यी हुन् सेना-प्रहरीका उच्च अधिकारीलाई नायिका सप्लाइ गर्ने

काठमाडौं । प्रहरी फन्दामा परेका अन्तर्राष्ट्रिय सट्टेबाजी गिरोहका ‘नाइके’ अमृत भन्ने नथमल अग्रवाल उर्फ ‘नागराज’ले अबैध सम्पत्तिलाई बैध बनाउन चलचित्र निर्माणको तयारी गरेको खुलेको छ ।

‘चरी जिउँदै छ’ नामको चलचित्र निर्माण गरिरहेका ‘नागराज’ अन्ततः प्रहरी फन्दामा परेसँगै उनको सपना तत्कालका लागि पूरा नहुने भएको छ । किनकी ‘नागराज’ले खेलमा सट्टेबाजी गरेर कमाएको स्रोत नखुलेको करोडौंको सम्पत्ति जफत हुने अवस्थामा छ ।

महानगरीय अपराध महाशाखाले ‘नागराज’को अवैध सम्पत्ति छानविनका लागि सम्पत्ति सुद्दीकरण विभागसँग समन्वय गरी अनुसन्धान सुरु गरेको छ ।

आफूलाई ‘नागराज’ नभई प्रोफेसर भनेर चिनाउन चाहने अग्रवालले फिजिक्समा मास्टर्स गरेका छन् । उनको मोह भने अर्कै रहेछ । अवैध रुपमा करोडौं रकम कमाएपछि फिल्म निर्माण गर्ने नाममा मोडल र हिरोइनहरूलाई भेला गरी ‘नागराज’ले विलासिताको जीवन विताउँदै आएका थिए ।

पानीपोखरीस्थित आफू बस्ने अपार्टमेन्टमा तिनै मोडल र हिरोइनहरूलाई भेला गराई ‘नागराज’ले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रका उच्च अधिकारीहरूसँग जमघट गराउँदै आएको स्रोत बताउँछ ।

सट्टेबाजीको धन्दालाई अन्तर्राष्ट्रिय रुपमा फैलाइसकेका ‘नागराज’ प्रहरीका उच्च हाकिमहरूसँग हिरोइनहरूलाई भेला गराएकै भरमा कारबाहीबाट जोगिदै आएका थिए । तर, अपराध महाशाखाको पञ्जाबाट भने उनी फुत्किन पाएनन् ।

विश्वकप र आईपीएल क्रिकेटलगायतका खेलहरूमा करोडौंको सट्टेबाजी गराउँदै आएको अन्तर्राष्ट्रिय गिरोहका नाइके ‘नागराज’ पक्राउ परेसँगै उनलाई छुटाउन प्रहरीलाई दबाब परेको छ ।

‘नागराज’ पक्राउ परेकै दिनदेखि सरकारी वकिल कार्यालयमा समेत ठूलो चलखेल शुरु भइसकेको छ । ‘नागराज’को मुद्दा कमजोर बनाई उनका एजेन्ट गौरव तिवारीको शैलीमा छुटाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरीभित्रकै एउटा समूहले चलखेल गरेको छ ।

‘नागराज’ र तिवारीको सम्बन्ध पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विज्ञानराज शर्मा, सुनकाण्डमा थुनामा रहेका डिएसपी प्रजित केसीदेखि केही बहालवाला डिआईजीसम्म रहेको प्रहरी स्रोत बताउँछ ।

महानगरीय अपराध महाशाखाको टोलीले आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी फरार भएका ‘नागराज’लाई शनिबार पानीपोखरीबाट पक्राउ गरेको थियो । ‘नागराज’ले राकेश सिंहलगायतका व्यक्तिहरूबाट रकम उठाई फरार भएका थिए ।

प्रहरीले खोजीको सूचीमा राखेदेखि नै ‘नागराज’ भारतको गोवा, मुम्बई, बैङलोर, दुवई, सिंगापुर कोलम्बिया, थाइल्याण्ड, अमेरिकालगायतका मुलुकमा बसेर नै धन्दा चलाउँदै आएका थिए ।

नेपालमा कुनै व्यापार व्यवसाय नभएका ‘नागराज’ले सट्टेबाजीको धन्दा चलाएकै भरमा एक अर्वभन्दा बढीको अवैध सम्पत्ति जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘नागराज’को महाराजगञ्ज बाँसबारीमा एक रोपनी जग्गामा फैलिएको घर, बालुवाटार प्रधानन्यायधीश क्वार्टर नजिक ८ आना घडेरी, नारायाणथान पार्कभिलेज नजिक तीन रोपनी जग्गा र झण्डै २० करोड बराबरको पानीपोखरीको अपार्टमेन्ट छ ।

यसअघि ‘नागराज’कै समूहका गौरव तिवारीलगायत पाँच जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाई छाडेको थियो ।

सट्टेबाजीमार्फत झण्डै १४ करोडको अवैध कारोबार गरेको तिवारीको समूहलाई परिसरले मुद्दा कमजोर बनाई जुवा ऐन अन्तर्गतमात्र मुद्दा चलाउँदा उनीहरू दुई सय रुपैयाँ धरौटीमा छुटेका थिए । जुन विषयले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा ठूलो हँगामा मच्चिएको थियो ।

Published : Thursday, 2018 June 28, 12:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया