गलत हर्कतमा संलग्न २६ जना रकमसहित पक्राउ
काठमाडौं । प्रहरीले लम्जुङ, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट जुवातास खेल्दाखेल्दै २६ जनालाई पक्राउ गरेको जनाएको छ ।
जुवा खेल्दै गरेको अवस्थामा झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जना गरी जम्मा २६ जना बिहीबार राति पक्राउ परेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ परेकामध्ये झापाको दमक नगरपालिका–७ हाटखोला बस्ने ४१ वर्षीय कर्णबहादुर राई समेत ११ जना रहेका छन् ।
राईको घरमा जुवा खेलेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद ३ लाख ५३ हजार ६ सय रूपियाँसहित र २ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी पक्राउ परेकामध्ये लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ समेत ११ जना रहेका छन् ।
श्रेष्ठको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार २ सय ९५ रूपियाँ, ६ बुक तास,१ सेट पासा, १६ थान कौडासहित पक्राउ गरेको हो ।
यसैगरी काभ्रेको भुम्लु गाउँपालिका–७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जना जुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् ।
भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपियाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया