राजा महेन्द्रकी पहिलो रानी ओखलढुङ्गाकी गुरुङसेनी रम्बा
तात्कालिक नारायणहिटी राजदरबारले सधैं लुकाएको एक पात्र हुन्– रम्बा गुरुङ । गुरुङलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेरसमेत चिनाइयो । उनी राजा महेन्द्रकी पहिलो रानी तर अवैध थिइन् । महेन्द्र र रम्बाको सम्बन्धबाट जन्मेका थिए– रवीन्द्र शाह । रवीन्द्र शाह वीरेन्द्रभन्दा जेठो भए पनि राजा हुन पाएनन् ।
ओखलढुंगा रुम्जाटारका शाही गुरुङको पेसा भेडापालन थियो । निकै ठूलो भेडा बथान भएका शाहीले चारवटी श्रीमती भित्र्याका थिए । भेडीगोठमै मधेस पुगेको बेला जेठी श्रीमतीको कोखबाट रम्बा जन्मिइन् । यकिन संवत् कसैलाई थाहा छैन । तर, रम्बा जन्मिएपछि सुत्केरी व्यथाकै कारण शाही गुरुङले रम्बाकी आमा (जेठी श्रीमती) गुमाए ।
दरबार र रुम्जाटारको सम्बन्ध धेरै पहिलेदेखि थियो । धाईआमा र अन्य नोकर–चाकर आवश्यक पर्दा रुम्जाटारदेखि दरबार लैजाने चलन थियो । अलि ठुली भएपछि उनका बुवाले रम्बालाई दरबारमा छाडे । रम्बाको बुवा शाही गुरुङ दरबारमा पछिसम्म आउजाउ चल्यो ।
त्रिभुवन राजा भएको बखत महेन्द्र युवराज थिए । महेन्द्रको रम्बासँग प्रेमसम्बन्ध गाँसियो । जुन कुरा त्रिभुवनलाई मन परेको थिएन । नभन्दै रम्बाले दरबारमै छोरा रवीन्द्र शाह जन्माइन् । रवीन्द्रको जन्म संवत् १९९० वा १९९६ मा भएको भन्नेमा विवाद छ । तर, रम्बा गुरुङसँग १३ वर्ष बिताएका उनका भाइ श्रीकृष्ण गुरुङले रवीन्द्र १९९० मै जन्मेको बताए ।
यदि रवीन्द्र १९९० मै जन्मेका भएचाहिँ महेन्द्र १३ वर्षको उमेर हुँदै रवीन्द्र जन्मेको प्रमाणित हुन्छ । यदि १९९६ मा जन्मेका भए वीरेन्द्र भन्दा ६ वर्षले जेठो देखिन्छ । राजा महेन्द्रले बिहे गरेर ल्याएका दुईवटी रानी हुन् । इन्द्रराज्यलक्ष्मी र रत्नराज्यलक्ष्मीदेवी शाह । उनीहरू दिदिबहिनी थिए ।
यसरी दरबारले ब्याइते र ल्याइते भनेर छुट्ट्याइएको रम्बाको निधन २०३० मा भयो । २०१७ सालदेखि दिदीको अन्तिम दिनसम्म सँगै बिताएका श्रीकृष्ण गुरुङ ८७ वर्षका भए । गुरुङ पूर्वबेलायती सेना हुन् । सात वर्ष बेलायती सेनामा जागिर खाएर फर्केपछि दिदीसँग १३ वर्ष बिताएका श्रीकृष्णले दिदीलाई गुरुङ भएकै कारण दरबारले जीवनभरि हेलाँ गरेको बताए ।
गुरुङले दिदी रम्बासँग १३ वर्ष बिताएका थिए । दिदीको कोखबाट रवीन्द्र शाह जन्मेपछि दरबारले यो ल्याइते रानीको होइन ब्याइतेतर्फको भन्दै रवीन्द्रलाई नारायणहिटीबाट निकालेर सानोमै ठमेलमा लगेर राखेछ । दिदीचाहिँ अलि पछिसम्म नारायणहिटिमै थिइन् । महेन्द्रले इन्द्रराज्यलक्ष्मी बिहे गरेपछि दिदीलाई बत्तीसपुतलीमा घर किनेर सारिदियो ।
रवीन्द्र ठूलो भइसकेपछि ज्ञानेन्द्र, धीरेन्द्र शाहहरूसँगै बालुवाटारमा २६–२६ रोपनी जग्गामा घर बनाएर दरबारले लहरै राखिदिएको थियो । पछि रवीन्द्रले त्यो घर–जग्गा बेचेर सरे । रवीन्द्रले चन्दा शाहसँग बिहे गरे । रवीन्द्रको बिहेमा म पनि थिएँ । त्यतिखेर बुवा महेन्द्र र उनका भाइहरू कसैको उपस्थिति थिएन । बिहे गरेपछि केही समय रवीन्द्रले आमा रम्बा (मेरो दिदी)लाई सँगै राखे । तर, सासूबुहारीको कुरा नमिलेपछि दिदी बत्तीसपुतलीस्थित पुरानै घरमा फर्किइन् ।
दरबारले चारजना नोकर र दिदीको घरखर्चसहित गरेर वार्षिक २० हजार दिन्थ्यो । रत्नबहादुर काजीले पैसा ल्याएर दिदीलाई दिन्थे । त्यो पैसाले एक वर्ष धान्न पुग्दैनथ्यो । त्यो सुविधा महेन्द्र बाँचुन्जेलमात्र कायम रह्यो । २०२९ मा महेन्द्रको निधनलगत्तै सबै सुविधा कटौती गरियो ।
रवीन्द्रले दिदीलाई आमाका रूपमा कहिल्यै हेरेको मलाई थाहा भएन । आमाजस्तो व्यवहार पनि गरेनन् । आमा बितेको केही महिनामै बत्तीसपुतलीको चार रोपनीको घर–जग्गा पाँच लाख रुपैयाँमा बेचिदिए । रवीन्द्रको नाममा भत्ता आउँथ्यो । रेडियो नेपालका भए–भरका कर्मचारी ल्याएर दिनहुँजसो रक्सी ख्वाउँथे ।
राजा महेन्द्रले पढ्न भनेर उनलाई एकपटक दिल्ली पठाएका थिए । पछि भने उनलाई विदेश जानै नपाउनेगरी दरबारले निषेध गरिदियो । दिदीलाई ब्रेन टीबीजस्तै टाउकोको रोग थियो । पहिले पनि भारतको भेलोर (भारत) लगेर ठीक भएको थियो । पछि बल्झियो । फेरि वीर अस्पताल लगेर निको भयो । बल्झिने र वीरमै लगेर उपचार गर्नेक्रम चल्दाचल्दै दिदीको निधन भयो ।
दिदीको उपचारका लागि म आफैं गएको थिइनँ । दिदीले दुईपटकसम्म बोलाएपछि गएको थिएँ । म बसेको अवधिमा एकपटक राजा महेन्द्रले दिदीलाई घरमै भेट्न आएको सम्झना ताजै छ । अरूबेला चाहिँ दिदीले नारायणहिटीमै गएर महेन्द्रलाई भेट्थिन् । दिदीलाई यति हेलाँ गरेर राख्यो कि गाडीको सुविधासमेत थिएन । एकपटक एउटा थोत्रो जिप दिइएको थियो । त्यो पनि फिर्ता लगिदियो । टेलिफोन जडानका लागि अनुरोध गर्दा दरबारले सुनिदिएन ।
दरबारले जीवनभरि दिदीलाई हेलाँ गर्यो । मेरो दिदी ठकुरी वा क्षेत्री नहुनु नै त्यसको कारण थियो । गुरुङ भएकीले दिदीले हेलाँको हेलाँमै जीवनको अन्तिम सास फेरिन् । त्यतिखेर कतिपयले रम्बाको भाइले दरबारको पैसा खायो भन्थ्यो । मैले के खान्थें र । कहिलेकाहीँ दिदीले दिएको दुई/चार पैसा खर्चबाहेक मैले भात खाने, बस्नेभन्दा अरू केही लिइनँ ।
को हुन् रवीन्द्र शाह ?
राजा महेन्द्रका बाहिरिया रानीतर्फका सन्तान थिए– रवीन्द्र शाह । शाहलाई दरबारका सदस्यभन्दा धेरैले कवि र गीतकारका रूपमा चिन्छन् । उनका ‘रानी तलाउ किनारा’, ‘श्रद्धाको फूल चढाइदिनू आएर लासमा, नपाए फूल भइगयौ तिमी, रोइदिनू आसमा’, ‘फूलको पातमा दुई थोपा आँसु यो मेरो खस्यो कि’, ‘म फूलसँग भुलुँकी, म जूनसँग खुलुँकी’ जस्ता दर्जनौं गीत चर्चित छन् ।
कवि तथा गीतकार शाहले लेखेको गीत नारायण गोपाल, तारादेवी, आशाभोसले, गौरी केसीलगायतका गायक–गायिकाले गाएका छन् । रवीन्द्र पिता महेन्द्रझैं राम्रा कवि र गीतकार थिए । उनले आफ्नो गीत र कवितामा आफू र आमाका पीडालाई पोखाएको केही समालोचकले भनेका छन् ।
शाहका छोरीहरू रचना प्रसाईं, सिर्जना थापा र छोरा पविन्द्रविक्रम शाह छन् । रवीन्द्रको निधन २०५४ मा भयो । रवीन्द्रको मावली रुम्जाटार भए पनि उनको मावलीसँग कुनै सम्बन्ध रहेन । उनका मामा श्रीकृष्ण गुरुङलाई उनका सन्तानबारे कुनै जानकारी छैन । रम्बा गुरुङको विषयलाई लिएर नगेन्द्र न्यौपानेले ‘दरबारबाहिरकी महारानी’ नामक उपन्यास नै लेखका छन् ।
(कुम्भराज राईद्वारा तुवाचुङ डटकममा लेखिएको समाचारबाट साभार- राजा महेन्द्रकी पहिलो गुरुङसेनी रानी : दरबारबाहिरकी महारानी)
फेसबुकबाट तपाईको प्रतिक्रिया