भालुबाङमा सशस्त्र प्रहरीले कब्जा गरेको सर्वसाधारणको जमीन फिर्ता गर्न सांसद चौधरीको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले भालुबाङमा रहेको सशस्त्र प्रहरी बल नेपालले सर्वसाधारणको जमीन कब्जा गरेर बसेको भन्दै जमीनको क्षतिपूर्ति वा जमीन फिर्ताको माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले जमीन फिर्ता माग गरेर पीडित परिवारहरू गृह मन्त्रालयमा निरन्तर धाउँदा पनि सुनुवाइ नभएको भन्दै चिन्ता जनाए । उनले सशस्त्र प्रहरीले कब्जा गरेको जमीनका बारेमा छिटो निर्णय लिन माग गरेका छन् ।

उनले भने, ‘दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ मनकलादेवी ज्ञवाली लगायत १६ परिवारले हातमा लालपुर्जा लिएर न्यायको लागि कहिले गृह मन्त्रालय त कहिले सशस्त्र प्रहरी बलको हेडक्वाटर धाउँदै आफ्नो नामको जग्गा प्राप्तिको लागि सरकारसँग आग्रह गरिरहनुभएको छ ।’

‘अहिलेसम्म नजग्गा प्राप्त भयो, नकुनै प्रकारको आश्वासन, प्राप्ति भयो त केवल दुःख राज्यप्रति आक्रोश, निराशा र थकानबाट निस्कने सुस्केरा र अपहेलित महशुस निन्याउरो अनुहार’, सांसद चौधरीले भने ।

‘२०५८ सालमा १६ घरपरिवारले बसोबास गरिरहेको जमीनबाट जनताहरूलाई जबरजस्ती लखेटेर सशस्त्र प्रहरी बल भालुबाङले ६ बिघा ७ कठ्ठा १२ धुर लालपुर्जा भएको जग्गा आफ्नो नियन्त्रणमा लियो’, दाङ क्षेत्र नं. १ का सांसद चौधरीले भने ।

‘अहिले ती जनताको नाममा लालपुर्जा छ । नियमित पोत तिर्नु हुन्छ । उपभोग पाटो एउटा देशको कथाजस्तै बनेको छ’, उनले भने ।

‘द्वन्द्व सकियो अब छोड्नुस् भन्दा उल्टै धम्कीको सामना गर्नु परिरहेको छ’, सांसद चौधरीले भने ।

Published : Wednesday, 2024 June 12, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया