यी हुन् सहमतिका बाधक नेता, ‘भिलेन’ बने फोरमका श्रेष्ठ

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका दोस्रो तहका नेता राजेन्द्र श्रेष्ठको व्यक्तिगत महत्वकांक्षाका कारण फोरमलाई सरकारमा ल्याउने प्रयास आइतबार पनि तुहिएको छ ।

प्रधानमन्त्री केपी ओलीले संघीय फोरमलाई सरकारमा सहभागी गराउन र उनीहरूका सबै माग पूरा गर्न सहमति जनाइ सकेका छन् । तर, संघीय फोरमका सहध्यक्ष एवम् सांसद श्रेष्ठको व्यक्तिगत महत्वकांक्षाका कारण प्रधानमन्त्री ओली र अध्यक्ष उपेन्द्र यादवीच आइतबार हुने भनिएको सहमति रोकिएको उच्च स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अन्तिम सहमति गरेर मन्त्रिपरिषद विस्तारको तयारी भएको थियो’, उच्च स्रोतले भन्यो, ‘संघीय फोरमका सहध्यक्ष राजेन्द्र श्रेष्ठले व्यक्तिगत ठूलो महत्वकांक्षा राखेका कारण सहमति हुन सकेन ।’

श्रेष्ठले आफू कुनै पनि हालतमा मन्त्री हुनुपर्ने र त्यसका लागि तीन वटा मन्त्रालय फोरमलाई दिनुपर्ने भनेर बैठकमा अडान राख्ने गरेको स्रोतको भनाइ छ । यतिसम्मकी श्रेष्ठले मन्त्री नपाएमा वाम गठबन्धनको सरकारलाई अफ्ठ्यारो पार्ने भनेर धम्काउने गरेका छन् ।

प्रधानमन्त्री ओली र संघीय फोरमका अध्यक्ष यादवबीच संविधान संशोधनलगायत आदिवासी जनजाति र मधेसी जनताका हकअधिकारलाई पूरा गर्ने विषयमा सहमति भइसकेको छ । ती विषयहरूमा लिखित सहमति गर्न मात्रै बाँकी छ । प्रधानमन्त्री ओली पनि फोरमका अध्यक्ष यादवले अगाडि सारेका मागप्रति सकारात्मक छन् ।

आइतबार पनि प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल र संघीय फोरमका अध्यक्ष यादवबीच पटक–पटक वार्ता भएको थियो । तर, सहमति भने हुन सकेन ।

स्रोतका अनुसार संघीय फोरमका सहध्यक्ष एवम् सांसद श्रेष्ठले आफूहरूको पार्टीलाई तीन वटा मन्त्रालय दिनुपर्ने अडान राख्ने गरेका छन् । यद्यपि, प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल र संघीय फोरमका अध्यक्ष यादवबीच दुई वटा मन्त्रालय तथा एक राज्यमन्त्रीमा सहमति भएको छ । स्रोतका अनुसार अध्यक्ष यादवलाई प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा राख्ने सहमति पनि भएको छ ।

सो सहमतिलाई उल्ट्याउन फोरमका सहध्यक्ष श्रेष्ठले ‘अन्टसन्ट’ माग र अडान राख्ने गरेका कारण सहमति हुन नसकेको उच्च स्रोतले जनाएको छ ।

संघीय फोरमका वरिष्ठ नेता अशोक राई पनि सहध्यक्ष श्रेष्ठको चर्तिकलाबाट दिक्क बनेका छन् । नेता राईकी पत्नी सुशीला श्रेष्ठको नाम काटेर सहध्यक्ष श्रेष्ठ समानुपातिकमा सांसद बनेका हुन् । पार्टीमा लामो योगदान गरेकी सुशीलालाई सांसद हुनबाट उनै सहध्यक्ष श्रेष्ठले रोकेको आरोप छ ।

Published : Sunday, 2018 March 4, 11:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया