि एक अध्यक्ष र अर्को सहअध्यक्ष रहेर एकीकृत पार्टीको मूल नेतृत्व टुंग्याउने विषयमा केन्द्रित रहेर छलफल हुँदै आएको स्रोतले जनाएको छ ।

दुवै अध्यक्ष रहँदा सरकारको नेतृत्व गर्ने भएकाले एउटा सेरेमोनियल भूमिकामा रहने र अर्कोले पार्टी सञ्चालन गर्नेबारे छलफल भएको एक नेताले बताए ।

अर्को मोडालिटीअनुसार कार्यकारी अधिकारसहित ‘प्रचण्ड’ कार्यवाहक अध्यक्ष बन्ने भन्नेमै केन्द्रित रहेर छलफल चलेको उच्च स्रोतले जनाएको छ ।

‘प्रचण्ड’निकट स्रोतले भने दुई नेताबीच एउटाले सरकारको नेतृत्व गरे अर्कोले पार्टीको नेतृत्व गर्ने गरी समझदारी भइसकेको दाबी गरेको छ ।
दुवै मोडालिटीमध्ये जुनसुकैमा सहमति भए पनि अहिलेका एमालेका पदाधिकारीहरू कायम रहने र माओवादीका केही नेतालाई उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको जिम्मेवारी दिने गरी छलफल केन्द्रित भएको छ ।

यसो गर्दा माओवादी केन्द्रका पाँचदेखि सातजना नेता पदाधिकारी बन्नेछन् । यो मोडालिटीमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अहिलेकै मर्यादाक्रममा रहनेछन् ।

माओवादी केन्द्रबाट एकजना वरिष्ठ नेता थपिन सक्नेछ । एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ८२ तथा पार्टी एकतामा संलग्न विभिन्न नेता र आवश्यक अन्य नेताहरूसमेत थपेर तीन सयदेखि बढीमा ३ सय २५ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

दुई नेताबीच पार्टी एकता संयोजन समितिको बैठकबाट एकताको साझा दस्ताबेज तयार गर्ने सैद्धान्तिक–वैचारिक कार्यदललाई तोकेरै कार्यादेश दिने समझदारी भएको छ ।

यो कार्यदलले कम्युनिस्ट आन्दोलनबारे दुवै धारले हेर्ने दृष्टिकोणको अहिलेसम्मको समीक्षा, जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता र उपलब्धि तथा भावी कार्य्दिशाका विषयमा एकता संयोजन समितिलाई सुझाब दिनेछ ।

संगठनात्मक एकतासम्बन्धी कार्यदललाई दुवै पार्टीको संगठनात्मक प्रणाली, अन्तरिम विधान, तलसम्मका पार्टी कमिटी र जनसंगठनहरूबीचको एकता कसरी गर्ने विषयमा नीतिगत सुझाब दिन पाउने कार्यादेश दिने तयारी छ ।

दुवै कार्यदलले दिएको सुझाबलाई एकता संयोजन समितिले पारित गरेपछि एकताको मिति टुंगो लाग्ने नेताहरूको भनाइ छ ।

Published : Sunday, 2018 January 21, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया