गैरदलित साथीलाई मेरो चिट्ठी, आउनुस् यसरी कुरा बुझौँ
२०७८–३–१२
ओमप्रकाश सुनार
प्रिय साथी,
झर्को नमानी पढ्नु । प्रिय साथी म तिमीलाई एउटा चिट्ठी लेख्दै छु । आज मलाई फरक चिठी लेख्न मन लाग्यो । आशा छ तिमीले पक्कै पढ्नेछौं ।
साथी तिमीलाई थाहा छ । अहिले जात व्यवस्थाको, विभेदको चर्चा परिचर्चा चलिरहेको छ । हो विषय अहिलेको सामाजिक सञ्जालदेखि प्रत्येक चियागपमा असारे पानीको कुहिरो जस्तै व्यक्तिपिच्छे मडारिएको छ । सिंगो दलित समुदायको भोगाइ, वर्तमानसंगै कानून राज्य व्यवहार र आरक्षण चिट्ठी लेख्दै छु । दलितको भोगाइको विषयलाई लेख्न थाले भने सायदै पुस्तक नै बन्ला तर, आज म तिमीलाई महत्वपूर्ण केही मैले भोगेको विषयमा लेख्दैछु । स्वतन्त्र भएर पढ्नु कुनै पनि पूर्वआग्रह नराखी पढ्नु ।
अहिले गैरदलितले दलितको मुद्दामा बोल्दा वा लेख्दा तथा व्यवहार र वास्तविकतामा अर्कै छ । म तिमीलाई केही कुरा लेख्दैछु । यथार्थको धरातलमा टेकी भोकै कुराहरू गर्दैछु । हामी धेरै टाढा जानु पर्दैन । दलितलाई कसरी चरम विभेद भोगिरहेको भनेर मेरो समुदायले सानै उमेरबाट विभेद भोग्दै आइरहेको छ । तिमी त्यसको रमिते साक्षी भनिरहेका छौं । सोँच त साथी तिम्रो समुदायको घर वरिपरि दलितलाई कसरी हेरिन्छ अपमान, विभेद गरिन्छ ? नियाल, तिमीले मैलेसंगै बिद्यालयमा पढ्दाको समय । शिक्षकले शिक्षा दिँदा लाग्छ अब विभेद हटिसकेको छ । भोलिपल्ट शिक्षकको घरमा जाँदा विभेदको शिकार बन्नु पर्छ। अनि त्यस्तो दुर्व्यवहारको शिक्षाले मलाई विद्रोही नबनाएर के बनाउँछ त ?
तिमीलाई थाहा छ नि तिम्रो हजुरबुबा र बुबासँग मैले बसेर चिया खाँदा सँगै बसेको ठाउँबाट मलाई अपमान गरी हटाइन्छ । अनि ममा विद्रोह नभएर के हुन्छ त ? तिम्रो घरमा संगै काम गर्ने दलित र गैरदलित संगै काम गर्न हुने, खाना खाजा किन दलितलाई छुट्टाएर घरको बाहिर आगनको डिलमा राख्छौँ त ? छोइन्छ भनेर मैले सफा गरेर राखेको वस्तु सुनपानी छर्केर मात्रै भित्र लान्छौ । किन यस्तो व्यवहार तर्कसंगत उत्तर छ तिमीसँग साथी ? म मेरा गैरदलित साथीसँग उनीहरूको घरमा जाँदा भन्छौं– के गर्छौ यार म त छुवाछुत मान्दिन तर हजुरबुबा आमा बुबाले थाहा पाए भने नराम्रो हुन्छ । प्रतिरक्षा आफै गर्छौ यो कस्तो स्वाभीमानको व्यबहार हो तिम्रो ?
तिमीले बुवाआमालाई बुझाउन, परिवर्तन गराउन सक्दैनौं अनि फेरि नेतृत्व गर्दै समाज, देश कसरी परिवर्तन गर्छौ भनेर विश्वास मान्नु ? पानी लिन जाँदा तिम्रो खाने पानीको कुवा धारामा छोइन्छ । जुठो हुन्छ भनेर रोक लगाउँछौ । यो कस्तो मानवविहीन व्यबहार हो ? अनि ममा विद्रोह नआएर के आउँछ त ?
मलाई बाटोमा देख्दा तिम्रो शुभ साइत वा काम बिग्रन्छ भनेर तर्केर हिँडछौ । मैले तिम्रो घर बनाउँछु, मन्दिर बनाउँछु, मूर्ति त्रिशुल बनाउँछु । बाजा बनाउँछु । तरबार बनाउँछु । जुत्ता, कपडा सिलाउँछु । तिमीले बनाएको भए तिमी वैज्ञानिकको उपाधि पाउथ्यो होला । मैले आज अपमान र विभेद पाएँ । आखिर किन ? बाजा बजाएर तिमीलाई नचाउँछु, गीत गाएर तिमीलाई हसाउँछु । त्यही मन्दिरमा मलाई प्रवेशको निहुँमा कुटपिट गर्छौ । अनि तिनै भगवानको भक्त होउ भनेर म कसरी पत्याउनु ? तिमी पढेर डाक्टर, पाइलट, इञ्जिनियर बन्छौ । म दुई चार कक्षा पढे भने मेरो समुदायको विभेद र अन्यायपूर्ण व्यवहारको भुक्तभोगी दृश्य देख्दा विद्रोही बन्न मन लाग्छ । किनकी विद्रोही भाव तिमीले देखाएको बाटो हो । मेरो भोगाइको हो ।
तिमी देश निर्माण विकासको काम गर्न चाहन्छौ । तिमी राज्यको सत्ता परिवर्तन गर्न चाहन्छौ । राजनीतिमा सु–संस्कृत बनाउन खोज्छौं । दलितलाई गर्ने तुच्छ व्यवहार किन परिवर्तन गर्दैनौ ? जवाफ छ ? मेरो समुदायले तिम्रो स्वाभीमानलाई सम्मानका साथ आधार गर्दा तिमीले मेरो स्वाभीमानमाथि अपमान, विभेद गरेर छेदबिछेद बनाइदिन्छौ भने म विद्रोही नबनेर के बन्छु होला ? ममा आक्रोश छ । चरम विभेदको भोगाइ छ । विद्रोहीको भाव छ । म तिमीलाई यो चिठ्ठी सभ्य भएर लेख्दैछु । किनकी असभ्य भएर अपमान गरि लेख्दा बोल्दा उसको स्वाभीमान र प्रतिष्ठा कति चोट पुग्छ ? मुटुमा बाण रोपिए जस्तै गरि त्यो पीडा मैले भोगेको छु । तिमी बोल्दा लेख्दा वास्तै गर्दैनौ । मलाई कति चोट पुग्छ छ भनेर है ?
देश निर्माणको जिम्मा तिमी र मेरो हो । यो समाज हाम्रै हो । तिमी बिद्रोह ल्याउने व्यवहार गर्छौ । तिमी हामी सबै सुखी समृद्धि समानता चाहान्छौ । त्यो सगरमाथाको हासेको जस्तो । लालीगुँरास फुलेको जस्तो उज्यालो मुहार जस्तै मलाई पनि मिलेर बस्ने र हास्ने मन छ । अहिले मेरो मन सगरमाथा जस्तो हाँस्यको छैन । लालीगुँरास जस्तो उज्यालो पनि छैन् । म विभेदमा बाँचीरहेको छु ।
तिमीलाई थाहा छ प्रजातन्त्रको लागि २००७ सालमा, पञ्चायतविरूद्ध, जातीय विभेद लगायतका अन्य मुद्दाहरूमा २०६२–६३ मा दलित र गैरदलित मिलेर परिवर्तनको लागि लडेको बिर्सेउ ? घरपरिवार, छोराछोरी, बुवाआमा, श्रीमती त्यागेर शहीद हुन र छातीमा गोली, बारुद खान तयार भएको होइन र ? तिम्रो र मेरो अगाडि दलित र गैरदलितहरू गोली र बारुद खाएर छट्पटीले आमाभन्दै आँखा अगाडि ढलेर आँशु रगतको आहाल बगेको बिर्सेउ ? बाबुआमा छोराछोरी श्रीमती नभनी परिवर्तनका लागि लडेको मैले आन्दोलनमा विपक्षीलाई गोली हान्दा हान तिमी जातीय विभेद अन्त्य भएको हेर्न चाहन्छौ भनेर मलाई तिमीले हौसला दिएको भुल्यौँ ? मैले व्यवस्था परिवर्तनको लागि तिम्रो आँखा अगाडि कसरी गोलीबाट हजारौले बलिदान दिएको बिर्सेउ ? सम्झँदा पनि मलाई छट्पटी हुन्छ ? आन्दोलनको परिणाम आज हाम्रो व्यबहारमा नदेख्दा दिक्क लाग्छ । शहीदको रगतले नेपाली भूमिको माटो मुछिएको हो । आजको यो ब्यवस्था देख्दा धिक्कार लाग्छ । मैले परिवर्तनको साहस बोकेको छु । आश बोकेको छु । स्खलित हुने छैन ।
तथ्य र कानूनका कुरा
नेपालमा संविधान तथा अन्य कानूनको पानाहरूमा विभेद अन्त्यको प्रावधान राखेको वर्षौंवर्ष भयो । वर्ग जातीय मुद्दा बोकेर युद्ध छेडिएको धेरै भयो । समाजमा सबै किसिमका जातीय छुवाछुत अन्त्यका लागि कानून निर्माण भएर कार्यान्वयन शुरु भएको पनि वर्षौं भयो । छुवाछुत तथा भेदभाव कसुरलाई निम्त्याउने कानूनको कठघरामा सजिलै उभिन सकेका छैनन् ।
नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक धारा ४० मा दलितको हक भनेर मौलिक हकको रुपमा प्रचलनमा रहेका छन् । जातीय भेदभाव (कसुर तथा सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता २०७४, को परिच्छेद १० मा भेदभाव तथा अन्य छुवाछुत व्यबहारसँग सम्बन्धित कसुरको व्यवस्था गरिएको छ । जसमा जातीय विभेद गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवानाको पनि व्यवस्था रहेको छ ।
यी कानूनहरूको सहारा लिएर विभेदविरुद्धमा कसैले कानूनी कारबाही चलाउँछ भने मेरो या दलित समुदायको गल्ती हो ? किन १० हात उफ्रन्छौ ? हामीले कारबाही अगाडि बढाउँदा किन तिमी र तिम्रो सिंगो समुदाय डग्मगाउँछ ?
परिवर्तन बिस्तारै हुन्छ भन्छौ ? आजको परिवर्तन पनि त यत्तिकै भएको थिएन होला ? आवाज त उठे, कलम पनि चले, आन्दोलन नि भए । आज परिवर्तन हुन्छ भनेर मुख दही जमाएर अन्याय सहनु कदापि हुँदैन । यदि विभेद गर्नेलाई कारबाही गरिएन भने विभेद गर्ने अपराधीले झनै अपराध गर्ने प्रशय पाउँछ ।
तिमी त भन्छौं दालमा ढुङ्गा त भैहाल्छ नि ? परिवर्तन भएकै छ नि भनेर ? जाती ब्यवस्थामा आधारित संरचना र विभेदको रक्षार्थको लागि प्रतिरक्षा गरेको देख्दा कस्तो तुच्छ सोँच र क्रुर व्यवहार गर्दछौं ? तिम्रो बुझाइमा दाया जागेर आउँछ ।
जातीय विभेद र छुवाछुत अन्त्यको लागि प्रतिरोध गर्ने बुलन्द आवज उठाउने, विभेदको विरुद्धमा प्रतिरोध गरौं, कानून अनुसार अदालतको कठघरामा उभ्याउने, कार्य गरौं । होइन भने यस्ता मानवविहीन र गैरकानूनी विभेदका जघन्य अपराध र अपराधीलाई पालनपोषण गर्ने काम बन्द गरौ । न्याय मार्गमा तुच्छ र कुरुप मुखडो लगाएर तघारो नबनौ यसैमा भलाई हुन्छ ।
धेरै लड्यो, आवाज उठायौं, कलम चलायौँ, बहस ग¥यौँ । तिम्रो मानसिक चेतनामा दलित समुदायप्रति गरिने मानवीयहीन व्यवहारबाट मुक्त हुन सकेनौं । मुक्तिको लडाइँका कुरा गर्छौ, बहसका कुरा गर्छौ, बौद्धिकता छाँट्छौ । सामाजिक सञ्जालको चहलपल दिन्छौ । व्यबहार तिमी फेरि उस्तै गर्छौ भने यी सब कुराको कुनै तुक छैन ।
सधै भरी हिनताबोधले डसिरहन्छ । दोस्रो दर्जाको नागरिक भएको महसुस हुन्छ । मेरो हजुरबुबाको पुस्तादेखि बुबाको र मेरो पुस्तासम्म आउँदा विभेदको स्वरुप परिवर्तन भएको हो । विभेद अन्त्य भएको रहेनछ ? शिक्षित भनिने काठमाडौंमा यस्तो विभेदको दयनीय अवस्था छ भने राजधानीभन्दा धेरै टाढाका बिकट दुरदराजमा के होला अवस्था ?
तिम्रो सुन्दर मुहार ऐनामा हेर्दा जति तिमी आकर्षक देखिन्छौ । हामीलाई गर्ने व्यवहार एकचोटी आँखा चिम्लेर दलितको दृष्टिले तिमीले गर्ने विभेद हेर त ? तिमी आलोचनात्मक चेत भएको मानव हौ भने एकचोटी आफूलाई नियालेर हेर ।
हामीले लडेर ल्याएको लोकतन्त्र, समतामूलक समाज, विधीको शासन, समृद्ध नेपाल देख्ने चाहाना छ । आजसम्म पनि जातीय विभेद अन्त्य गर्न नचाहने कस्तो तिमीमा ब्राह्मणवादी सामन्ती सोँच र व्यवहार छ ।
आज मैले लेख्दा बोल्दा तिम्रो मन दुखेको होला । अब सोँच त तिमीले मलाई हजारौ वर्षदेखि चरम विभेदको पीडा दिँदा कस्तो भयो होला ? मलाई शब्दमा खोजेर देखिदैन । तिमी समाजको यथार्थ नियाल ।
जातीय बिद्रोह मच्चाउने काम नगर
वर्षौदेखि मेरा हजुरबुबा र बुवाको पुस्ताले चरम विभेद भोगे, वर्तमान स्थितिमा पनि एउटा अन्तरजातीय प्रेमविवाह गर्ने दलित युवालाई अपराधीलाई पनि गर्न नहुने सजाय सरह तड्पाइ तडपाइ मा¥यौ ? अझै कति नवराजलाई मार्ने हौँ ? सार्वजनिक क्षेत्रमा दलित युवालाई बाँधेर कहिलेसम्म यातन दिन्छौं ?
दलित बालिकाको बलत्कार मुद्दा मिलापत्र गराएर पीडितलाई मृत्युको मुखमा पु¥याउँछौँ ? अपराधीलाईक कति प्रशय दिन्छौ ? हाम्रो समाजमा बोक्सीको आरोपमा धेरै दलित महिला मार्छौ ? बलात्कार गर्छौ ? यो शहरमा दलितलाई बाँच्न र बस्नको लागि बाध्यताबस आफ्नो पहिचान लुकाएर बस्न बाध्य बनाएका छौं । यो हजारौँ विद्यार्थीको पीडा हो । अनि मलाई तिमी विद्रोही र मानवहीनको दर्जा दिन्छौं भने तिमीलाई अपराधी भन्छु । वर्षौंदेखि स्वेच्छाचारी ढङ्गबाट विभेद गर्दै आएको स्वेच्छाचारी सामन्ती भन्छु ।
अहिले मेरो आक्रोश र आन्तरिक द्वन्द्वको बहकाव तिमीले निर्माण गरेको संरचनाको उपज हो । यो उपजबाट उत्पन्न भएको आक्रोश तिमीले स्वीकार्नुपर्छ । आत्मालोचना गरेर, तिमीले निर्माण गरेको उपजको परिणाम भोग्नै पर्छ । तिमीले नबोकी कसले भोग्छ त ?
आरक्षणको विषय
आरक्षण त उत्पीडित समुदायको हकमा लागु हुने एउटा कार्यक्रम हो । लामो समयदेखि पछाडिपारिएका समुदायलाई सहानुभूतिपूर्वक दिएको उत्थानको नीति हो । पछाडि पारिएका समुदायलाई सीमित समयसम्म उपस्थित हुन ल्याइएको नीतिगत व्यवस्था हो । यो आरक्षणको सम्बन्धमा नेपाललाई मात्र नहेर विश्व समुदायलाई हेर । भारतसँगै धेरै मुलुक छन् जसले उत्पीडित समुदायलाई आरक्षणको नीति लागू गरेका छन् । अब तिमी भन्छौ हामीलाई किन आरक्षण नदिएको भनेर ? ध्यान दिएर हेर अब तथ्यगत विषयमा प्रवेश गरौं । ऋग्वेदमा उल्लेख भए अनुसार निम्न अनुसार वर्गीय व्यवस्थाबाट जात व्यवस्थाको शुरु भयो ।
१. ब्राह्मण – नीतिनिर्माण गर्ने, ज्ञान आर्जन गर्ने, भनेर तोकियो ।
२. क्षेत्री – शासन र प्रशासन चलाउने भनेर तोकियो ।
३. वैश्य – सेवामुलक ब्यापार गर्ने, ब्यवस्थापन गर्ने भनेर तोकियो ।
४. शूद्र – श्रम गर्ने र भौतिक चिनाएका काम गर्ने भनेर तोकियो ।
अब इतिहासलाई गहिरो तरिका हेर ? ब्राह्मण, क्षेत्रीले आरक्षण पाएका रहेछन् कि रहेनछन् ? अब त थाह भो होला नि ब्राह्मण र क्षेत्री कुन तहमा रहेछन् माथिको संरचना हेर त ? अझै भन्छौ आरक्षण या कोटाबाट पीडित भयौ भनेर ? ब्राह्मण पुराण पढे, ज्ञान आर्जन गरे नीति निर्माण गर्ने पहुँचमा पुगे, यत्तिकै ब्राह्मण भएकै आधारमा हेर त । शुद्र (दलित) ले पुराण, वेद पढ्न खोज्दा जिब्रो काटियो । शिक्षाबाट वञ्चित गरियो । सामन्ती शासनको प्रयोग गरि हाम्रो जमीन खोस्यौ । दास बनायौ । शासन प्रशासनमा क्षेत्रीको हालीमुहाली भयो । व्यापार तिनले नै गरे । शुद्र (दलित) समुदायलाई थिचोमिचो पारेर अहिलेको अवस्थामा आएका होइनौं ? इतिहास यति छिटै किन बिर्सन्छौँ ? अनि अध्ययन नगरी अरूको आत्मसम्मानमा अपमान गर्ने यो कस्तो प्रवृत्ति हो ?
अनि अहिले दलित समुदायले जम्मा ९ प्रतिशत आरक्षण कोटा पाउँदा तिमीलाई त्यस्तो ज्यादती हुन्छ ? अहिले भन्छ कोठामा लगेर कोटामा जोड्ने ताइनतुइको कुरा किन गर्ने ? सामान्य सुझवुझ भएको ब्यक्तिले त्यति कुरा किन नबुझ्ने ?
अनि तिमीलाई दलित समुदायले पाएको आरक्षणले संकट पार्यो ? राष्ट्रलाई घात भयो ? आरक्षणले हामीलाई असक्षम किन देख्छौँ ? पात्र होइन प्रणाली बनाउनलाई आरक्षण दिएको हो । इतिहास देखेनौ तिमीले दलितले भन्दा ब्राह्मण क्षेत्रीले सयौं गुणा आरक्षण खाएर दोहोन गरेका छौँ । यो व्यवस्थामा आएका हुन् । टुप्पी कसेर मात्रै होइन इतिहास हेर्नु आरक्षणकै ब्यवस्थामा टेकेर आएका हुन् ब्राह्मण पनि यो व्यवस्थासम्म । आरक्षण किन, कसलाई, कसरी, के को लागि दिने भनेर पहिले अध्यान गर्नु पर्यो यति कै बोल्ने ?
इतिहास र वर्तमानलाई विश्लेषण गरौं । अनि मात्रै अभिव्यक्ति प्रस्तुत गरौं । बोल्ने स्वतन्त्रता तिमीलाई र मलाई पनि छ । सहज सबैलाई छ । कसैको स्वाभिमानमा चोट पुर्याउने गरेर बोल्ने अपमान गर्ने कसैलाई छुट छैन । यस्ता काम बन्द गर्नुपर्छ । बरु बुझिएन भने बहस गरौं । हैन भने अपमान अन्त्य गरौं ।
१९१० को मुलुकी एनेमा जातको आधारमा विभेदकारी दण्ड सजाए र कानूनको व्यवस्था तोकियको थियो । २०२० को नयाँ मुलुकी ऐनमा जातीय भेदभावलाई प्रश्रय दिने कानूनको अदलको महल १०(क)मा विभेदकारि दफा थियो । जसमा सनातनदेखि चलिआएको परम्परालाई छुवाछुत मानिने छैन भनेर उनले उल्लेख थियो । पछि मानबहादुर विश्वकर्माले नेपाल सरकारको कानून न्याय संसदीय मन्त्रालय विपक्षी बनाएर मुद्दा हालेर त्यो महल खारेज गरियो ।
एक्काइसौं शताब्दीमा पनि कानूनमा यस्ता कुराले प्रश्रय दिँदै आएको तिमी विभेदकारी सोँचको ब्यवहार त गर्ने नै भयो होइन ? अब यो लडाइँ पात्रसँग भन्दापनि प्रवृत्तिसँग हो । जात व्यवस्थामा आधारित संरचना र राज्यसंगको लडाइँ हो ।
हो रूपा सुनार विभेदको विरुद्ध लड्ने साहास गरिन् । रुपा सुनार एकजना व्यक्तिले विभेदकारी व्यवस्थाको पात्रको विरुद्धमा आवाज उठाउँदा लड्ने कार्य स्वागतयोग्य छ । प्रेरणाको रूपमा रहनेछ । अनि किन १० हात उफ्रन्छौँ ? अब त कोही पनि विभेद सहेर बस्ने होइन । अन्यायविरुद्ध लड्ने हो ।
हो म स्वीकार्छु दलितभित्र पनि विभेद छ । ब्राम्हणभित्र पनि विभेद छ । उपाध्याय र जैसीमा पनि विभेद छ । अब दलितले दलितलाई गरिने विभेद होस् या गैरदलित दलितलाई गर्ने विभेद वा उपाध्यायले जैसीलाई गर्ने विभेद जोसुकैले विभेद गरेपनि अब यसलाई बहिष्कार गर्नका लागि कानून अनुसार त्यसलाई कारवाही गर्नुपर्छ । अनि मात्रै कानूनको कार्यान्वयन हुनेछ ।
आउ तिमी र म यो विभेद, छुवाछुतविरुद्ध हातेमालो गर्दै आवाज उठाउ, कलम निरन्तर चलाउ, बहस गरौं समाधानको निम्ति आफूबाटै सुरु गरौं । परिवार, समाज र देशम विभेद छुवाछुत अन्त्य पक्कै परिवर्तन हुनेछ । हामी सुन्दर नेपालको एउटा घरमा बसेको भाइचारा जस्तै मिलेर बसौं । अब पनि मैले छोएको तिमीलाई किन नचल्ने ? तिम्रो चेलीबेटीलाई प्रेम गर्दा, विवाहा गर्दा हामी मर्न नपरोस्, तिम्रो चेली हामीले स्वीकार्ने तिमीले किन नस्वीकार्ने ? आउ अब मिलेर यो विभेद अन्त्य गरौ । अन्यायविरुद्ध लडौँ । तिमी पराइ, म पराइ किन ? आउसंगै मिलेर हाम्रो सुन्दर घर नेपाल निर्माण गरौं । साच्चै गौतम बुद्धले दिएको ज्ञानको ज्योति जस्तो, सगरमाथाको उचाइँ जस्तो विश्वमा हाम्रो पहिचान र स्वाभीमान कायम गरौँ ।
पक्कै केही सोँचाइ र व्यबहार परिवर्तन गर्नेछौँ । मैले लेखेको शब्दमा कुनै तिमीलाई नराम्रो भनेको होइन । यो सिङ्गो दलित समुदायको भोगाइ हो । त्यो तिमी बुझ्छौ । तिमीलाई कहिँ कतै गल्ती भनेको भए क्षमा प्राप्ति छु ।
उहि तिम्रो वर्षाैदेखि विभेद सहेको, अब परिवर्तन गर्ने मार्गमा हिडेको दलित समुदायको साथी ।
(लेखक – ओमप्रकाश सुनार, नेपाल ल क्याम्पसमा बिएएलएलबी कानून अध्यनरत विद्यार्थी)
फेसबुकबाट तपाईको प्रतिक्रिया