चिनियाँ राजदूत आफैले दिने भइन् भारतलाई काउन्टर

जनकपुरधाम । नेपालका लागि चिनियाँ राजदूत यू होङ २ दिने भ्रमणका लागि बुधबार जनकपुर आउने भएकी छन् । नेपालमा चिनियाँ प्रभाव बढेको भन्दै भारतले चासो व्यक्त गरिरहँदा चिनियाँ राजदूत होङको जनकपुर यात्रा तय भएको हो ।

प्रदेश २ को आफ्नो दुई दिने भ्रमणका क्रममा राजदूत होङले धनुषा तथा महोत्तरीका बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम छ । राजदूत आउन लागेको र सहयोग गर्ने भनिएका जिल्लाहरु भारतसँग सीमा जोडिएका छन् ।

त्यसो त भारतले पनि चीनसँग सीमा जोडिएका मुस्ताङलगायतका जिल्लामा पुगेर विभिन्न किसिमका पूर्वाधार निर्माणमा सघाउने गरेको छ ।

जनकपुर बसाइका क्रममा राजदूत होङले राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ । उनी जनकपुरस्थित सीताशरण होटलमा बस्नेछिन् ।

बुधबार दिउँसो पौने १ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने राजदूत होङ त्यहाँबाट सिधै सीताशरण होटलमा पुग्नेछिन् । त्यसपछि जनकपुरबाट १५ किलोमिटर दूरीमा रहेको गोविन्दपुर तथा जनकपुर आसपासका क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको स्रोतले बतायो ।

राजदूत होङ बुधबार नै दर्शनका लागि जानकी मन्दिरसमेत पुग्ने बताइएको छ । उनी बिहीबार महोत्तरीको लोहारपट्टी र बलबाका बाढीपिडितलाई राहत वितरण गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

भौगोलिक दूरीका हिसाबले भारतसँग निकै नजिक रहेको प्रदेश २ को अस्थायी राजधानीमा हुन लागेको चिनियाँ राजदूतको भ्रमणलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।

Published : Tuesday, 2018 January 30, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया