‘अटेरी’ काठमाडौं प्रहरी प्रमुख धानुक हटाइए, पोखरेलले पाए ‘कमाण्ड’

काठमाडौं । शान्ति सुरक्षा र कानूनी शासन बनाउने विभागीय निर्देशन अटेर गर्ने काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई हटाएर सो स्थानमा एसएसपी विश्वराज पोखरेललाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

एसएसपी धानुकलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी दिइएको हो । प्रहरी प्रधान कार्यालयले पोखरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको पत्र सोमबार दिएको छ ।

उनी मंगलबारदेखि परिसरमा हाजिर हुँदैछन् । पोखरेल यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिए । एसएसपी धानुकलाई बागलुङमा सरुवा गरिएको पत्र दिइएको स्रोतले जनाएको छ ।

एसएसपी धानुक साउन ३१ गते २५ जना एसपीबाट एसएसपीमा बढुवा हुँदा ७६–४६६० अंकसहित बढुवा सूचीको पुछारमा परेका थिए । उनी काठमाडौं जस्तो महत्वपूर्ण ठाउँको प्रमुख बन्ने दौडमा भने सबैभन्दा अगाडि भएको भन्दै आलोचना भएको थियो ।

काठमाडौं जिल्लाकै प्रमुख भएर रमेश खरेल र सर्वेन्द्र खनाल लगायतले नाम कमाएका छन् । एसएसपी धानुकले पनि गएको भदौ ७ गते यो अवसर पाए । धानुकले आफ्नो कार्यकालमा केही पनि स्मरणीय काम गर्न नसकेको प्रहरी मुख्यालयको भनाइ छ ।

महानगरीय प्रहरी परिसर प्रमुखको पदमा कसलाई ल्याउने भन्नेबारे आर्इजीपी र गृहमन्त्रीबीच विवादका कारण लामो समयदेखि पदस्थापन हुन नसकेको पृष्ठभूमिमा तत्कालीन गृहमन्त्री जनार्दन शर्मा कै इच्छा अनुसार धानुकले यो जिम्मेवारी पाएका थिए । रुकुमको प्रहरी प्रमुख हुँदा एसएसपी धानुक र शर्मासँग नजिकिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाका समेत विश्वास पात्र थिए धानुक । पाँच महिनामै हाल गृहमन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीको दबाबमा उनलाई हटाउनुको कारण बन्यो पूर्व डिआइजी नवराज सिलवाल ।

सांसद निर्वाचित भइसकेका सिलवाल यतिखेर सम्पर्कविहीन छन् । प्रहरीले उनलाई खोजिरहेको छ, तर फेला पार्न सकेको छैन । सिलवाललाई जानकारी दिने, कीर्ते मुद्दा चलाउन आनाकानी गर्ने जस्ता गतिविधिपछि देउवा र उनको दूरी बढेको स्रोतले जनाएको छ ।

कीर्ते काण्डमा फसेका पूर्व डिआईजी सिलवाललाई कारबाही गर्ने विषयमा एसएसपी धानुकले खासै चासो नदिएको तथा सूचना चुहाएको आरोप लाग्दै आएको थियो ।

Published : Monday, 2018 February 12, 10:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया