अष्ट्रेलिया-काठमाडौंबीच कनेक्ट गर्ने यी हुन् हुण्डी कारोबारी
काठमाडौं । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ ।
देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानूनी हुण्डीमार्फत आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थ मन्त्रालयले हुण्डी कारोबारीविरुद्ध कारबाही गर्न प्रहरीलाई पटक–पटक निर्देशन दिंदै आएको छ ।
महानगरीय अपराध महाशाखाले जेठ २१ गते हुण्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गर्यो । काठमाडौंको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्र्र्केिटङका राजकुमार सिघाञ्ची र जगदीश सरियालाई महाशाखाले पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ ।
यसअघि महाशाखाको टोलीले नक्साल भाटभटेनी नजिकैको एक बुटिक पसलबाट हुण्डी गर्न लागिएको १७ लाख अवैध रकमसहित वाइड हुसेन र उनका भाईलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रहरी हुसेनको नेटवर्कभित्र पसेको खण्डमा ठूला हुण्डी कारोबारीहरुको पर्दाफास हुने एक व्यवसायी बताउँछन् । तर, हुसेनलाई मात्र मुद्दा चलाएर प्रहरी उसको नेटवर्कभित्र पस्न नसक्दा ठूला कारोबारी उम्कने खतरा बढेको छ । महाशाखाले भित्रभित्रै हुसेनसँग मिलेर काम गर्ने ठूला कारोबारीहरूलाई खोजी गरिरहेको स्रोत बताउँछ ।
हुसेनले नेपालबाट जेपी भट्टराई नाम गरेका व्यापारीको एजेन्ट बनेर हुण्डीमार्फत अष्ट्रेलियाबाट आउने रकमलाई नेपाली बजारमा पु¥याउँदै आएका छन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको रकम भने जेपीका छोरा विनोदले फेसबुकमा मोवाइल नम्बर र रेट नै राखेर हुण्डीमार्फत नेपाल पठाउने गरेका छन् ।
अष्ट्रेलियामा अवैध रुपमा बस्दै आएका विनोदले विद्यार्थीलाई विभिन्न प्रलोभनमा पार्न फेसबुकमार्फत सहयोगीहरूलाई स्टाटस लेख्न लगाई हुण्डीबाट रकम पठाउन प्रोत्साहन गर्दै आइरहेका छन् ।
विदेशबाट आउने अवैध रकममध्ये सबैभन्दा बढि अष्ट्रेलियाबाट नेपाल भित्रिने गरेको छ । खाडी राष्ट्र, भारत र कोरियाबाट पनि हुण्डीमार्फत अवैध रकम भित्रिदै आएको छ ।
केही समयअघि एसएसपी दिवेश लोहनी अपराध महाशाखामा छदा प्रहरीले जेपीको स्वार्थमा अर्का एक हुण्डी व्यापारीलाई पक्राउ गरी कारबाही गर्न खोज्दा जेपीको अवैध धन्दाको पोल खुलेको थियो ।
जेपीले प्रहरीलाई ती व्यापारी ठूलो कारोबारी हो भन्दै सूचना दिएर आफ्नो धन्दा लुकाई करोडौं असुल्न खोजेपछि दुबै जना कारोबारी रहेको खुलेको थियो ।
स्रोतका अनुसार अष्ट्रेलियामा रहेका भट्टराईका छोरा विनोद र ती व्यापारीका आफन्तबीच पार्टनरसीपमा हुण्डीको अबैध काम हुने गरेको थियो । जसका आधारमा भट्टराईले ग्राहकलाई पैसा दिँदै आएका थिए । अहिले प्रहरीले व्यापारको आवरणमा हुण्डीको काम गर्ने जेपीको समूहलाई पनि जालोभित्र पार्न लागेको छ ।
हुसेन कारबाहीमा परेपछि जेपी केही समय विदेश गई नेपाल फर्केका थिए । आफ्नै सूचनाका आधारमा प्रहरीले हुसेनलाई कारबाही गरेको भन्दै जेपी आफूलाई प्रहरीले केही गर्न नसक्ने बताउँदै हिड्न थालेको कारोबारहीहरुबीच चर्चा छ ।
जेपीलाई एक मेनपावर व्यवासायीले पनि हुण्डी कारोबारमा साथ दिंदै आएका छन् । ती व्यवसायीको प्रहरीका उच्च अधिकारीहरूसँग समेत उठबस रहेको छ । उनीहरूले हुण्डीमार्फत फसेको पैसा उठाउन प्रहरीमा लेनदेनको कागज बनाउँदै आएका छन् ।
आफूले निरन्तर हुण्डीको कारोबार गर्ने र विरोधिहरूलाई ठेगान लगाउन प्रहरीलाई सूचना दिई गोरे शैलीमा जेपीको समूहले काम गर्दै आइरहेको छ । तस्करीको साढे ३३ केजी सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा महाशाखाको छवि गुमेको थियो ।
पछिल्लो समय महाशाखाले आक्रमक रुपमा हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाही गर्न थालेपछि भारतको बोर्डरमा बसेर विदेशी नम्बर सञ्चालन गरी अवैध हुण्डीको कारोबार गर्दै आएका जेपीलगायत फन्दामा पर्ने अवस्था देखिएको छ ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भने अवैध हुण्डी कारोबारीविरुद्ध सचेत भएर नै हुण्डी कारोबारीविरुद्ध अप्रेसन सुरु गरिएको बताउँछन् । उनले भने, ‘हुण्डी कारोबारीहरू फन्दामा पर्ने क्रम जारी छ । प्रहरीले कुनै पनि त्रुटिपूर्ण काम गर्दैन ।’
यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार
यसमा तपाइको मत