ओलीलाई मर्यादामा बस्न कांग्रेसले सचेत गरायो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले निर्वाचन आचारसंहिता विपरितको हर्कत गरेको भन्दै आपत्ति जनाएको छ ।

सिंहदरबारमा बुधबार बसेको संसदीय दल कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरित भोट मागेको भन्दै आक्रोश पोखे । उनले आचारसंहिता विपरीत कसैले पनि निर्वाचनमा काम कारबाही र क्रियाकलाप गर्न नपाइने बताए । ‘प्रधानमन्त्रीले मौन अवधिमा गरेको प्रचार घोर आपत्तिजनक छ’, उनले भने ।

कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत काम गर्नेहरूलाई आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

प्रमुख सचेतक खाणले भने, ‘मौन अवधिमा चुनावको प्रचार–प्रसार गरेको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीले बुधबार विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहितमा विपरित एमालेका उम्मेदवार रामबहादुर थापालाई मत दिन आग्रह गरेका थिए ।

कांग्रेस दलको कार्यसमिति बैठकले संसदको बजेट अधिवेशन संविधान र विधिसम्बत बोलाउन माग गरेको छ ।

कांग्रेसले कोभिड–१९को उपचारसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामग्री, औषधि र भ्याक्सिन खरिदमा भएको अनियमिततामा सम्लग्नहरूलाई कारबाही गर्न माग गरेको छ ।

खाणले भने, ‘सरकारले कोभिड नियन्त्रण र उपचारसँग सम्बन्धित उपकरण सरसामग्री औषधि खरिदमा अनियमितता भएका समाचार सार्वजनिक भइरहेका छन् ।’

‘यस्तो मानवीय संवेदनासँग जोडिएका विषयमा अनियमितता गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ’, खाणले भनेका छन् ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’, प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन बिहीबार हुँदैछ । त्यसको अघिल्लो दिन एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले थापाको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।

Published : Wednesday, 2021 May 19, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया