सांसदका पति बुहारी बलात्कार काण्डमा पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणी उद्योग मुद्धामा फरार रहेका शेष मन्सुर बाबुलाई पक्राउ गरेको छ ।

कानून व्यावसायी समेत रहेका शेष मन्सुर बाबुलाई नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मन्सुरबाबु प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय महिला अयोगकी पूर्वअध्यक्ष शेख चाँद ताराको श्रीमान् हुन् ।

पर्साका प्रहरीका उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय पर्सामा २०७४ पुस २८ गते दर्ता भएको जर्बजस्ती करणी मुद्धाको फरार अभियुक्त मन्सुरबाबुलाई विहीबार पक्राउ गरेको पुष्टि गरे । ‘वीरगंज–१३ राधेमाई बस्दै आएका मन्सुरले ०७४ मंसिर १८ एक महिलालाई जर्बजस्ती करणी गरेको उजुरी परेको थियो’, उपरीक्षक ढकालले भने, ‘त्यसैको आधारमा पक्राउ गरेर अनुसन्धान शुरु गरेका छौं ।’

झड्केलो छोरा (श्रीमतीसँगै आएको छोराको पत्नी)कै बुहारीलाई उनले मंसिर १८ गते जबरजस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । उनलाई विहीबार अदालत चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

आफू विरुद्ध जर्बजस्ती करणी मुद्धा दर्ता भएपछि भारतमा लुकेर बसेका मन्सुरबाबु केही समय काठमाडौंमा समेत बसेका थिए । पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

मन्सुरबाबुविरुद्ध परेकोे मुद्धा फिर्ता लिन दवाव दिने उद्देश्यले तात्कालीन प्रहरी उपरीक्षक डा.गणेश रेग्मीको समयमा मन्सुरबाबुकी कान्छी श्रीमती सकिलादेवी पटेल (सकिना खातुन)ले सम्धीले जर्बजस्ती करणी गर्न खोजेको भनी झुठो मुद्धा समेत दर्ता गराएकी थिइन् ।

झुठो मुद्धाको रहस्य खुलेपछि प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता गरी १७ दिन हिरासतमा राखेको थियो । त्यसबखत सकिलाविरुद्ध मुद्धा दर्ता नगर्न र अनुसन्धान प्रक्रिया अघि नबढाउन राजनीतिक दवाव समेत दिइएको प्रहरी अधिकारीहरू बताउँछन् ।

Published : Friday, 2018 May 25, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया