सामान्य खटपट भए पनि सरकार परिवर्तन हुँदैन : डा.कोइराला

भरतपुर । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।

आइतबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए ।

‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ’, डा.कोइरालाले भने ।

सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताएका छन्् । उनले पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने बताएका छन् ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै डा.कोइरालाले एमाले र माओवादी केन्द्रबीचको तिक्तताका कारण पुन: एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको पनि बताए ।

उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने समेत बताएका छन् । ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छभने अहिले मिलिराखेको छ भइहाल्यो’, उनले भने, ‘मेरो दृष्टीकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।’

Published : Sunday, 2023 September 17, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया