मोदीले निम्तो पठाउनुभयो, म भारत जाँदै छुः ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत २३ देखि २५ गतेसम्म मैत्रीपूर्ण भ्रमणको निम्तो पठाएको जानकारी गराएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीद्वारा दिइएको भ्रमणलाई आफूले स्वीकार गरेको बताए । ‘म निम्तो स्वीकार गरेर चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै छु’, उनले भने, ‘मित्रवत
‘भारतसँगको सम्बन्धलाई विश्वासपूर्ण र मित्रवत बनाउन यो सरकारले चाहन्छ’, उनले भने, ‘भ्रमणलाई अनावश्यक आशंकाले हेर्नु हुँदैन । भारत जाँदै छु, देशलाई शिर निहुरिने काम हुनेछैन ।’

‘नेपाल–भारतको सम्बन्धलाई कसैले बिर्गान खोज्यो भने कसैले बिगार्न सक्दैन । आफ्नो ठाउँमा आइपुग्छ । हाम्रा भावनाहरू विश्वासका साथ राख्यौ भने न्यायोचित रुपमा राखियो भने सुन्न तयार हुनुपर्छ’, ओलीले भने, ‘सन् १९५० को सन्धि उच्चारण गर्न पाप लाग्छ कि भन्ने थियो । अहिले प्रबुद्ध समूहमा कुरा उठ्ने गरेको छ । त्यसलाई कसरी समयअनुसार परिमार्जन गर्ने भनेर दुबै पक्ष तयार छ ।’

ओलीले भारत भ्रमणमा जाँदा नयाँ सम्झौताहरूको चाङ लगाउने पक्षमा आफू नरहेको बताएका छन् । उनले भने, ‘नयाँ सम्झौताको चाङ लगाउनेभन्दा पनि पूरानाहरूको कार्यान्वयनमा मेरो जोड रहन्छ ।’ आफूले नयाँ सम्झौता गर्ने भनेर ध्यान नदिएको भन्दै उनले भने, ‘कृषि, जलमार्ग, रेलमार्ग, उर्जा, व्यापार घाटा रोक्ने, पञ्चेश्वर आयोजना, हुलाकी राजमार्ग, भूकम्पछिको पुननिर्माणको सहयोग जस्ता विषयमा प्रभावकारी रुपमा काम अगाडि बढाउनु पर्छ ।’

जलमार्गबाट नेपालमा सामान ल्याउने आफूले सोँचेको ओलीले बताए । गंगाको नदीबाट नेपालमा सामान ल्याउन सकिने भन्दै उनले त्यसबारेमा अध्ययन गर्न भनेको बताए ।

नेपालका विभिन्न परियोजनामा भारतबाट सहुलीयतपूर्ण ऋणि लिने, हवाइ उडान, संयुक्त चेकपोष्ट, पारवाहान, दार्चुलासहितका जिल्लामा पुल निर्माण, ग्याँस बुलेटको समस्या, नोटबन्दीको असुविधालगायतका विषयमा भारत भ्रमणका बेला आफूले उठाउने ओलीले बताए ।

सार्क शिखर सम्मेलन गर्ने अवस्थामा पुगेर रोकिएको बताएका ओलीले यस्ता क्षेत्रीय संगठनको महत्वलाई अझै रहेको बताए । सार्क शिखर सम्मेलन गर्ने विषयमा भारतसँग कुरा गर्ने उनको भनाइ थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ संकेत गर्दै ओलीले केही समूहले चन्दाका नाममा विभिन्न वितण्डा मच्चाएको आरोप लगाए । प्रधानमन्त्री ओली त्यस्ता अराजक क्रियाकलाप हुन नदिने बताए । ‘यस्ता गतिविधिलाई नियन्त्रण हुन्छ’, उनले भने, ‘कानून उल्लंघन गर्ने कसैलाई छुट छैन ।’

सरकारको स्वेतपत्रको बचाउ गरेका ओलीले विकास गरेर देखाइदिने बताए । ‘राज्यसँग पैसा छैन भन्दैमा विकास नगर्ने भन्ने होइन’, ओलीले भने, ‘स्वेतपत्रबाट देशको स्पष्ट रुपदेखिएको छ । स्वयतपत्र निराशा पत्र होइन ।’

कांग्रेसका युवा नेता गगन थापालाई पनि प्रधानमन्त्री ओलीले कडा जवाफ दिएका छन् । ‘एकजना मान्यज्यूले घोषणापत्रअनुसार के–के भयो भनेर खोज्छु भन्नुभएको छ’, उनले भने, ‘हेर्नुस् घोषणापत्र अनुसारकै काम भएको छ । भ्रष्टाचार भएको छैन ।’

Published : Tuesday, 2018 April 3, 3:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया