गुट्खा काण्डमा ६ करोड राजश्व छली, सीआईबीद्वारा चन्द्रौटाबा६ शेष पक्राउ
काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय कुतबुद्दिन शेषलाई पक्राउ गरेको छ ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ४ घर भइ हाल बाँकेको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ बस्दै आएका शेषलाई प्रहरीले मंगलबार चन्द्रौटाबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । शेषलाई सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।
शेषको नाममा पाँच करोड ९८ लाख ६६ हजार ३ सय ५५ रुपियाँ बेरुजु देखिएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलले अन्त:शुल्क स्टिकर टाँस नगरिएको इको प्लस गुट्खा १५८.३६ किलो बरामद गरेको थियो ।
राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जको खजुरा रोडको नेपाल पान मसला उद्योगको आर्थिक वर्ष २०७३/७४/७५ र ७६ को खरिद खाता, विक्री खाता, उत्पादन खाता, अन्त:शुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत् खपतको विवरण, उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ मेटेरियल खपत प्रयोग अनुपातको आधारमा छानविन गरेको थियो ।
शेषले राजश्व अनुसन्धान विभागबाट प्राप्त भएको नम्सअनुसार नराखेर बढी गुट्खा उत्पादन गरी बिक्री गरेका थिए । शेषविरुद्ध विभागले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको थियो । उच्च अदालत तुलसीपुरले शेषलाई २०७८ सालको पुसको १४ गते ६ महिना कैद ठहर गरेको थियो ।
अदालतले शेषसँग सरकारी बाँकी सरह असुल गर्नुपर्ने राजश्व चुहावट गरेको विगो रकम ३ करोड ९९ लाख १० हजार ९ सय ३ रुपियाँ भराउन आदेश दिएको छ ।
अदालतले शेषसँग जरिवाना १ करोड ९९ लाख ५५ हजार ४ सय ५२ रुपियाँ भराउन आदेश दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया