महँगो होटेलमा एमाले–माओवादीको गोप्य बैठक

काठमाडौं । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकीकृत पार्टीको विधान मस्यौदा तयार भएको छ ।

शनिबार दिउँसो दुई पार्टीका चार नेताले विधानलाई अन्तिम रुप दिएका हुन् । विधान तयार गर्न कार्यदलमा रहेका मन्त्री बाहेकका दुबै पार्टीका नेताहरू दुई दिन, दुई रात मोबाइल अफ गरेर गुप्तबास बसेको स्रोतले जनाएको छ ।

कार्यदलमा रहेका एमालेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल तथा माओवादी केन्द्रका जनार्दन शर्माले गोकर्ण रिसोर्टमा बसेर विधानमाथिको दफावार छलफल सकेका हुन् ।

गृहमन्त्री समेत रहेका माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा कार्यदलले विधानलाई अनुमोदन गरेको छ ।

नयाँ विधानमा ७८ धारा राखिएको छ । दुबै कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा चल्ने भएकाले धेरै विषयमा विवाद नभएको कार्यदलका एक सदस्यले बताए ।

कार्यदलमा पार्टी कमिटीमा बस्ने नेताहरूको उमेरको हदका बारेमा भने सहमति जुट्न सकेन । एमालेको विधानमा रहेको ७० वर्ष पुगेपछि कार्यकारी कमिटीमा बस्न नपाउने भन्ने प्रावधान नयाँ विधानमा पनि राख्ने कुरालाई माओवादी प्रतिनिधिले स्वीकार गरेनन् ।

एमालेभित्रै पनि त्यसबारेमा एकमत छैन । बैठकमा एमालेका बेद्ुराम भुसाल र सुरेन्द्र पाण्डेले सो प्रावधानका पक्षमा, विष्णु पौडेल र जनार्दन शर्माले विपक्षमा मत राखेपछि कार्यदलमै टुंगो लगाउने गरी थन्काइएको छ ।

७० वर्षे प्रावधान लागू भएमा एमालेका बामदेव गौतम र झलनाथ खनाललाई उक्त बुँदा लागू हुनेछ ।

विधानमा जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई एउटै लहरमा राखेर व्याख्या गरिएको छ । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाइएको छ । माओवादीले भन्दै आएको जनयुद्धलाई पनि विधानमा उल्लेख गरिएको छ ।

Published : Sunday, 2018 March 25, 6:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया