काठमाडौंमा कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई शिक्षक पक्राउ

काठमाडौं । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बागलुङको ग्वालीचौर– ८ घर भइ हाल ललितपुर– १८ बस्ने ३१ वर्षीय केशव घिमिरे र पाल्पाको रिडिकोट गाउँपालिका– ३ घर भइ हाल काठमाडौं– १६ बस्ने २४ वर्षीय विकास ज्ञवालीलाई पक्राउ गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट वैशाख १४ देखि २६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाहरू भइरहेकै क्रममा काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थी, विभिन्न विद्यालयका शिक्षक, समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्नपत्रको गोपनीयता भङ्ग हुने गरी परीक्षाको प्रश्नपत्रहरू सामाजिक सञ्जालबाट गोपनीयता भङ्ग गरेको अभियोगमा घिमिरे र ज्ञवालीलाई पक्राउ गरिएको छ ।

घिमिरे र ज्ञवालीलाई प्रहरीले खोजतलास गर्न क्रममा टेकु चोकबाट जेठ २७ गते पक्राउ गरेको जनाएको छ । उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।

Published : Monday, 2024 June 10, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया