यी तीन डिआईजीमध्ये कसको भाग्य बलियो ?
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ । नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्ति हुँदैछन् ।
सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने प्रावधान छ । जसका कारण प्रहरीमा चेन अफ कमाण्ड कायम गर्न पनि सहज हुँदै आएको इतिहास छ । प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा महानिरीक्षक पदमा बढुवा गरिने’ भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि कार्यसम्पादन, ज्येष्ठता र विगतको मूल्यांकनका आधारमा कानूनले निर्दिष्ट गरेका प्रक्रिया पूरा गरेर नै आइजीपी बढुवा गर्ने सोचमा छन् ।
बिगतमा वरिष्ठताका कारण सिर्जना भएको भाँडभैलो यो पटक नदोहोरिने र प्रहरीमा अनुशासन पनि कायम गर्न प्रधानमन्त्री ओली दृढ रहेको समेत बुझिएको छ । आईजीपीका लागि अहिले तीन डिआईजीको नाम चर्चामा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् ।
हाल डीआईजीको वरियतामा खनाल एक नम्बरमा छन् भने खरेल दुई र कार्की तीन नम्बरमा छन् । खनालले एसएसपीसम्म आइपुग्दा काठमाडौंदेखि तराईसम्मका जिल्लाको सफलतापूर्वक कमाण्ड सम्हालिसकेका छन् । खनालले जनआन्दोलनको समयमा काठमाडौं, धनुषा, अञ्चल प्रहरी कार्यालय नारायणी, र अपराध महाशाखाको नेतृत्व सम्हालेर आफूलाई अब्बल प्रहरी अधिकारीको रुपमा प्रमाणित गरिसकेका छन् ।
कुख्यात भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टरसम्म गरेका खनालले नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास मात्र गरेनन्, पेट्रोल पम्पमा चिप्स राखेर ठगी गर्ने गिरोहलाई समेत कानुनी कठघरामा उभ्याएका थिए । खनाल अहिले ट्राफिक प्रहरी महाशाखाको प्रमुख छन् ।
संगठनले खटाएको जुनसुकै ठाउँमा बस्दा समेत चेन अफ कमाण्ड मेन्टेन गरी प्रहरी संगठनकको शिर उच्च राख्न सफल उनी आईजीपीका बलिया दावेदार हुन् ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा रहेका डिआईजी रमेश खरेल पनि चर्चित अनुहार हुन् । काममा भन्दा बढि प्रचारमा रमाउन चाहने खरेल चेन अफ कमाण्ड कायम नगरी बेला–बेलामा विवादमा आइराख्छन् । सिराहा र काठमाडाैंमा बस्दा उनले गुण्डागर्दी र अपराध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
आईजीका अर्का दाबेदार हुन्, तेस्रो नम्बरमा रहेका डीआईजी पुष्कर कार्की । कार्कीले काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, गोरखा र कास्कीलगायत जिल्लाको कमाण्ड गरिसकेका छन् । काठमाडौं परिसरमा बस्दा सफल हुन नसकेका कार्कीले अपराध महाशाखामा रहँदा भने गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टर गरी चर्चा कमाएका थिए । कार्कीले एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल र खरेलको भन्दा सात नम्बर कम पाएका पाएका थिए ।
त्यसो त प्रहरी प्रमुख भनेको सधैं आफुले चाहेजस्तो गर्न पाउने पद हैन । ऐन, नियम अनुसार चेन अफ कमाण्डमा रहेर काम गर्नु पर्ने पद हो । अफूभन्दा तल्लो तहका प्रहरीको उच्च मनोवल राखेर काम गराउनु प्रहरी प्रमुखको दायित्व पनि हो । आफुले भनेजस्तो नहुँदा संगठनमा आक्रोश पोख्दै हिड्ने, अनुशासनहिनता प्रदर्शन गर्ने, अराजकता देखाउन र चेन अफ कमाण्ड नमान्ने प्रहरी अधिकारीको विषयमा सरकारले बेलैमा सोच्न सकेन भने भविश्यमा यस अघि हुँदै आएका विकृति र विसंगतीहरु पनि नदोहोरिएलान भन्न सकिन्न ।
यसमा तपाइको मत