ओलीको योजनामा कांग्रेसको ‘धावा’, छक्क परे एमालेका समर्थक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी ओलीको भनाई गलत भएको टिप्पणी गरेका छन् ।

नेपाल रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका डा.महतले कानूनअनुसार नै चल्नुपर्ने बताए । उनले कालो धनका विषयमा वैध–अवैध भनेर कसैले बोल्दैमा केही नहुने बताए ।

‘कानूनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन । कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ’, डा.महतले भने, ‘उहाँले कुन सन्दर्भमा भन्नुभयो थाहा छैन । तर, कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।’

नेपालको नेतृत्व कति परिपक्व छ भन्ने कुरा यस्तै अभिव्यक्तिले देखाउँछ भन्दै महतले ओलीको कटाक्ष गरे । ‘नेपालको राजनीतिक नेतृत्व कति सुझबुझपूर्ण, कति परिपक्व र कति दुरदर्शी रहेछ भन्ने यसले देखाउँछ । हल्का फुल्का टिप्पणी गरेर देशको सुशासन चल्दैन’, डा.महतले भने ।

देशको प्रधानमन्त्री बन्नका लागि तयार भएर बसेको व्यक्तिले यसप्रकारको टिप्पणी गर्नु दुखद् भएको महतको भनाई छ ।

अजेयराज सुमार्गीको प्रसङ्ग जोड्दै महतले जसले जहाँबाट पैसा ल्याएपछि कानूनबमोजिम ल्याएको भए वैध र कानूनविपरित भए अवैध हुने कुरामा स्पष्ट हुनुपर्ने बताए । ‘विधिसम्मत तरिकाले पैसा ल्याएको छ भने त्यसलाई अनावश्यक आरोप लगाउनु जरुरी छैन । विधिसम्मत छैन भने प्रश्न उठ्न सक्छ’, डा. महतले भने ।

Published : Tuesday, 2018 January 30, 11:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया