नेपालमा बुधबार लगातार तीन वटा भूकम्प, केही घाइते, घरहरू पनि भत्किए
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालमा बुधबार बिहान लगातार तीन वटा भूकम्प गएको जनाएको छ ।
केन्द्रका भरत कोइरालाका अनुसार लम्जुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्रविन्दु बनाएर बुधबार बिहान लगातार तीन वटा भूकम्प गएको बताए । उनले २०७२ सालकै भूकम्पको निरन्तरता रहेको जनाएका छन् ।
बुधबार बिहान ०५:४२ मिटमा ५.८ रेक्टरस्केलको पहिलो भूकम्पको धक्का गएको थियो । दोस्रो धक्का ०८:१६ मिनटमा ४ रेक्टरस्केलको भूकम्पको धक्का आएको कोइरालाले बताए । भूकम्पको तेस्रो धक्का ०८:२६ मिनटमा ५.३ रेक्टरस्केलको गएको छ ।
तीन वटै भूकम्पको धक्का लम्जुङ जिल्लालाई केन्द्र बनाएका छन् । ५.३ रेक्टरस्केलको भूकम्पले भुलभुले र बाँझाखेतलाई केन्द्र बनाएको छ । ५ रेक्टरस्केलको भूकम्पले सिम्पानी र चण्डीस्थानलाई केन्द्रविन्दु बनाएको छ । ५.८ रेक्टरस्केलको भूकम्पले भुलभुले र बाँझखेतलाई नै केन्द्र बनाएको छ ।
यसैबीच, लमजुङमा भूकम्पका कारण केही घर भत्किएका छन् । भूकम्पमा परेर केही स्थानीय घाइते भएका छन् ।
भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताएका छन् । केही घरमा क्षति पुगेको र केही स्थानीय घाइते भएको गुरुङले बताएका छन् ।
भूकम्पले पुर्याएको क्षतिको तथ्याङक आउन अझै बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए ।
स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् ।
लम्जुङ प्रहरीका नायब उपरीक्षक गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आएको बताए ।
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भूकम्पमा घर क्षति भएका केही स्थानीय र घाइतेहरूलाई आफूले भेटेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया