‘गिरिजाबाबुलाई थाहा थियो’
जयप्रकाशप्रसाद गुप्ता
आज वैशाख ११ गते । लाखौं आन्दोलनकारीबाट दरबार घेरिएको अवस्थामा र शाही नेपाली सेनाले राजाको रक्षाका लागि व्यापक जनहत्या गर्न नसक्ने भनेपछि ज्ञानेन्द्र शाहले ‘सदाको लागि सत्ता त्यागेको’ जानकारी गिरिजाप्रसाद कोइरालालाई गराएको सत्य हो ।
सेना, भारत र राजाका प्रमुख सचिव साक्षी हुन् । बदलिएको परिस्थितिमा माधवकुमार नेपाल यस सत्यलाई कसरी भन्नु हुन्छ–थाहा छैन । तत्कालीन सात दलका नेता सबैले बुझेकै हो ।
‘जनताको नासो सदाशयताका साथ जनतालाई सुम्पीबक्सेको’ भन्नु तेस बेलाका अज्ञानीहरूको अहिले भ्रमोत्पादन मात्र हो । ‘राजाबाट नितान्त सत्ता परित्याग थियो’–सत्य यही नै हो ।
पुनःस्थापित संसदको पहिलो बैठकबाट भएको ‘राजतन्त्र अन्त्यको घोषणा’ राजाबाट कठिन बाध्यात्मक परिस्थितिमा सत्ता छोडनु परेको कुराको संसदीय अनुमोदन मात्र हो ।
संसदका ‘प्रोटेम स्पीकर’ यस सत्य सम्पादनका कर्ता मात्र हुन्–जानकार हैन् । जानेका र गर्नुपर्ने बुझेका त गिरिजाबाबु मात्र हुन् ।
नारायणहिटीमा ज्ञानेन्द्र र कृष्णप्रसाद सिटौलाका बीच कुनै सहमति गर्नुपर्ने नै थिएन । सिटौलाको ‘ज्ञानेन्द्र कुन दिन दरबारबाट बहिरिने’ यो जनाउने र ज्ञानेन्द्रलाई निःशर्त तिथीमिति मात्र दिने कार्यभार रहेको हो ।
यस सत्यबाट कोशौं दूर रहेकाहरू हाल ‘ज्ञानेन्द्रसंग कुनै सहमति भएको’ भन्छन् ।
‘सत्ताबाट निकालिएका’ र तत्कालीन अवस्थामा ‘आफ्नो जीवनको लागि’ निक्लेका पूर्व राजाको भावी नियति मलाई थाहा छैन । तर, आज वैशाख ११ गतेको एतिहासिक सत्यलाई बुझ्ने तथ्य यही नै हो । सहमतिको त्यो कथित ‘प्रमाण’ ज्ञानेन्द्रले कहिल्यै देखाउन सक्दैन । सत्य यही हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया