कांग्रेसका ‘खम्बा’ खुमबहादुरलाई यसरी सम्झिए शुभेच्छुकहरूले

काठमाडौं । नेपाली कांग्रेसका खम्बा स्वर्गीय खुमबहादुर खड्काको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । योसँगै खड्काले सबैलाई सुनो बनाएर गएका छन् ।

अन्तिम श्रद्धाञ्जलि दिन खड्काको गृहजिल्ला दाङबाट उनका शुभेच्छुक र समर्थकहरू उल्लेख्य रुपमा काठमाडौं आएका थिए ।

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताएका छन् ।

दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेताको खड्काको असमायिक निधनले कांग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताऐ । सभापति देउवाले भने, ‘नेता खड्का कांग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उहाँले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।’ सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गरे ।

पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका क्रममा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए ।

उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको थियो । खड्काको पार्थिव शरीरलाई आइतबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै खड्काले नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र कांग्रेसको लागि सशक्त खम्बाका रुपमा रहने बताए ।

‘उहाँबाट युवाले ठूलो प्रेरणा पाएका थिए, उहाँको निधन कांग्रेसको लागि मात्र होइन मुलकको लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो’, वरिष्ठ नेता पौडेलले भने । नेता खड्काको अनुपस्थितिको अभाव र रिक्तता सधैँ खड्किने बताउँदै वरिष्ठ नेता पौडेलले खड्काको सपना साकार पार्न अघि बढ्न सबैलाई आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेता खड्कालाई सानो उमेरमा कांग्रेसको राजनीतिमा लागेको र ठूलो संघर्ष गरेको व्यक्तिका रुपमा सम्झिए । नेता खड्काले प्रजातन्त्रका लागि लामो समयसम्म निर्वासन तथा जेल जीवन बिताएको स्मरण गर्दै केन्द्रीय सदस्य बस्नेतले भने, ‘विसं २०३३ मा उहाँ फाँसीको सजाय र सर्वस्वहरणको मुद्दासमेतको परवाह नगरी प्रजातन्त्रका लागि स्वदेश फर्कनुभएको थियो ।’

नेता खड्का लोकतन्त्रका लागि जस्तोसुकै जोखिम लिनसक्ने र आफ्नो निर्णयमा अडिग रहने नेताका रुपमा परिचित रहेको नेता बस्नेतको भनाइ थियो ।

पार्टी कार्यालयमा नेकपा (एमाले) नेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, कांग्रेसका नेता तथा सयौँ कार्यकर्ताले नेता खड्काको पार्थिव शरीरमा पुष्प गुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यसअघि बिहान ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर पनि सभामुख कृष्णबहादुर महरा, कांग्रेसका नेता तथा कार्यकर्ता र विभिन्न दलका नेताले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न देशभरिबाट कांग्रेस कार्यकर्ता काठमाडौँ आइपुगेका थिए । कांग्रेस नेता खड्का कार्यकर्तामाझ निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे ।

नेता खड्काको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्व खड्कालाई उनका सुपुत्र अनुरागले दागबत्ती दिएका थिए । नेता खड्काको सम्मानमा सशस्त्र प्रहरी बलको एक टुकुडीले शोक सलामी अर्पण गरेको थियो ।

यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बिहान ११ बजे बस्ने भनिएको सातौं दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसले दिवंगत नेता खुमबहादुर खड्काप्रति शोक प्रकट गर्दै सात दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

दिवंगत नेता खड्काको निधनमा यही चैत १८ देखि २२ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिका कार्यालय बन्द गर्नेे तथा शोक/श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता खड्काको चैत १६ गते साँझ ५ः१५ बजे नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पार्टीका संस्थापक बिपी कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बिपी कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन बिताएका थिए ।

नेता खड्का बिपीसँगै राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै बलिदान गर्न तत्पर दिवंगत नेता खड्का पार्टीका नेता गणेशमान सिंह, सुर्वणशम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहेका थिए ।

नेता खड्काको निधनले कांग्रेस र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको कांग्रेसले ठहर गरेको छ । दिवंगत नेता खड्काको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ । नेता खड्काको निधनको १३ औँ दिनमा कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

Published : Monday, 2018 April 2, 10:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया