प्रचण्डका पूर्वअंगरक्षक मल्लले सम्हालेको प्रहरी वृत्तमा ‘काण्ड’, जुनियर अफिसर पक्राउ
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तमा अर्को काण्ड भएको छ ।
महानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्रबहादुर ऐडी पक्राउ परेका छन् । नायव निरीक्षक ऐडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो ।
मासिक रुपमा रकम नदिए व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो बनाइदिने डररधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारको टोलीले नायव निरीक्षक ऐडीलाई चौबीस हजार नगद घुससहित मंगलबार पक्राउ गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नायव निरीक्षक ऐडीलाई रिचमण्ड फूड क्याफे महाराजगञ्ज, काठमाडौंबाट नियन्त्रणमा लिइएको थियो । घटनाका बारेमा अख्तियारले अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
स्रोतका अनुसार नायव निरीक्षक ऐडीले डिएसपी दानबहादुर मल्ललाई पनि भाग (पैसा) बुझाउनु पर्छ भन्दै विभिन्न व्यक्ति र समूहसँग अबैध असुली धन्दा चलाउँदै आएका थिए । यो घटनाले डिएसपी मल्ल पनि अनुसन्धानको दायरमा तानिएका छन् ।
डिएसपी मल्लले मातहतका प्रहरीलाई कमाण्डिङ गर्न नसकेको भनेर यसअघि पनि आरोप लागिसकेको छ ।
केही हप्ता अगाडि मात्रै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी मल्ल पनि सुनका गहना गायब बनाएको काण्डमा फसेका थिए । उनले सो घटनालाई थामथुम बनाइसकेका छन् ।
दरबारमार्ग प्रहरी वृत्त कमाइ हुने सूचीमा अग्रस्थानमा पर्छ । सोही कारण राजनीतिक दवाव र संरक्षणमा प्रहरीका सिपाहीदेखि डिएसपीसम्म दरबारमार्ग प्रहरी वृत्तमा सरुवा मिलाएर जाने गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अंगरक्षक समेत रहेका डिएसपी मल्ललाई आकर्षक मानिने दरबारमार्ग वृत्तमा पठाइएको थियो ।
केही समय अगाडि डिएसपीहरूको सरुवा हुँदा मल्लको सुरुवा भएन । डिएसपी मल्ल लामो समयदेखि प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको दवावमा दरबारमार्ग अड्डा जमाएर बसेका छन् । मल्ल दरबारमार्ग वृत्तमा आएपछि विभिन्न घटनाहरू भइरहेका छन् ।
यसमा तपाइको मत