ओलीले शपथ भुलबस बिगारेका होइनन्, अझै निरंकुश बन्न चाहन्छन्
कृष्ण भट्टराई, अधिवक्ता
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले आफूलाई सम्राट घोषणा गरेपछि उनलाई राजमुकुट पहिर्याउन परंपरागत रूपमा औपचारिक समारोहको आयोजना गरियो । जब चर्चका प्रमुखले चलिआएको परंमपरा अनुसार ‘राजमुकुट’लाई उनको शिरमा पहिर्याउन लागे, यसैबेला नेपोलियनले उनलाई रोक्दै भने ‘यो राजमुकुट भूइँमा राख ! म नास्तिक हुँ, म कुनै ईश्वरको बरदानबाट सम्राट बनेको होइन । म त मेरो तरबारको कुसलताको कारण सम्राट बनेको हुँ । तसर्थ म यो राजमुकुट मेरै तरबारले लगाउँछु’भन्दै तरबार निकालेर राजमुकुट आफ्नो शिरमा लगाए । यसरी नेपोलियनले आफू सामान्य र निम्न परिवारबाट आफ्नै पौरख र कार्यकुशलताले फ्रान्सको शक्तिशाली सम्राट हुन पुगेको कुराको परिचय यसरी दिएका थिए ।
संसारका महोत्वाकाक्षी मान्छेहरू यसैगरी शक्तिशाली शाषकको रूपमा स्थापित भएका अन्य धेरै उदाहरणहरू छन् । जब मुलुक राजनीतिक र आर्थिक रूपमा धरासायी बन्दै जान्छ, जनताको जनजीवन अस्तव्यस्त हुन थाल्छ । अनि जनताहरूमा बिद्रोही मनोभावना विकसित हुन थाल्छ यस्तै अवस्थामा चतुर र महोत्वाकांक्षी व्यक्तिले राजनीतिक नेतृत्व हत्याउन पाए भनि उनको महोत्वाकांक्षी योजनामा जनताको जनसमर्थन अनपेक्षित रूपमा बढ्न सक्छ ।
नेपालको राजनैतिक ईतिहाँसमा पटक–पटक जनता, नेता भनिनेसँग ठगिएको महसुस गरेका छन् । लामो समयसम्मको राणाकाल, निरंकुस पञ्चायतकाल, बहुदलीयताको अभ्यासबाट पनि जनजीवनमा कुनै परिवर्तन महसुस नगरेका जनताहरू माओवादीको सशस्त्र बिद्रोहबाट पनि पुनः ठगिए । राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनापछि पनि हाल देखिएको सत्ताको लछाचुँडीबाट जनता वाक्कदिक्क भएको अवस्था बिद्यमान छ । वास्तवमा अब जनता एउटा यस्तो सशक्त नेतृत्वको खोजीमा रहेको अनुभूति भैरहेको छ, जसले यो सम्पूर्ण अस्तव्यस्तालाई समुल रूपमा समाप्त पारोस । एक अनुशासित समाज कायम गरोस् । यसै परिप्रेक्षमा हाल मुलुकमा घटीरहेको घटनाक्रमहरूको छोटो विवेचना र संभावित परिघटनाको बारेमा यहा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
जब मुलुकमा केपी ओलीको नेतृत्वमा नेकपाको करीव–करीव दुईतिहाईको सरकार निर्माण भयो, त्यसबेला देखिनै नेपाली कांग्रेस आफू राजनैतिक रूपमा नै विस्थापित हुने खतरा देखिरहेको थियो । मुलुकभरि नेकपाको नेतृत्वको सरकारले विकास निर्माणमा गति लिन लागीरहेको अवस्थामा नेकपा कै नेता प्रचण्डको सत्ताप्रतिको महत्वाकांक्षा दिन प्रतिदिन चुलिँदै गैरहेको थियो । नेकपा (एमाले) र माओवादको एकीकरणमा प्रचण्डको भित्री मनसाय अर्कै थियो । ओलीको स्वास्थ्य अवस्थाको बारेमा उनको अनुमान अर्कै थियो । यहि पूर्वानुमानका आधारमा छिट्टै सत्तामा पुग्ने र एमालेको देशभरिको बलियो संगठनको बलमा दीर्घकालसम्म मुलुकको राजनीतिक नेतृत्व गर्ने कुत्सित मनसायले माओवादीलाई एमालेमा विलय गराएका थिए ।
परिस्थिति फरक हुँदै गयो । ओलीको स्वास्थ्यमा अपेक्षित परिणाम देखिन छोडेपछि प्रचण्डभित्र पलाएको सत्ताप्रतिको उत्कट अभिलाषाले उनलाई भित्रभित्रै पोल्न थाल्यो । अनि पार्टी एकीकरण भएपछि नजिकबाट एमालेभित्रका कमजोर र स्वार्थी मनोवृत्ति भएका माधव नेपाल–झलनाथ खनाललाई चिनिसकेका थिए । अनि शुरू गरे यिनै एमालेभित्रैका असन्तुष्ठ पक्षहरूसंग खेल्न । स्वभाबैले बिगतमा पार्टी र सरकारमा नेतृत्वमा रहँदा जनता र पार्टीबाट लोकप्रियता कमाउन नसकेका झलनाथ–माधवको ओलीप्रति चुलिदै गरेको लोकप्रियतादेखि अनुदार र प्रतिशोधपूर्ण मनस्थिति बन्दै गइरहेको थियो । भूकम्पको बेलादेखि बढ्दै गएको ओलीको राष्ट्रवादी व्यक्तित्वको छवि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको नक्सा संसदको दुईतिहाईले पारित गर्दासम्म आकासिसकेको थियो । ओलीको यो तिब्रताको कामबाट झलनाथ खनाल, माधव नेपाल र प्रचण्ड खुसी थिएनन् । अर्कोतर्फ कांग्रेस पनि राजनीतिक रूपमा दिवालिया हुने अवस्थामा पुगेको देखिन्थ्यो । यसरी नेपालको राजनीतिमा ओली बिरोधी शक्तिहरू एकाकार हुने निर्माण हुँदै गयो ।
यहि परिप्रेक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चलखेल शुरू हुन लाग्यो । प्रचण्डको अगुवाईमा समग्र मुलुक कै नेतृत्वमा फेरबदल गर्ने तानावाना बुन्न लागियो, राष्ट्रिपतिलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अपदस्थ गर्ने र झलनाथ खनालाई राष्ट्रपति, माधव नेपाललाई पार्टी अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री बन्ने महात्वाकांक्षी कार्ययोजना बन्यो । त्यसपछि चारैतिरबाट सरकारप्रति आक्रमण शुरू गर्न थालियो । नेकपाभित्रको अन्तरकलहमा शेरबहादुर देउवा लगायतका कांग्रेसीहरू स्वभावैले पनि भित्रभित्रै मलजल गर्ने नै भए । आवस्यक परे संसदमा राष्ट्रपतिउपर महाअभियोगमा साथ दिने बचन प्रचण्ड–माधवलाई दिए । अब ओली इतर गठजोड बलियो हुन थालेको संकेत ओलीले पाएपछि पार्टीभित्रको लडाइँले अर्कै रूप लियो ।
संसदलाई यथास्थितीमा रहन दिँदा खतराको संकेत बुझेका ओलीले संसद बिघटन गरिदिए । नेकपाभित्र प्रचण्ड–माधव गुटलाई तहसनहस नगर्दासम्म मुलुकको निम्ति काम गर्न नसकिने निश्कर्षमा पुगे अन्ततः परिणाम नेकपाको अस्तित्व समाप्त भयो । मुलुकको राजनैतिक परिदृश्य नै बदलियो । उथलपुथल पूर्ण यो घटनाक्रमसम्म आइपुग्दा अदालत तथा राष्ट्रिय र अन्तर्राष्ट्रियशक्तिहरू कहाँ–कहाँ कसरी परिचालित भए भविश्यले निर्क्यौल गर्दै जाला ।
अदालतको पछिल्लो फैसलापछि नेकपाको अस्तित्व समाप्त भै एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा कायम हुन आएपछि प्रचण्ड त किनारा लागे, अब ओलीको निसाना माधव र झलनाथतर्फ सोझियो । यता पेरिसडाडाको खुला लगनगाठो फुस्किएपछि पनि भित्रभित्रै प्रचण्ड कै आदेशमा माधव–झलनाथ एमालेभित्रै केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्याइ पार्टी विभाजनको कसरतमा लागे । यसै रणनीति बमोजिम पुनः नेकपा निर्माण गरि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विस्थापित गर्दै पुरानो सपना पूरा गर्ने अभियानमा लागे । उनीहरूको यो रणनीतिलाई राम्रोसँग बुझेका ओलीले माओवादीबाट मन्त्री बनेका केही नेताहरूलाई एमालेमै रहन आवश्यक चाँजोपाजो मिलाए, उनीहरू एमालेकै केन्द्रीय नेता कायम भए । अब एमालेको केन्द्रीय कमटी ओलीको एकलौटी प्रभावको हुन पुग्यो । अर्कोतर्फ संवैधानिक र कानूनी प्रवधानहरूले उनीहरूको यो सपनालाई चक्नाचुर मात्र पारेन कि ओलीलाई जंगबहादुरको शैलीमा सत्ताको बागडोर चलाउने हैसियतमा पु¥यायो ।
प्रचण्ड र कांग्रेसको सहयोगमा ओली तथा भण्डारीलाई विस्थापित गर्ने गुरू योजनामा लागेका माधव–झलनाथको कार्ययोजना भताभूङग भएपछि रन्थनिएका माधव–झलनाथ अब पार्टीभित्रै किचलो गर्ने अर्को रणनीति शुरू गरे । एमालेभित्रै कच–कच शुरू गरेका माधव–झलनाथ समानान्तर संगठनको अभियानमा लागे । भित्रभित्रै बैकल्पिक सरकारको कसरतमा लागीरहे ।
ओली अकस्मात संसदमा विश्वासको मत लिने निश्कर्षमा पुगे । कसैले पनि अनुमान नगरेको यो निर्णयमा ओली पुगेपछि माधव–झलनाथको समूह अफ्ठ्यारोमा पर्यो । सरकार ढाल्न भित्रभित्रै विपक्षीसंग मोर्चा कसीरहेको यो समूहलाई संसदीय व्हीपको तगारोले निकै अफ्ठ्यारो पा¥यो अन्ततः विश्वासको मतको संसदीय कार्यवाहीमा अनुपस्थित भएर ओलीको नेतृत्वको संविधानको धारा ७६ (२) बमोजिमको सरकार ढाल्न सहयोग पु¥याए । बास्तवमा यती बेला नै ओलीले संसदका विद्रोही २८ सांसदलाई संसदबाट हटाइदिन सक्थे ।
यसो गर्दा संसदको सम्पूर्ण संख्या घट्न गएर विपक्षी गठबन्धनको बहुमत पुग्न जाने र संविधानको ७६ (२) कै सरकार बन्न सक्ने अवस्थालाई विश्लेषण गरी उनीहरूमाथीको कार्यवाहीलाई थाँती राखे । जसपाभित्रको महन्त ठाकुर समूहलाई तटस्थ रहने बलियो परिस्थितिको सिर्जना गरे । अन्ततः विपक्षीहरूको भरमग्दुर प्रयत्नका बाबजुद पनि ७६ (२) को सरकार बनेन । संविधानको धारा ७६ (३) बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भए । वास्तवमा ओलीको मिसन अन्ततः संसद बिघटन नै थियो । यसको निमित्त सर्वोच्च अदालतले बिगतमा औल्याएको संविधानको धारा ७६ को १, २, ३, ४ र ५ को प्रक्रिया नै बाधक बनेको हुँदा उनी यो प्रक्रिया पूरा गरी आफ्नो मिसन पूरा गर्ने अभियान अनूरूप नै चलिरहेका थिए ।
संसदभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा ७६ (४) को प्रावधानको सटिक एवम् चलाखीपूर्ण ब्याख्या गर्दै संसदको यथास्थितीको संरचनामा आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने जिकिर गर्दै धारा ७६ (५) को सरकार निर्माणको लागि मार्ग प्रशस्त गरेको सिफारिस गरे । विपक्षी गठबन्धन रणभूल्लमा पर्यो । एकातिर विपक्षीहरू प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको यो निर्णयलाई असंवैधानिक कदमभन्दै विरोध गरे । अर्कोतर्फ शेरबहादुर देउवालाई समर्थन गर्दै एमाले कै २६ सांसदसहित १४९ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीको दाबी प्रस्तुत गरे । ओ
ली स्वयम् पनि महन्त ठाकुर समूहको सहयोगमा १५३ सांसदको समर्थनको दाबी प्रस्तुत गरे । यसरी संसदमा हास्याँस्पद अवस्था त यो देखियो की सांसदहरूको वास्तविक संख्या २७१ कायम रहेकोमा दुबै समूहमा गरी प्रधानमन्त्रीको लागि समर्थन गर्ने सांसदहरूको संख्या ३०२ पुग्यो । अन्ततः दुबैतर्फको दाबी रित नपुगेको भनि संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिमा अन्तरनिहीत अधिकार बमोजिम संसद बिघटन भयो । ओलीको चाहना बमोजिमको एउटा अध्याय संवैधानिक प्रक्रिया पूरा गरेर नै समाप्त भयो ।
विपक्षी गठबन्धनले राजनैतिक र कानूनी लडाइँ जारी राख्ने सहमति गर्दै पुनः वाध्यतापूर्वक अदालत पुगेका छन् । ओलीलाई पदमुक्त गर्न बनेको यो गठबन्धनमा योजनाबद्धरूपमा सामेल हुँदै आएको माधव–झलनाथ समूहभित्रका केही अस्थिर सदस्यहरू भने छिनछिनमा क्यम्प परिवर्तन गरिरहेका छन् । उनीहरूमा एमालेबाट बाहिरिनुपर्दाको अवस्था र रसातलमा पुग्न सक्ने आफ्नो राजनीतिक भविश्यको चिन्ताले किमकर्तव्यविमुख तुल्यएको छ । यो ब्यवहारलाई पञ्चायतकालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको चर्चित भनाई ‘मुसा प्रवृत्ति’सँग दाजिएको छ । संसदभित्रको एउटा अध्याय सकिएपछि अब भने ओलीपार्टीभित्रको फोहोर सफा गर्ने अभियानमा लागेको अनुभूति हुँदैछ ।
माधव–झलनाथ समूहको लामो समयदेखिको असंहिष्णुता र दुश्मनीपूर्ण ब्यवहारको छिनोफानो लगाउने मनस्थितिमा पुगेको देखिन्छ । पछिल्लो समय राष्ट्रियसभाको निर्वाचनमा यो समूहले गरेको घातबाट विक्षिप्त पार्टीप्रति कुनै हालतमा पनि यो समूहलाई सहानुभूति राख्न नहुने दवाव केन्द्रलाई दिई रहेको छ । अब ओली यो समूहलाई पनि छिन्नभिन्न पार्दै अन्ततः कार्यवाहीको निशाना प्रमुख नाइकेहरूमा सोझ्याउँदै छन् । यसैको पहिलो कडीको रूपमा ११ जनालाई पार्टीको साधारण सदस्यबाट निस्काशन गरिएको छ । समूहका बाँकी मतीयारहरूलाई पनि समय मै आत्मसमर्पण नगरे यही हविगत हुने स्पष्ट संकेत दिइरहेका छन् ।
विपक्षी गठबन्धनको आयु कति होला भन्ने प्रश्न हो नेपाली कांग्रेसको नेतृत्व लगायत सम्पूर्ण कांग्रेस मुलुकमा साच्चिकै चुनाव हुने हो भने परिणाम आफ्नो पक्षमा आउने विश्लेषण गरिरहेका छन् । कम्युनिस्ट पार्टीहरूमा भएको विभाजन, जसपामा देखिएको अन्तर्कलह र अन्य पार्टीहरूको निरिहताका बीचमा चुनावी परिणाम कांग्रेसको पोल्टामा आउने अनुमानमा जसरी–तसरी चुनावी माहौल बनोस् भन्ने भित्री योजनामा छन् । हुन त कांग्रेस सत्तामा पुग्न जस्तोसुकै आत्मघाति कदम चाल्न पछि पर्दैनन् भन्ने तथ्य पनि छ । माधव–झलनाथ र प्रचण्डको वैशाखी टेकेर प्रधानमन्त्री बन्न हालै खेलेको कच्चा खेलको पटाक्षेप भएपछि आम रूपमा छर्लड्ग भएको छ । अझैपनि अदालतले प्रधानमन्त्रीमा पदस्थापन गरिदिने झिनो आशा उनीहरूमा मरेको छैन । दुई दिनपछिको स्थितिको बारेमा पूर्वानुमान र सुझबुझ पुर्याउन नसक्ने कांग्रेसको नेतृत्व प्रचण्ड र माधव–झलनाथबाट पाउन सक्ने धोका र साजिशप्रति सचेत हुन सकेको देखिदैन ।
समग्रमा कांग्रेस यतीबेला पर्ख र हेरको रणनीतिमा हुनुपर्छ । कथंकदाचित पुनः संसद पुनर्स्थापना भयो भने तदअनुरुपको कार्ययोजना बनाउने अन्यथा चुनावलाई अंगिकार गर्ने भूमिका कांग्रेसको लागि स्वभाविक छभने प्रचण्ड जसरी–तसरी माधव–झलनाथ समूहलाई मलजल गर्दै एमालेको शक्तिक्षिण गराउन तल्लीन हुनेछन् । प्रचण्ड सकेसम्म छिट्टै माधव– झलनाथ समूह माओवादीमा विलय होस् र थोरै भएपनि उनीहरूको साथसहयोगमा माओवादीको समाप्त हुन लागेको साख थोरै भएपनि जोगियोस् भन्ने चाहन्छन् । एमालेका आम कार्यकर्ताबाट करीव–करीव वहिस्कृत माधव–झलनाथ समूह ‘नत बाहिर, न त भित्र’को अवस्थामा रहेका छन् ।
निरीह अवस्थामा रहेको यो समूह अन्ततोगत्वा कुनै नाममा पार्टी दर्ता गरि माओवादीसंग पार्टी एकीकरण गर्दै पुरानो नेकपालाई पुनःजीवित गरि सोही नामबाट आगामी चुनावमा जान सक्ने संभावना प्रवल रहेको छ । अर्कोतर्फ हरेक परिस्थितिलाई अत्यन्त सुझबुझका साथ आफ्नो पक्षमा सफलतापूर्वक परिणाममुखी बनाउँदै आएका ओली जबसम्म परिस्थिति पूर्णतः आफ्नो अनुकूल हुँदैन तबसम्म आफ्नो रणनैतिक कौसलता कायम राख्दै अन्ततः आगामी निर्वाचनमा एमालेलाई पुनः शक्तीशाली पार्टीको रूपमा स्थापित गर्ने संभाबना देखिएको छ ।
राजनैतिक परिस्थितिले महत्वाकांक्षी बनाउँदै लग्यो भने उनीमा पलाउँदै गरेको शक्ति आर्जन गर्ने कौशलता र मुलुकको वर्तमान परिस्थितिले उनलाई नेपोलियन बोनापार्ट हुने दिशातर्फ उत्प्रेरित नगराउँला भन्न सकिँदैन । हालै उनले प्रधानमन्त्रीको रूपमा राष्ट्रपतिसमक्ष सपथ लिँदा ईश्वरको नाममा प्रतिज्ञा गर्न अस्वीकार गर्नुलाई भुलबस गरेको भनि विश्लेषण गर्नु मुर्खता हुनेछ । यसलाई नेपोलियनले तरबारले राजमुकुट पहिरिएको घटनासंग दाज्नु प्रासंगिक हुनेछ ।
(हाल लण्डनमा बस्दै आएका लेखक २०४१ सालमा रत्नराज्य क्याम्पस प्रदर्शनी मार्ग र २०४५ सालको मीनभवन कमर्स क्याम्पसको स्ववियु सभापति हुन् ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया