थापा पनि काठमाडौंमा पक्राउ, नाम चलेका केटाहरूलाई हिरासतमा राख्न म्याद थप

काठमाडौं । काठमाडौं प्रहरीले वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा युट्युबर २२ वर्षीय राजकुमार थापालाई पक्राउ गरेको छ ।

आफ्नो युट्युब च्यानलबाट वान एक्स बेटको प्रचार–प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड दिएर विज्ञापन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट थापालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

थापाको स्थायी घर काभ्रेपलाञ्चोकको तेमाल–८ मा पर्छ । थापा हाल बूढानीलकण्ठमा बस्दै आएका छन् ।

थापालाई सटेबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ ।

केहीदिन अगाडि वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठजना युट्युबरलाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले वान–एक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार आइतबार तेस्रोपटक म्याद थप गरिएको हो ।

जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरू एलिश राई, जलन घर्ती मगर ‘जलन’ र गणेश देवकोटा (जीडी)लाई पक्राउ गरेको थियो ।

Published : Sunday, 2023 June 25, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया