कम्युनिष्ट सरकारलाई कांग्रेसले छुट नदिने, देउवा–पौडेलको एउटै स्वर

भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीमाथिको हस्तक्षेप सैह्य नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको सातौं महाधिवेशनको आइतबार चितवनमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताए । कम्युनिष्ट सरकारले ती निकायहरूमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो ।

‘कुनै पनि निकायविरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांगेसलाई स्वीकार्य छैन’, उनले भने, ‘‘तपाईहरू ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँं’, उनले भने, ‘कांग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न दिँदैन ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार स्वेच्छाचारी र सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाए । दुईतिहाईभित्र रहस्य लुकेको भन्दै कम्युनिष्टहरूमाथि विश्वास गर्न नसकिने उनको भनाइ छ ।

‘स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाईको सौदावाजी चलिरहेको छ’, उनले भने, ‘यसअघि संविधान संशोधन गर्नै हुन्न भन्ने कम्युनिष्ट किन अहिले जे गरेर पनि दुईतिहाई खोजिरहेका छन् ?’

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा ५७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी छन् । संघको ७७ जिल्ला समिति र मन्त्रालय तथा विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् । २८ हजार पाँच सय सदस्य छन् ।

Published : Sunday, 2018 March 18, 8:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया