भुटानी काण्डपछि बेपत्ता ‘बादल’ मुठ्ठीकसेको अवस्थामा च्यासलमा भेटिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विवादमा परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा (एमाले)को पार्टी कार्यालय, च्यासल, ललितपुरमा देखा परेका छन् ।

मंगलबार थापा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन उपस्थित भएका हुन् । श्रद्धाञ्जलि दिने क्रममा लाइनमा उभिएका थापाले दाहिने हातको मुठ्ठी कसेर उभिएका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं रुपियाँ ठगी गरेको काण्डमा थापा विदामा परेका छन् । उनका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपाल छाडेर भागेका छन् ।

थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई पुर्पपक्षका लागि थुनामा छन् । अन्य विभिन्न व्यक्तिहरू पनि भुटानी शरणार्थी काण्डमा परेका छन् ।

तत्कालीन गृहमन्त्री थापाले नै बाँकी रहेका भुटानी शरणार्थीलाई अमेरिका पठाउन कार्यदल बनाएर प्रक्रिया अगाडि बढाएका थिए । थापाको संलग्नताबारे प्रहरीले केही भनेको छैन । थापासँग बयान पनि लिइएको छैन । थापालाई पक्राउ गरेर भुटानी शरणार्थी काण्डबारे सोधपुछ गर्नुपर्ने माग उठ्दै आएको छ ।

Published : Tuesday, 2023 September 12, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया