विप्लव समूहप्रति कठोर देखिए ओली, थोत्रा किताब नपढ्न सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्त नभएको बताए ।

‘थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ ? मार्क्सवादमा कहाँ लेखेको छ ? नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे’, उनले भने, ‘चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।’

विप्लव समूहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोश व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी दिए ।

‘यो विप्लव कि के समूह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ?’, प्रधानमन्त्री अ‍ोलीले भने, ‘मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रहशन गर्ने भए धुर्मुस–सुन्तलीलाई पनि भनिदिउँला !’ राजनीतिक मजाक नगर्न ओलीले विप्लवलाई चेतावनी दिए ।

‘प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाहीँ आउनु…। सातदिनभित्र हाजिर हुन…। यसप्रकारका राजनीतिक मजाकहरू नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढ्ता भयो’, उनले भने ।

स–साना समूहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिँदै खाल उठिसकेपछि च्याँखे थापेर केही नुहेन बताए । अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको बताए ।

देशमा सदभाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताए । ‘ट्याउट्याउ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?’ ओलीले प्रश्न गरे ।

Published : Saturday, 2018 March 31, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया