सोल्टीको साइड इफेक्ट बालुवाटारमा, माओवादीलाई धक्का

काठमाडौं । वाम गठबन्धन भत्काउन देशी–विदेशी शक्ति लागेका छन् भनेर सार्वजनिक अभिव्यक्ति दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनभित्र एमालेसँग पार्टी एकीकरण गर्ने सात बुँदे सहमति गरी सबैलाई चकित तुल्याइदिएका छन् ।

माधवकुमार नेपाल वा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा होस् या नेपाली कांग्रेससँग सहकार्य गरेर सरकार बनाउँदा होस् अकस्मात निर्णय गरेर यू टर्न लिन सक्ने नेताको छवि बनाएका प्रचण्डले फेरि पनि सबैलाई आश्चर्यमा पारेर पार्टी एकीकरणको निर्णय गरेका छन् ।

प्रचण्डको बुझिनसक्ने राजनीति खेलमा विशेष गरेर भारत नराम्रोसँग पराजित भएको छ । भारतले एमाले र माओवादीलाई पार्टी एकीकरण होस् भनेर चाहेको थिएन । भारतलाई संकेत गर्दै प्रचण्डले विदेशी शक्तिहरु पार्टी एकीकरण चाहेको छैन भनेर अभिव्यक्ति दिएका थिए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले होटेल सोल्टीमा प्रचण्डसँग एक्लै कुरा गर्न नमानेपछि प्रचण्ड भारतसँग रिसाएका थिए । प्रचण्डसँग स्वराजले गरेको दुव्र्यवहारको समाचार अघिल्लो अंकमा यूनाइटेड पोष्ट साप्ताहिकले छापेको थियो ।

त्यतिखेरको बदला प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेर लिएका छन् । प्रचण्ड फेरि पनि भारतभन्दा एक कदम अगाडि देखिएका छन् । भारतलाई प्रचण्डले छक्याए पनि केपी ओलीसँग दुई कमद पछाडि परेका छन् । त्यो कुरा एमाले र माओवादीबीच भएको सात बुँदाले देखाएको छ ।

राजनीतिक खेलाडी ओलीले प्रचण्डलाई पार्टी एकीकरणको बाटोबाट भाग्नै नसक्ने गरेर अल्झाएपछि माओवादी बाध्य भएर एमालेमा विलय भएको आरोप छ । एमालेसँग बराबरीमा पार्टी एकीकरण गरेको भनेर प्रचण्डले जति भने पनि बास्तविकता त्यस्तो कदापि होइन । ओलीका सामु प्रचण्डले आत्मसर्मपण गरेका हुन् । भारतलाई देखाउनका लागि पनि उनले यस्तो अप्रिय कदम उठाएको एक नेताले बताए ।

जे होस् अब प्रचण्ड भारतसँग नजिक हुन सक्ने छैनन् । भारतले पनि प्रचण्डलाई विश्वास गर्ने ठाउँ दिएको छैन । बरु भारत ओलीसँग मिलेर नेपाल र भारतको सम्बन्ध सुधार गर्ने पक्षमा लागेको छ । भारत अब ओलीलाई नै सहयोग गरेर जाने पक्षमा देखिएको छ । ओलीसँग मिलेर काम गर्दा नै चीनको प्रभाव नेपालमा कम गर्न सकिने नयाँ दिल्लीको बुझाइ छ ।

Published : Thursday, 2018 February 22, 7:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया