झापाका साह काठमाडौंबाट पक्राउ
काठमाडौं । प्रहरीले ३० वर्षीय पिन्टुकुमार साहलाई अनलाइन बेटिङ काण्डमा पक्राउ गरेको जनाएको छ ।
साहबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । झापाको दमक नगरपालिका–१२ का साहलाई पक्राउ गरिएको प्रहरी भनाइ छ ।
साहले गैरकानूनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपियाँको बेटिङ कारोबार गरेका थिए । वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम ८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ ।
साहले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ ।नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । थप अनुसन्धानका लागि साहलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया