ठाकुरलाई उपराष्ट्रपतिमा प्रस्ताव, पुनलाई गम्भीर धोका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाललाई उपराष्ट्रपति पदसहित सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार ओलीले राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति दिने प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओलीले राजपालाई दुई वटा मन्त्रालयसहित सरकारमा सहभागी गराउन प्रयास गरिरहेको राजपा नेपालका एक पदाधिकारीले बताए ।

तर, राजपा नेपालले कम्तिमा चार वटा मन्त्रालय दिनुपर्ने माग राखेको छ । यद्यपि, उपराष्ट्रपति पाएमा राजपा दुई मन्त्रालयसहित सरकारमा जान तयार रहेको एक नेताले बताए ।

यसअघि प्रधानमन्त्री ओली र राजपा नेपालका संयोजक ठाकुरबीच बिहीबार साँझ टेलिफोन वार्ता समेत भएको थियो ।

सरकारमा सहभागी हुन लचक देखिएको राजपा नेपालले शुक्रबार आन्तरिक परामर्श गरेको छ । बबरमहलस्थित पार्टी मुख्यालयमा उपराष्ट्रपति र प्रधानमन्त्री ओलीद्वारा सरकारमा सहभागी हुन आएको अफरका बारेमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम नेपाललाई पनि सरकारमा सहभागी गराउँदै छन् । संघीय फोरमले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

एमाले र माओवादी केन्द्रबीचको पूर्व सहमतिअनुसार उपराष्ट्रपति माओवादी केन्द्रलाई दिने जनाइएको थियो । राजपा नेपाल सरकारमा सहभागी हुने भएपछि उपराष्ट्रपतिमा दोहोरिने नन्दकिशोर पुनको योजना चकनाचुर हुने भएको छ ।

Published : Friday, 2018 March 9, 5:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया