स्वदेशी जुत्ता प्रयोग गर्न कांग्रेसका महामन्त्री थापाको अनुरोध

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जुत्ता उद्योगको बिस्तारमा सबै लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को शुक्रबार अवलोकन गर्ने क्रममा थापाले नेपालीहरूलाई नेपालमै उत्पादित जुत्ता प्रयोग गर्न आग्रह गरेका हुन् ।

मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक सविन कार्कीले जानकारी दिएका छन् ।

ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको कार्कीले बताए ।

‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं’, कार्कीले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरू ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं ।’

गर्मी सिजन सुरु हुन लागेकाले त्यही सिजनलाई लक्षित जुत्ताचप्पल मेलामा राखिएको छ ।

मेलामा २ सय ५० रुपियाँदेखिका चप्पल र ५ सय रुपियाँदेखिका जुत्ता उपलब्ध छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

Published : Saturday, 2023 March 25, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया