पोखरा र भैरहवा विमानस्थल चलाउन नसकेका प्रदीपले असक्षमता लुकाउन नयाँ योजना ल्याए

काठमाडौं । अरबौं रकम खर्च गरेर बनाएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो असक्षमता लुकाउन नयाँ योजना बाहिर ल्याएका छन् ।

हवाई क्षेत्र र विमानस्थलहरूको अवस्था सुधार गर्न नसकेर जताततै असफल र बदनाम भएको महानिर्देशक अधिकारीले आफ्नो निकम्मापन र असक्षमता छोप्न ३ वटा विमानस्थललाई ‘पीपीपी’ मोडलमा लग्ने नयाँ पासा फालेको स्रोतले जनाएको छ ।

‘पीपीपी’मा तीन वटा विमानस्थल लिने कम्पनीलाई निजगढ बनाउने जिम्मा पनि दिने गरेर महानिर्देशक अधिकारीले तयारी गरेको एक उच्च कर्मचारीले बताएका छन् ।

सबैतिरबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसकेर चर्को गाली खाएपछि महानिर्देशक अधिकारीले सबै पार्टीका ठूला नेताहरूलाई भेटेर विमानस्थल ठेक्का दिने प्रस्ताव अगाडि बढाएको बुझिएको छ ।

पोखरा, भैरहवा र नयाँ बन्ने तयारीमा रहेको निजगढ विमानस्थलबाट मोटो कमिशन आउने ग्यारेण्टी आफूले लिने प्रस्ताव केही शीर्ष नेताहरूसम्म अधिकारीले पुर्‍याएको प्राधिकरणभित्र हल्लाखल्ला छ ।

महानिर्देशक अधिकारीको प्रस्तावलाई केही शीर्ष नेताहरूले रुचाएका छन् । केही नेताहरूले ढोकाबाट भित्र छिर्न दिएका छैनन् ।

आफ्नो योजनामा राजनीतिक दलका नेताहरूलाई ल्याउन अधिकारीले ठूलै प्रयासहरू गरेको स्रोतको भनाइ छ ।

पोखरा र भैरहवा विमानस्थल चलाउन तथा निजगढ विमानस्थल बनाउनका लागि महानिर्देशक अधिकारीले भारतीय कम्पनीलाई दिन अनिल पटानी नामको एजेन्ट भेटेको उच्च स्रोतले जनाएको छ ।

अधिकारीले पटानीको प्रपोजलमा हेरफेर गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएका छन् ।

भारतीय कम्पनीले महानिर्देशक अधिकारीलाई कमिशनको आश्वासन दिएको कारण कुरा अगाडि बढेको चर्चा प्राधिकरणभित्र छ । आफूलाई भारतीय कम्पनीको नेपाली एयरपोर्ट हेर्ने सीईओ बनाउनुपर्ने सर्त अधिकारीले राखेको बुझिएको छ ।

अधिकारी पोखरा र भैरहवा विमानस्थल बनाउँदा प्रोजेक्ट म्यानेजर थिए । त्यस बेला उनले करोडौं रुपियाँ कमिशन खाएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन् ।

महानिर्देशक अधिकारीले जसरी पनि निजगढ विमानस्थल बनाउन लागेका छन् । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेर मुलुकलाई ठूलो घाटा लागेका बेला महानिर्देशक अधिकारीले ऋण लिएर भए पनि निजगढ विमानस्थल बनाउन खोजेका छन् ।

महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।

Published : Saturday, 2024 January 20, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया