सुष्माको ‘आर्शीवाद’पछि एकाएक ‘मुडमा देखिए ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीको विशेष निमन्त्रणामा दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज दिल्ली फिर्ता भएकी छिन् । भ्रमण विशुद्ध सद्भावपूर्ण भएको भारतीय पक्षले बताएका छन् ।

स्वराजको नेपाल भ्रमणबाट एमाले अध्यक्ष ओली निकै उत्साहित बनेका छन् । नेपालका वेटिङ प्राईम मिनिष्टर रहेका अध्यक्ष ओली वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्ने करिब करिब पक्का भएको छ । उनी आफू प्रधानमन्त्री बन्ने कुरामा कुनै पनि द्धिविधामा छैनन् ।

वाम गठबन्धनमा आवद्ध दल एमाले र माओवादी केन्द्रवीचको एकतामा ढिलाई भैरहँदा राजनीतिक बजारमा नयाँ बहस सुरु भएको छ । नेपाली राजनीतिमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन कि भनेर विभिन्न प्रश्नहरू उब्जिएका छन् ।

तत्काल पार्टी एकता नहुने निश्कर्षमा वाम गठबन्धनका नेताद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेको उच्च स्रोतको दाबी छ । दुई पार्टीका शीर्ष नेताहरूले दिएको जानकारी अनुसार पार्टी एकताको लागि अहिले नीति र नेतृत्वमा नै विवाद छ ।

ओली निकट उच्च स्रोतले भन्यो, ‘अध्यक्ष ओली अहिले अध्यक्ष छोड्ने पक्षमा हुनुुन्न्, त्यसैले एकतामा ढिलाई भैरहेको छ ।’ यता माओवादी केन्द्रका अध्यक्ष दाहाल एकीकृत पार्टीको अध्यक्ष नपाए एकतामा गैहाल्ने पक्षमा छैनन् ।

यसो हुँदा अब बन्ने सरकारको नेतृत्वमा मात्रै विवाद नभएर राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदमा पनि ठूलो झगडा हुने बुझिएको छ । जनताले वाम गठबन्धनको पक्षमा मत दिएकोले अहिले दुवै नेता चुनावमा गरेका प्रतिबद्धताबाट ब्याक हुने अवस्थामा छैनन् । प्रचण्डले ओलीलाई बाहिर बसेर समर्थन गर्ने संभावना पनि बलियो छ ।

यही माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनपछि मुलुक नयाँ कोर्समा जान सक्ने संकेतहरू अहिले नै देखापर्न थालिसकेका छन् । मुलुक कुन कोर्समा जाला भन्न अहिले सजिलो छैन । सरकार गठनमा कुन कुन दल सहभागी हुन्छन् भनेर अहिल्यै नै भन्न पनि सकिने अवस्था छैन् । यसो हुँदा, वाम गठबन्धनको मात्रै सरकार बन्छ कि माओवादी केन्द्रबाहेक एमाले, राजपा र फोरमको सरकार बन्ने हो त्यो भने हेर्न बाँकी छ ।

नियमित स्वास्थ्य चेकजाँच गर्न बैंकक गएका ओली एक साता बसेर नेपाल फर्किए । बैंककबाट स्वदेश फर्किएपछि ओली निकै ढुक्क छन् । बिहीबार र शुक्रबार भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमणपछि उनी झनै उत्साहित बनेका छन् । स्रोतले भन्यो, ‘एमाले अध्यक्ष ओली अहिले धेरै उत्साहित बनेका छन्, प्रधानमन्त्रीमा अब आफ्नो विकल्प नभएको महशुस गरिरहनुभएको छ, उहाँ प्रधानमन्त्री बन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ, किनकी जनमत पनि उहाँकै पक्षमा छ ।’

जनताले पहिलोपटक झण्डै दुई तिहाई मत दिएर एमाले–माओवादीलाई नयाँ सरकार गठनको लागि पठाएका छन् । एमाले सचिव प्रदिप ज्ञवालीले, ‘अब प्रधानमन्त्री ओली नै हो, उहाँकै नेतृत्वमा सरकार बन्छ, यसमा कुनै द्विविधा छैन् ।’

ज्ञवालीको आशय पनि क्लियर छ, सके वाम गठबन्धनकै सरकार बनाउने । यदि सम्भव नभए माओवादी बाहेकको सरकार बनाउने । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यतिकै गठबन्धन तोड्ने पक्षमा छैनन् । दाहाल निकट उच्च स्रोतको दाबी छ, ‘पार्टी एकता नभएपनि गठबन्धनको सरकार बनाउँदा पनि ओली सुरक्षित छन्, त्यसैले उहाँ प्रचण्ड बाहिर बस्दा पनि ओली सुरक्षित छन् । ओली ढुक्क भएका छन् । हामी समर्थन गर्न पनि सक्छौं ।’

ओली ढुक्क हुनुका पछाडि मधेसकेन्द्रित दल हुन् । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीसँग निकट हुनु हो । यसमा कसको के कति हात छ भन्ने कुरा पछि नै थाहा होला ।

एमालेबाहेक कांग्रेस, माओवादीले सरकार बनाउन चाहेपनि त्यसको लागि उपेन्द्रको सहयोग अनिवार्य छ । हुन त यो वीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘प्रचण्ड’लाई ढुक्कले पाँच वर्ष सरकार चलाउन अफर गरेको कुरा आएको थियो । स्वयम् ‘प्रचण्ड’ले पनि यो अफरबारे सार्वजनिक गरेका थिए । ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नको लागि राजपा र संघीय फोरमको पनि साथ र सहयोग अनिवार्य हुन्छ । त्यसको लागि यो संभावना न्यून छ ।

Published : Friday, 2018 February 2, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया