जनताको मन जित्ने जलजलाको बजेट, स्वास्थ्यमा केन्द्रित
लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाको बजेटले कोरोना महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
लामाखेतमा बुधवार सम्पन्न १०औँ गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले प्रस्तुत गरेको रु.४५ करोड, १५ लाख ५० हजार रुपियाँको बजेटमा ५०० मजदुरहरूका लागि मजदुर सञ्चयकोष कार्यक्रम पास गरेको छ ।
श्रम गरेर जीविकोपार्जन गर्दै आएका गाउँपालिकाभित्रका पाँच सय मजदुरलाई पहिलो चरणमा यो सञ्चयकोष कार्यक्रममा सहभागी गराइनेछ ।
बाँकी मजदुरलाई समेत यो कार्यक्रममा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जानकारी दिएका छन् ।
कोरोना महामारी रोकथाम र उपचारमा गाउँपालिकाले काम गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल स्वयं कोरोनाविरुद्धको अभियानमा जोखिम मोलेर २४सै घण्टा फिल्डमा छन् ।
गाउँपालिकाले सबै नागरिकको पीसीआर परीक्षण र संक्रमितको उपचार निःशुल्क गरिदिँदै आएको छ ।
मृत्यु भएका परिवारलाई २० हजारका दरले राहत दिन बजेट विनियोजन गरिएको अध्यक्ष मल्लले बताएका छन् ।
बजेटमा एक करोड ६० लाखको अध्यक्ष हातेमालो कार्यक्रम समेत समावेश गरिएको छ । यो बजेट अशक्त र असहाय बालबालिकाको शिक्षा तथा स्वास्थ्य र दलित, महिला तथा विपन्नहरूको आयआर्जनका लागि खर्च गरिने अध्यक्ष मल्लले बताए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि साढे एक करोड रूपियाँ विनियोजन गरिएको छ । निर्माण हुन बाँकी वडा नं. २ र ८ का वडा कार्यालय भवन निर्माणको लागि समेत बजेट छुट्याइएको छ ।
गाउँ सभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले कालीगण्डकीको ढुङ्गा गिट्टी र बालुवालाई ब्यवस्थित ढंगले सञ्चालन गरि आन्तरिक आयलाई वृद्धि गर्ने, गाउँपालिकाभित्रका सबै सडकलाई स्तरोन्नति गर्ने, गाउँपालिकाभित्रको पर्यटन, कृषि, पशुपालन र जडीबुटीलाई प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
बजेटमध्ये चालुतर्फ आठ करोड र पुँजीगततर्फ रु १५ करोड २३ लाख ५० हजार रुपियाँ र संघीय सरकारबाट प्राप्त शसर्त अनुदान रु.२१ करोड ९२ लाख रुपियाँ बिनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले जानकारी दिएकी छिन् ।
गाउँसभामा अध्यक्ष मल्लले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष पुनले बजेट प्रस्तुत गरेकी थिइन् ।
जलजलाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष जोड दिएको छ ।
बजेटको ठूलो हिस्सा पूर्वाधार र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षका कार्यक्रमलाई पनि आगामी वर्ष निरन्तरता दिने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया